Sorry, that menu does not exist.
 

सामान्य टाउको दुखेको औषधि पनि स्वास्थ्य चौकीमा नहुँदा बिरामीलाई समस्या

प्रशान्त घर्तिमगर, बुर्तिबाङ २०७४ असार ८ । ढोरपाटन नगरपालिका वडा नं. ५ सहिखोलामा रहेको स्वास्थ्य चौकीमा औषधिको अभाव देखिएको छ ।

नेपाल सरकारबाट देशैभरीका स्वास्थ्य चौकीहरुमा ३७ प्रकारका औषधिहरु निशुल्क प्रदान हुने भनिएपनि उक्त स्वास्थ्य चौकीमा २० प्रकारका औषधिहरु मात्र उपलब्ध रहेको छ । कुनै बेला त सामान्य भन्दा सामान्य टाउको दुखेको औषधि पनि स्वास्थ्य चौकीमा नहुँदा आफुहरुलाई समस्या पर्ने गरेको स्थानीय टेकबहादुर घर्तिमगरले बताए ।

औषधि अभावको कारणले गर्दा स्वास्थ्य सेवा लिन स्वास्थ्य चौकीमा आउने विरामीहरुलाई भने जस्तो स्वास्थ्य सेवा प्रदान गर्न नसकिएको स्वास्थ्य चौकीका प्रमुख कल्पना घर्तिमगरले बताईन् । उपलब्ध गराइएका २० प्रकारका औषधिहरुको मात्रा पनि अत्यन्त न्यून रहेकोले कुनै पनि बेला समस्या झन जटिल बन्न सक्ने घर्तिमगरको भनाई छ ।

देशैभरीका सरकारी स्वास्थ्य संस्थाहरुमा औषधिको वितरणलाई सहज बनाउन मन्त्रालयले ८० प्रतिशत र जिल्ला जनस्वास्थ्य कार्यालयले २० प्रतिशत औषधिको जिम्मा लिएको र केही बर्ष यता मन्त्रालयबाट टेण्डर प्रकृया अनुसार औषधि खरिद गर्ने काम नभएकोले औषधिको अभाव देखिएको बताइएको छ ।
हाल मन्त्रालयले उपलब्ध गराउने ८० प्रतिशत औषधिको मात्रा रोकिएको र जिल्ला जनस्वास्थ्य कार्यालयले २० प्रतिशत औषधिलाई जिल्लाको अञ्चल अस्पताल, ३ वटा प्राथमिक स्वास्थ्य केन्द्र र ५९ वटा स्वास्थ्य चौकीमा वितरण गर्दा औषधिको समस्या देखिएको स्वास्थ्य चौकीका सिनियर अहेब ललितकुमार यादवले बताए ।

दैनिक १५ देखि २० जनासम्म विरामीहरु स्वास्थ्य उपचारको लागि आउने गरेको यादवको भनाई छ । वि.स. २०६९ सालमा उपस्वास्थ्य चौकीबाट स्वास्थ्य चौकीमा स्तरोन्नती भएको उक्त स्वास्थ्य चौकीबाट ढोरपाटन नगरपालिका वडा नं. ५ र ६ साविक अधिकारीचौर गाविस र साविक बोबाङका आंशिक जनताहरुले सेवा लिइरहेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply