निर्णय पुस्तिकामा दुई पन्ना खाली राखेर पदाधिकारीको दस्तखत बनाउनु पछि लुकेको रहस्य… !
बुर्तिवाङ २०७४ असार ५ । निसीखोला गाउपालिकाका कार्यकारी अधिकृत सन्जय अधिकारीले गाउपालिकाको निर्णय पुस्तिका (माईन्यूट बुक)मा दुई पन्ना खाली राखेर गाउपालिकाका पदाधिकारीहरुको दस्तखत गराएको खुलेको छ ।
श्रोतका अनुसार गत जेठ २८ गते बसेको निसीखोला गाउपालिकाको बैठकमा गाउँपालिकालाई आवश्यक पर्ने मसलन्द लगायतका सरसामान खरीद गर्दा १५ लाख रुपयाँ खर्च भएको भनी प्रस्ताव लगेकोमा विना टेण्डर खरीद गर्न नहुने भनी पदाधिकारीहरुले प्रश्न उठाए पछी सो निर्णय हुन सकेको थिएन ।
वडा समितिहरुले आवश्यक सामान खरीद गर्न माग गर्दा ५ लाख भन्दामाथीको कोेटेशन या टेण्डर चाहिने भनेर निकासा नदिएको र आफुले भने विना कोटेशन वा टेण्डर १५ लाख रुपयाँको सामान खरीद गरेको बताए पछी बैठकमा बिरोध भएको थियो ।
बैठकको भोलि पल्ट कार्यकारी अधिकृत अधिकारीले निर्णय पुस्तिकामा दुई पन्ना खाली राखी पदाधिकारीहरुको दस्तखत गराएको गाउपालिका प्रमुख तारानाथ पौडेल समक्ष केहि वडाध्यक्षहरुले आशंका व्यक्त गरेपछी निज अधिकृत अधिकारी संग निर्णय पुस्तिका मागेर प्रमुख पौडेलले खाली पन्नाहरु केरेका थिए ।
गाउपालिकालाई आवश्यक पर्ने मालसामानहरु विना टेण्डर खरीद गरेर भ्रष्टाचार गर्ने चलखेल स्वरुप निर्णय पुस्तिकामा दुई पन्ना खाली राखेको गाउपालिकाका पदाधिकारीले आशंका गरेका छन् । गाउपालिकाको बैठकबाट निर्णय गराएर मालसामान खरीद गरेको देखाउन अधिकृतले यो कर्तूत गरेको हुनसक्ने उनिहरुको आशंका छ । यस कार्यमा गाउपालिकाका लेखापाल भिमसेन थापाको समेत मिलिमतो भएको श्रोतको दाबी छ । यस घटनापछी कार्यकारी अधिकृत अधिकारी र लेखापाल थापा दुबै कार्यालयमा (काज या विदामा गएको ?) छैनन् ।