मल्लाजमा सम्पन्न घर्ती क्षेत्री र कार्की क्षेत्रीको कुलपूजामा १ हजार बोकाको बलि !

पर्वत, २०७४ जेठ २६ । गर्ग गोत्रीय घर्ती क्षेत्री लामिछाने जिसी एवं मदगोल्य गोत्रीय कार्की क्षेत्रीको कुलपूजा शुक्रवार जलजला गाउँपालिका वडा नं. २ मल्लाज पूर्णगाउँमा सम्पन्न भएको छ ।

देशभरका विभिन्न स्थानमा रहेका लामिछाने जिसी वन्धुहरु र रुमे कार्कीहरुले पूर्णगाउँमा भव्य कार्यक्रमका साथ कुलपूजा सम्पन्न गरेका हुन् ।

कञ्चनपुर, बर्दिया, रुपन्देही, काठमाडौं, चितवन, तनहुँ कास्की, बागलुङ, म्याग्दी, पर्वत लगायत देशभरबाट आएका जिसी तथा कार्की वन्धुहरुका १ हजार भन्दा बढी बोकाको बली दिइएको समितिले जनाएको छ ।

कुलपुजाका अवसरमा जिसी र कार्की समाजको हित लगायत समाज विकासमा योगदान गरेका विभिन्न क्षेत्रका व्यक्ति तथा हालै सम्पन्न स्थानीय निर्वाचनमा विजयी बन्धुहरुलाई सम्मान गरिएको थियो ।

घर्ती क्षेत्री लामिछाने बन्धुहरुको वंशावली तयार गर्ने घर्तीहरुका मष्ट थलबहादुर जिसी, समाजको विकासमा योगदान गर्ने रुक्मिणी लामिछाने, ९२ वर्षीय समाजसेवी लालबहादुर जिसी, मीनबहादुर कार्की, खड्कराज कार्की, शेरबहादुर खत्री, बलबहादुर जिसी, भीमबहादुर जिसी लगायतलाई सो अवसरमा सम्मान गरिएको थियो ।

कुलपूजा मुख्य समारोहमा जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल, उपाध्यक्ष सीमा गर्वुजा, काठेखोला गाउँपालिका ७ रेशका वडा अध्यक्ष प्रेम लामिछाने, मोदी गाउँपालिका ६ का वडा अध्यक्ष बिमल लामिछाने, जलजला गाउँपालिका २ का वडा अध्यक्ष गोविन्द खत्री, वडा नं. ५ का अध्यक्ष तिलकबहादुर जिसीलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा घर्ती क्षेत्री लामिछाने जिसीहरुको वंश लगायत इतिहासका बारेमा पृथ्वी नारायण क्याम्पस पोखराका पूर्व क्याम्पस प्रमुख डा.दिलबहादुर क्षेत्रीले जानकारी गराएका थिए ।

यस्तै पुर्खाहरुले गरेको इतिहास र भावी पुस्ताका लागि गर्नु पर्ने योजनाका बारेमा नेपाल पत्रकार महासंघ बागलुङका पूर्व अध्यक्ष तथा राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले र विभिन्न स्थानमा रहेका वन्धुहरुबीचको समन्वयका बारेमा नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाका सभापति जब्बरबहादुर लामिछानेले जानकारी गराएका थिए ।

कार्यक्रम घर्ती क्षेत्री लामिछाने जिसी तथा कार्की कुलपूजा समितिका अध्यक्ष क्याप्टेन टेकबहादुर जिसीको अध्यक्षता, समितिका सचिव धनबहादुर जिसीको स्वागत र नविन जिसीको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.