बागलुङका एमाले निकट उद्योगी व्यवसायीहरु संगठित !

बागलुङ, २०७३ पुस २८ । नेकपा एमाले निकट उद्योग व्यवसायीहरुको संगठन नेपाल उद्योग तथा व्यवसायी महासंघ बागलुङको बिहीवार बागलुङमा आयोजित प्रथम जिल्ला भेलामा बोल्दै नेपाल उद्योग तथा व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष प्रेम शर्माले उद्योग व्यवसायको वृद्धि गरी देशको आर्थिक विकास गर्नका लागि राज्यका नीति नियम व्यवसाय मैत्री हुनु पर्नेमा जोड दिए ।

उद्योग व्यवसाय गर्न चाहने युवालाई राज्यको नीति नियमले थुप्रै झण्झट दिने अवस्था भएकाले युवाहरु स्वदेशमा व्यवसाय गर्न छोडेर विदेश लाग्ने गरेको उनले आरोप लगाए ।

उद्योगी व्यवसायीलाई निर्धक्क काम गर्ने वातावरण नबन्दासम्म यो क्षेत्रमा लाग्नेहरुको संख्या नबढ्ने भएकाले राज्यका नीति नियमहरुलाई व्यवसाय मैत्री बनाउनु पर्नेमा उनको जोड थियो ।

कार्यक्रममा नेकपा एमालेका वैकल्पिक केन्द्रीय सदस्य तथा बागलुङ जिल्ला इन्चार्ज मना केसीले एमाले नेतृत्वको सरकारले उद्योगी व्यवसायीलाई उत्साहित गराउने खालका नीति तथा कार्यक्रम ल्याएकाले सत्ताबाट बाहिरिन परेको बताएकी थिईन् ।

कार्यक्रममा एमाले वैकल्पिक केन्द्रीय सदस्य गोविन्द नेपाली, अखिल नेपाल किसान महासंघका स्थायी कमिटि सदस्य मोहनलाल शर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम एमाले बागलुङका उपाध्यक्ष कृष्ण पाठकको अध्यक्षता, सचिव लालबहादुर थापाको सञ्चालन र राष्ट्रिय वाणिज्य संघ बागलुङका अध्यक्ष पुनम शर्माको स्वागतमा सम्पन्न भएको थियो ।

भेलाले नेपाल उद्योग तथा व्यवसायी महासंघमा आवद्ध ८ मध्ये बागलुङमा क्रियाशिल विभिन्न ७ वटा घटक संगठनका संयोजकहरु चयन गरेको छ ।

जस अन्तर्गत नेपाल उद्योग संघको संयोजक तथा केन्द्रिय सदस्यमा खगेन्द्र पौडेल, नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको संयोजकमा तुलसी कंडेल र सदस्यमा कमल पौडेल, नेपाल राष्ट्रिय वाणिज्य संघको संयोजकमा पुनम शर्मा चयन भएका छन् ।

यसैगरी नेपाल लोकतान्त्रिक यातायात व्यवसायी राष्ट्रिय मंचको संयोजकमा भुपेन्द्र खड्का, नेपाल निर्माण उद्योग परिषदको संयोजक लोकेन्द्र के.सी, नेपाल होटेल तथा रेष्टुरेण्ट व्यवसायी संगठनको संयोजकमा यमुना राना र निर्माण सामग्री सम्वद्ध व्यवसायी संघ नेपालको संयोजकमा पूर्ण काउचा रहेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.