बागलुङ, २०७४ जेठ ७ । बागलुङका १० वटा स्थानीय निकायको प्रमुख उपप्रमुख तथा अध्यक्ष उपाध्यक्ष लगायत वडा अध्यक्षमा निर्वाचित जनप्रतिनिधिहरुमा सहकारीकर्मीहरुको बाहुल्यता देखिएको छ ।
काठेखोला गाउँपालिकाको अध्यक्षमा निर्वाचित अम्मरबहादुर थापा यो क्षेत्रकै अग्रणी सञ्चार सहकारीका रुपमा स्थापित आदर्श सञ्चार सहकारी संस्थाको अध्यक्ष हुन् ।
यस्तै ढोरपाटन नगरपालिकाको प्रमुखमा निर्वाचित देवकुमार नेपाली बागलुङ बजारमा सञ्चालित इमेज वचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष हुन् ।
बरेङ गाउँपालिकाका अध्यक्ष कृष्ण पौडेल बिहानी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष हुन भने उनी जिल्ला सहकारी संघ बागलुङका सञ्चालक समेत रहेका छन् ।
बडीगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजा जिल्ला कृषि सहकारी संघका सदस्य हुन ।
बागलुङ नगरपालिकाका प्रमुख जनक पौडेल जिल्लामा रहेका विभिन्न प्रकृतिका सहकारीहरुमा आवद्ध रही सल्लाहकारको रुपमा रहेका छन् । जैमिनी नगरपालिकाका प्रमुख इन्द्रराज पौडेल सिवाइसी साकोसका सल्लाहकार हुन् भने उपप्रमुख लिला राना जिल्ला कृषि सहकारी संघका पूर्व सदस्य हुन् ।
जिल्ला सहकारी संघका सचिव तथा बागलुङ दुग्ध सहकारी संघका अध्यक्ष युक्तप्रसाद कंडेल काँठेखोला गाउँपालिका वडा नंं ६ को वडा अध्यक्षमा, जिल्ला कृषि सहकारी संघका सचिव प्रेम लामिछाने काँठेखोला गाउँपालिका वडा नं. ७ को वडा अध्यक्ष र तिनचुले बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष यामबहादुर श्रीस वडा नं. ३ को अध्यक्षमा निर्वाचित भएका छन् । बानपा ३ बाट निर्वाचित वडा अध्यक्ष लक्ष्मी बाँस्कोटा महिला हित बचत तथा ऋण सहकारी संस्थाकी सचिव हुन् भने बानपा ५ बाट वटा अध्यक्षमा निर्वाचित शिव सापकोटा जिल्ला सहकारी संघ बागलुङका पूर्व सञ्चालक हुन । १० वटा स्थानीय तहका विभिन्न पदमा निर्वाचित जनप्रतिनिधि मध्ये अधिकांश सहकारी क्षेत्रमा क्रियाशिल रहेका छन् ।
सहकारी अभियानमा प्रत्यक्ष रुपमा लागेका व्यक्तिहरु यो निर्वाचन मार्फत जनप्रतिनिधि बन्न सफल भएको जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष दिपक गौतमले जानकारी दिए । लामो समयसम्म स्थानीय निर्वाचन नभएका कारण गाउँ घरमा सहकारी मार्फत जनतालाई सेवा दिदै आएका सहकारीकर्मीहरु निर्वाचनमा सहजै विजयी भएर जनप्रतिनिधि बनेको सहकारीकर्मीहरु बताउछन् ।