Sorry, that menu does not exist.
 

सन् नेपाल लाइफ इन्सोरेन्स कम्पनीले १० लाख बढी रकम मृत्यु दाबी भुक्तानी

लोकेन्द्र निरासी, बुर्तिबाङ, असार ९ । सन् नेपाल लाइफ इन्सोरेन्स कम्पनीले रु. १० लाख ४३ हजार रकम मृत्यु दाबी भुक्तानी गरिएको छ । कम्पनीको शाखा कार्यालय बुर्तिबाङले एक कार्यक्रमको आयोजना गरी उक्त मृत्यु दाबी भुक्तानी रकमको चेक बिमित मृतक केशमाया पुनको परिवारलाई हस्तान्तरण गरेको हो ।

ढोरपाटन नगरपालिका वडा नं. ९ निवासी विमित एवं मृतक केशमाया पुनले २०७६ साल असोज १६ गते सन् नेपाल लाइफ इन्सोरेन्स कम्पनीमा रु. ५ लाख बराबरको जीवन बिमा गर्नुभएको थियो । उहाँले कम्पनीलाई २ किस्ता बापतको जम्मा रु. ७० हजार ४ सय १० रुपैयाँ मात्र भुक्तानी गर्नुभएको थियो । तर उहाँको गत २०७७ साल पौस २८ गते ढोरपाटन नगरपालिका वडा नं. ९ भुसुण्डेमा रातको समयमा घर फर्कने क्रममा कुलो छेउबाट खोलामा खसेर दुर्घटना भई मृत्यु भएको थियो । उहाँ सरस्वती प्रा.वि. सुकुर्दङमा बाल विकास सहजकर्ताको रुपमा कार्यरत हुनुहुन्थ्यो । विमितको मृत्यु पश्चात सन् नेपाल लाइफ इन्सोरेन्स कम्पनी बुर्तिबाङ शाखाले बिमितको मृत्यु दाबी रकम भुक्तानीका लागि आवश्यक कागजात सहित प्रक्रिया अगाडि बढाएको थियो । सो प्रक्रियाबाट बिमितले जम्मा गरेको रकममा दुर्घटना बिमा बापतको सत प्रतिशत थप गरी बोनस सहित उक्त रकम हस्तान्तरण गरिएको हो ।

बिमितको मृत्यु दाबी रकम भ्ुक्तानीका लागि आयोजित उक्त कार्यक्रममा ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै नगर प्रमुख नेपालीले प्रायः गरी बिमितहरुले बिमा कम्पनीलाई रकम दिने बेलामा सहज भए पनि लिने बेलामा अप्ठ्यारो हुने गरेका गुनासाहरु प्रशस्त आउने गरेको भन्दै सन् नेपाल लाइफ इन्सोरेन्स कम्पनीले भने बिमितको मृत्यु दाबी भुक्तानी सहज र छिटो गरी भुक्तानी गरेकोमा धन्यवाद दिनुभयो । उहाँले भन्नुभयो—“मृतकको त ज्यान गइहाल्यो हामी सबै दुःखी छौं, तर बिमा कम्पनीले दिएको विमा बापतको रकम सही ठाउँमा सदुपयोग होस्, अन्य कुनै समस्या आएमा मैले आफ्नो तर्फबाट पनि सहयोग गर्ने छु ।” नगर प्रमुख नेपालीले रकम भुक्तानीको लागि आफूले पनि आवश्यक सहयोग गरेको बताउँदै उक्त रकम सही ठाउँमा प्रयोग होस् भन्दै मृतकका बालबालिकाहरुको पढाइ लेखाइ र उज्वल भविश्यको लागि सदुपयोग गर्न सुझाब दिनुभएको थयो । कार्यक्रममा ढोरपाटन नगरपालिकाकी उपप्रमुख करमती पुनको समेत विशेष उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा बोल्दै सन् नेपाल लाईफ इन्सोरेन्स कम्पनी बुर्तिबाङ शाखाकी प्रमुख सरस्वती घिमिरेले धेरै जसो बिमा कम्पनीहरुले जीवन बिमा बापतको मृत्यु दाबी रकम सहज रुपमा भुक्तानी गर्दैनन् भन्ने गलत सन्देश अझै पनि जनमानसमा रहेकाले त्यस खालको गलत सन्देश नजाओस् भनी सहज रुपमा कम्पनीको तर्फबाट छिटो प्रक्रिया अगाडि बढाएर बिमित मृतकको परिवारलाई रकम हस्तान्तरण गरिएको बताउनु भयो ।

उक्त कार्यक्रममा मृतक केशमाया पुनका श्रीमान् प्रेम बहादुर पुन, छोरा अखिल पुन, छोरी अर्मिला पुन, आमा हेमदेवी घर्ती र बहिनी जमुना घर्तीको उपस्थिति रहेको थियो । मृतकका श्रीमान् प्रेम बहादुर पुनले आफ्नी श्रीमतीको जीवन बिमाको मृत्यु दाबी रकमको १० लाख ४३ हजार रुपैयाँको चेक ग्रहण गर्दै बिमा कम्पनीले आफूहरुलाई सहज रुपमा रकम प्रदान गरेको भन्दै सन् नेपाल लाइफ इन्सोरेन्स कम्पनीलाई धन्यवाद दिनुभएको थियो ।

त्यसैगरी कार्यक्रममा स्वागत मन्तव्य दिंदै सन् नेपाल लाइफ इन्सोरेन्स कम्पनी बुर्तिबाङ शाखाका एजेन्सी म्यानेजर एवं उत्तरगंगा मा.वि.का शिक्षक नवीन जी.सी.ले जीवन बिमाको महत्वमाथि प्रकाश पार्दै सबै बिमा कम्पनीहरुले नागरिकलाई जीवन बिमाप्रति सचेत बनाउँदै बिमा कम्पनीहरुबीचको नकारात्मक प्रतिस्पर्धालाई हटाएर एकआपसमा सहकार्य गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रममा ईलाका प्रशासन कार्यालय बुर्तिबाङका प्रमुख लोक बहादुर कुँवर, ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक जयराम ओन्त, नेकपा एमाले जिल्ला समिति बागलुङका सदस्य टंक प्रसाद पौडेल, समाजसेवी तुल्सीराम अर्याल, नेपाल बैंक लिमिटेड बुर्तिबाङ शाखाका प्रमुख दिपेन्द्र अधिकारी, प्रभु बैंकका शाखा प्रमुख खिम बहादुर खत्री, ग्लोबल आइ.एम.ई.बैकका शाखा प्रमुख ईश्वर राजभण्डारी, गरिमा विकास बैंकका शाखा प्रमुख अमृत श्रेष्ठ, एन.एम.बी. बैंकका शाखा प्रमुख प्रकाश अर्याल, नेपाल लाईफ इन्सोरेन्स कम्पनी बुर्तिबाङ शाखाका प्रमुख प्रनिश गिरी, युनियन लाइफ इन्सोरेन्स कम्पनीका खगेन्द्रमान पुन, प्रभु लाइफ इन्सोारेन्स कम्पनीका हेमराज सापकोटा, त्रिवेणी वचत तथा रिण सहकारी संस्था लिमिटेडका अध्यक्ष उत्तम महत, लायन्स क्लब बुर्तिबाङका प्रेसिडेन्ट रितुवर्ण पौडेल लगायत विभिन्न वित्तीय संघसंस्थाका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।
पछिल्लो समयमा बागलुङ पश्चिम क्षेत्रमा झण्डै दर्जन बढी जीवन बिमा कम्पनीहरुले आफ्नो शाखा विस्तार गरी जीवन बिमाको कार्यलाई अगाडि बढाएका छन् । सन् नेपाल लाइफ इन्सोरेन्स कम्पनीले पनि बुर्तिबाङमा शाखा बिस्तार गरी छोटो समयमै बागलुङ पश्चिम क्षेत्रका करिब चार सय बढी व्यक्तिहरुलाई जीबन बिमा गरी उत्कष्ट कारोबार गरेको कम्पनीले जनाएको छ ।

सन् नेपाल लाइफ इन्सोरेन्स कम्पनी बुर्तिबाङ शाखाकी प्रमुख सरस्वती घिमिरेको अध्यक्षता रहेको उक्त कार्यक्रमको संचालन किरण पौडेलले गर्नुभएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !