Sorry, that menu does not exist.
 

कृषि र मौरीपालन व्यवसायबाट आर्थिक सम्वृद्धि खोज्दै पत्रकार मित्रलाल खरेल

थम्मन थापा गल्कोट २०७७ असोज ८ । लामो समय शिक्षण पेशामा आवद्ध रहेर अहिले पत्रकारिता सँगै कृषि क्षेत्रमा सम्वृद्धिको सम्भावना खोज्ने ईबागलुङ सहकर्मी मित्रलाल खरेल गल्कोट क्षेत्रमा चर्चामा छन् । पछिल्लो समय पत्रकार खरेलले गल्कोट कृषि तथा पशुपलन बिक्री केन्द्र फर्म स्थापना गरेर कृषि र मौरी पालन व्यवसाय सुरुवात गरेका छन् । स्थानीय यम भुजेल र खरेलले छिसमा अहिले झण्डै १ सय बढी मौरीको घारमा मौरी पालन गरेर आर्थिक सम्वृद्धिको बाटो रोजेका हुन् ।

उनले एक प्रश्नको उत्तरमा परम्परागत कृषि प्रणाली मार्फत आर्थिक सम्वृद्धि नहुने र मात्रै जीविकोपार्जन हुने भन्दै आफूहरु आधुनिक कृषि प्रणाली र मौरी पालनमा लागेको बताए । थोरै लगानी, कम मेहनत हुने भएकाले आफूहरुले मौरी पालन व्यवसाय रोजेको खरेलको भनाइ छ । खरेलले मौरीपालन सँगै कागती खेती, तरुल खेती र तरकारी खेतीलाई सँग सँगै एकसाथ अगाडि बढाएका छन् । घर आसपासका सबै खेतमा कोदो रोपेर त्यसको संरक्षणमा समेत उनी सक्रिय छन् । एउटा व्यवसायिक कृषकको रूपमा आफूलाई चिनाएका खरेलले अहिले बारीमा ५ सय कागतीका विरुवा रोपेका छन् । उनको कागती बगैचामा धेरै जसो बोटहरूमा फल लागी सकेका छन । यति मात्र होइन जमीन खेर नजाओस भन्ने हेतुले सयौं तरुलका झाल, विभिन्न प्रजातिका केरा, सुन्तला आदिले त्यहॉ पुग्ने जो कसैलाई त्यसले लोभाउने गर्दछ ।

मध्य पहाडी लोकमार्ग अन्तर्गत मल्म रिघा सिसाखानी सडकको आडमै रहेको उनको कृषि बगैँचामा गल्कोट नगरपालिका वडा नं ९ बडगाउँ बाट केहि मिनेटको पैदल यात्रा पछि पुग्न सकिन्छ ।
लामो समय बडीगाड गाउँपालिका वडा नं ३ सिसाखानी र गल्कोट नगरपालिका वडा नं १० पाण्डवखानीमा मौरीपालन व्यवसाय गर्दै आएका उनका सहपाठी यम भुजेलले अब बजारको समस्या सहज हुने बताए । अहिले स्थानीय लघु जलविद्युत मार्फत मौरीको घार निर्माण समेत गरेर बिक्री वितरण गर्ने तयारी भइरहेको समेत उनले जानकारी दिए ।

भौगोलिक हिसाबले पनि उक्त ठाउँ आकर्षक देखिन्छ त्यहाँबाट मध्यपहाडी लोकमार्ग, दरम खोला, रिघा, कॉडेबास, मल्म सँगै छिमेकी जिल्ला गुल्मीको अर्लाङ्गकोटका दृश्य अवलोकन गर्न सकिन्छ । छिमेकी वडा रिघा पर्यटकीय र धार्मिक अनि सांस्कृतिक महत्त्व बोकेको ठाउँ भएकोले यस क्षेत्रमा रिसोर्ट आवश्यकता रहेको र निकट भविष्यमा रिसोर्ट निर्माण गर्ने योजना बनाएको खरेलले बताए ।

लगानी गर्ने युवाहरु भए आफूले त्यहाँको व्यवस्थापकीय पक्षका लागि वातावरण निर्माण गर्न आफू तयार रहेको उनले बताए । मौरी पालन व्यवसायले अब बिस्तारै आम्दानीको श्रोत वृद्धि गर्दै लैजाने उनले अपेक्षा गरेका छन् । उनीहरूको मौरीपालन र कृषि बगैचामा अहिले युवाहरु स्थलगत अवलोकन गर्न आउने गरेका छन् । खरेल गल्कोट क्षेत्रमा रहेर १ दशक देखि पत्रकारितामा समेत आवद्ध रहेका छन् । उनी पत्रकारहरुको साझा संस्था गल्कोट पत्रकार सामाज बागलुङका अध्यक्ष समेत रहेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !