भो! घर आउने चाहना मार्देउ प्रदेशीले।
मनका अरु बहाना छाड्देउ प्रदेशीले।।
घर अनि गाउँलेले दुर दुर गर्छन् अचेल,
धन पठाईदेउ ज्यान उतै मार्देउ प्रदेशीले।।
२
देस फर्के बाचिन्छ भन्ने नै के भर छ र?
ब्यर्थ गुम्छन् कति त क्वारेन्टाइनमा ग र।
निरोगी नि रोगी बन्छन् ब्यबस्था नै त्यस्तै,
सरकार आफ्नै घरमा बस्ने ब्यबस्था गर।।
३
उद्दारको नाममा अर्को ठग्ने धन्दा चल्दैछ।
सरकारले अझै माफिया खै किन पल्दैछ।।
काम दाम छैन, भोकले पेटमा माम छैन,
देख्नु भो चार्टर भन्दै दोब्बर बढी असुल्दैछ।।
४
आउनेलाई आफ्नै घर घरमा जान देउ।
सतर्क हुन सबैलाई सचेतना ज्ञान् देउ।।
म मृत्यु चाहन्न क्वारेन्टाइनमा कदापि,
कि त राम्रो ब्यबस्थापनमा ध्यान देउ।।
– राम प्रसाद शर्मा
बागलुङ २०७७ भदौ २९ ।