राम प्रसाद घिमिरे, बागलुङ २०७७ असार २० । झोलुङ्गे पुलको जिल्ला भनेर चिनिने बागलुङ जिल्लामा संसारभरीका पर्यटक तान्न बिश्व कै सबैभन्दा लामो झोलुङ्गे पुल निर्माण गरिएको छ । प्रकृतिसँग रमाउन खोज्ने विश्वका पर्यटकहरुलाई आकर्षित गर्न पुल निर्माण सगैँ बत्ती जडानको काम अहिले अन्तिम चरणमा छ । बिश्वब्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) ले देश बन्दाबन्दी भएपछी थला परेको पर्यटन व्यवसायलाई टेवा दिने गरी आन्तरिक तथा बाह्य पर्यटक तान्नको लागि बागलुङ नगरपालिकाले प्रयास गरिरहेको छ ।
बागलुङ नगरपालिका वडा नम्बर १ बाङ्गेचौर देखि पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा नम्बर १ अदुवाबारी जोड्ने ५६७ मिटर लामो बिश्व कै सबैभन्दा लामो झोलुङ्गेपुल निर्माण सकेर हस्तान्तरणको पर्खाईमा छ ।
पुलमा रातिको समयमा वारपार गर्न सहज होस भन्ने उदेश्यले लाईट जडानको काम भैरहेको छ । सिंगल स्पानमा निर्माण भएको विश्वकै लामो पुललाई थप आकर्षक बनाउन लाईट जडान गर्न लागेको नगरपालिकाले जनाएको छ ।
बन्दबन्दीको कारण पुलको औपचारिक उद्घाटन गर्न समस्या भएको बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले बताए । कञ्चनपुरको महाकाली नदीमा बनाइएको मल्टिस्पान प्रकृतिको चाँदनी–दोधारा पुल एसियामा लामो मानिने भए पनि बागलुङमा बनेको यो पुल खुला प्रकृतिको पहिलो हो ।
सिंगल स्पान प्रविधिको बिश्व कै सबैभन्दा लामो झोलुङ्गेपुल ठेकेदार कम्पनीले सम्झौता मिति भन्दा एक बर्ष अगाडि नै सम्पन्न गरेपनि कोरोना भाइरस कोभिड १९ का कारण देशमा बन्दाबन्दी भएपछि पुल हस्तान्तरण र उद्घाटनको काम भने रोकिएको छ । पुलले बागलुङको पर्यटन प्रर्वद्धनमा महत्वपूर्ण भुमिका खेल्ने बागलुङका होटल व्यवसायी सञ्जयकुमार श्रेष्ठले बताए । पुल निर्माणपछि बागलुङ बजारसँग व्यावसायिक सम्बन्ध रहेका कुश्मा नगरपालिका, जलजला गाउँपालिकाका जनताका लागि सहज पहुँच पुग्ने बिश्वास गरिएको छ। कालीगण्डकी नदीमाथि बनेको उक्त पुल बागलुङ प्रवेशद्वार मालढुङ्गा बजार, मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर सडकखण्डको ठिकमाथि रहेकाले पर्यटकीय हिसाबले निकै महत्वपूर्ण रहेको बागलुङ नगरपालिका वडा नम्वर २ का वडा अध्यक्ष जीवन आचार्यले बताए । पुलमा २८ वटा लठ्ठा जडान गरिएको छ भने पुलमा कुल ९४५ स्टिलडेक बिछ्याइएको छ ।
पुलको प्रति वर्गफिट चार जना अट्न सक्ने क्षमता रहेको र पुल भरिभराउ भए पनि थेग्न सक्ने क्षमताको रहेको निर्माण कम्पनी थानी, बीएलटी हिमशिखर कन्स्ट्रक्सनले जनाएको छ । कालीगण्डकी नदीमाथि बनेको १ सय ५२ मिटर अग्लो झोलुङ्गे पुलको लठ्ठा तान्न गाह्रो र चुनौतीपूर्ण भए पनि आधुनिक प्रविधिको सहायताले नमूना परियोजना सम्पन्न भएको निर्माण मम्पनीका प्रतिनिधी नरहरि खड्काले जानकारी दिए । यस अघि स्विजरल्याण्डमा सिंगल स्पानमा बनेको ४९७ मिटर लामो झोलुङ्गेपुल बिश्व कै सबैभन्दा लामो मानिन्थ्यो भने अव बागलुङमा बनेको यो पुल स्विजरल्याण्डको भन्दा ७० मिटर लामो रहेकाले विश्वकै लामो पुल भएको बागलुङ नगरपालिकाले जनाएको छ । नगरपालिकाले पुललाई गिनिज वुक अफ वल्ड रेकडमा दर्ता गर्ने प्रक्रिया समेत अगाडी वढाएको जनाएको छ ।
आजको तस्वीर : सन्चालनको पर्खाईमा बांगेचौर-अदुवाबारी पुल
5 Comments