प्रधानन्यायाधीश कार्की विरुद्ध दर्ता गरिएको महाअभियोगको बागलुङमा विरोध

बागलुङ २०७४ बैशाख १९ । प्रधानन्यायाधीश सुशिला कार्कीलाई संसदमा महाअभियोग प्रस्ताव दर्ता गरेको विषयलाई लिएर बागलुङ जिल्लामा क्रियाशिल नागरिक समाज लगायतका सघं संस्थाहरुले न्यायालय माथि भएको हस्तक्षेप प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् ।

नागरिक समाज बागलुङका संयोजक काजीगाउले श्रेष्ठ, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीष, प्रगतिशिल तथा पेशागत कानुन व्यवसायी संगठन बागलुङका अध्यक्ष राम शर्मा, शान्तिका लागि मानव अधिकारकर्मीको साझा सञ्जाल, इन्सेक बागलुङका प्रमुख सिर्जना पन्त र न्यायका लागि द्धन्द्धपीडित समाज बागलुङकी सावित्रा खड्काले संयुक्त रुपमा बिज्ञप्ती जारी गर्दै प्रधान न्यायधिश सुशिला कार्की विरुद्ध संसदमा दर्ता भएको महाअभियोग फिर्ता लिन माग गरिएको छ ।

बिज्ञप्तीमा न्यायिक पुनरावलोकनको माध्यमबाट हेरिने बिषय सर्वोच्च अदालतको क्षेत्राधिकारको भएको त्यस्ता बिषयमा महाअभियोग लगाउनु लोकतान्त्रिक व्यवस्था, बिधिको शासन, स्वतन्त्र न्यायपालिकाको बिरुद्धको कार्य भएको भन्दै सम्वद्ध पक्षलाई स्वतन्त्र न्यायपालिकाको सम्मान गर्न अपिल गरिएको छ ।

‘स्थानीय तह निर्वाचनको संघारमा मुलुककै प्रथम महिला न्यायाधीश बिरुद्ध दर्ता गरिएको महाअभियोग तत्काल फिर्ता लिएर स्वतन्त्र न्यायपालिका, बिधिको शासन, कानुनी राज र लोकतान्त्रिक गणतान्त्रिक संविधान कार्यन्वयनमा लाग्न आग्रह गर्दछौ’ बिज्ञप्तीमा भनिएको छ ।

यसैबिच, अखिल नेपाल महिला संघ बागलुङ, अखिल नेपाल प्रगतिशिल महिला संघ बागलुङ र राष्ट्रिय प्रजातन्त्रिक महिला संगठन बागलुङले पनि प्रधानन्यायधिश कार्की बिरुद्धको महाअभियोग प्रति आपत्ति जनाएका छन् ।

उनीहरुले पनि संयुक्त विज्ञप्ती जारी गर्दै मुलुककै गरिमा उच्च हुने गरि कार्यभार सम्हालिरहेका कार्की बिरुद्ध राजजीतिक प्रतिशोध साँधेर महाअभियोग लगाइएको भन्दै तत्काल फिर्ता लिएर स्वतन्त्र न्यायपालिकाको सम्मान गर्न आग्रह गरिएको छ ।

यता, महिलाहरुले बागलुङमा कोणसभा गरेर पनि सांकेतिक बिरोध जनाएका छन् ।

कोणसभालाई संम्बोधन गर्दै नेकपा एमालेका केन्द्रिय सदस्य मनकुमारी केसीले देशको तीन ठूला पद मध्य न्यायपालिकामा रहनु भएको सुशिला कार्की विरद्ध महाअभियोग लगाउनु न्यायलय माथिको नाङ्गो हस्तक्षेप भएको बताईन् ।

कार्यक्रम अखिल नेपाल महिला संघ बागलुङका अध्यक्ष सावित्रा रानाको अध्यक्षता तथा अखिल नेपाल महिला संघ बागलुङका उपाध्यक्ष सुजाता नेपालीको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.