काठमाडौं २०७४ बैशाख १८ । राप्रपाको आज दुई पटक बसेको आकष्मिक बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको छ । पार्टी कार्यालय धुम्बाराहीमा बसेको कार्य सम्पादन समितिको बैठकमा पार्टीका अधिकाँश नेताहरुको दबावका बीच पार्टी वर्तमान सरकारबाट बाहिरिने निर्णय गरेको हो ।
‘प्रचण्ड’ नेतृत्वको सरकारमा राप्रपाबाट उपप्रधान, संघीय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापासहित चार मन्त्री सहभागी थिए ।
प्रधानन्यायाधीश सुशीला कार्कीलाई महाअभियोग लगाइएको विषयमा असन्तुष्ट रहेको राप्रपाले । प्रधान न्यायाधीश विरुद्ध महाअभियोग प्रस्ताव अनुचित, अनैतिक र न्यायिक स्वतन्त्रतामाथिको हस्तक्षेप भन्दै यस्तो प्रस्ताव ल्याउने दलहरुसँग सहकार्य हुन नसक्ने जनाएको छ ।
सरकारमा सहभागी सत्ता घटकलाई समेत थाहा नदिई छापमार शैलीमा महाअभियोग प्रस्ताव दर्ता गर्नुले सरकारमा बसिरहनुको औचित्य समाप्त भएको बैठकपछि राप्रपा अध्यक्ष कमल थापाले पत्रकारहरुलाई बताएका थिए ।
बैठकले सरकारबाट फिर्ता भएपनि आसन्न स्थानीय तहको निर्वाचन सम्पन्न गर्न सघाउने र पूर्ण रुपमा सहभागी हुने पार्टीले जनाएको छ ।