कृषि विकासमा आधुनिकीकरण परियोजनाको महत्वपूर्ण भूमिका !

बागलुङ २०७३ पुस २५ । दश बर्ष भित्र नेपाललाई कृषिमा आत्मनिर्भर बनाउने लक्ष्य सहित देशव्यापी रुपमा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगत बागलुङमा सुन्तला र मकैको ब्लक र पकेट बनाउन कार्यक्रम शुरु गरिएको जिल्ला कृषि विकास कार्यालय बागलुङले जनाएको छ ।

परियोजनाले जिल्लाको उत्पादकत्व बढाउन र लागत घटाउन महत्वपूर्ण भुमिका खेल्ने अपेक्षा गरिएको जिल्ला कृषि विकास कार्यालय बागलुङका वरिष्ठ कृषि विकास अधिकृत मदन थापाले बताए । कार्यक्रमलाई लक्षित समुदाय केन्द्रित र उपलब्धिमूलक बनाउन कृषकहरुको समिति गठन, सम्भावित खेती क्षेत्र विस्तार लगायतका काम अघि बढाइएको अधिकृत थापाको भनाई छ ।

कृषिलाई आधुनिकिकरण, व्यवसायीकरण र बजारिकरण गर्ने उद्देश्यले जिल्लाको प्राथमिकता प्रदत्त बालीलाई आधार बनाएर कार्यक्रम सञ्चालनका लागि गाविस र क्षेत्र छनोट गरी लक्षित कृषकहरुलाई जानकारी समेत गराइएको बागवानी विकास अधिकृत महिमा बज्राचार्यले बताईन् । उनले परियोजना अन्र्तगत मकै (बिउ र खाद्यान्न) को एक ब्लक, सुन्तलाको (अनाज र बिरुवा) उत्पादनका लागि दुई ब्लक र २० वटा पकेट निर्माणका लागि यस बर्ष १ करोड ९८ लाख रुपैयाँ स्वीकृत भएको समेत जानकारी दिईन् ।

ब्लक विकास कार्यक्रम अन्र्तगत मकैको धम्जा, पाला, भिमापोखरा र तंग्राममा कार्यक्रम सञ्चालन हुनेछ । सुन्तलाको भने बिहुँ, सिगाना, भकुण्डे र तित्याङमा ब्लक बनाएर काम अघि बढाइएको कार्यालयका कृषि प्रसार अधिकृत बिप्लव अधिकारीले जानकारी दिए । ब्लकका लागि प्रति ब्लक १ सय हेक्टर क्षेत्रफल र पकेट विकास कार्यक्रममा प्रति पकेट १० हेक्टर क्षेत्रफल जग्गामा खेती अनिवार्य गर्नुपर्ने व्यवस्था गरिएको छ ।

पकेट विकास कार्यक्रम अन्र्तगत सुन्तलाको ४ वटा पकेट (दमेक,सर्कुवा, सिसाखानी, हरिचौर या हटिया), मकै (बिउ) को २ वटा पकेट (बानपा कुडुले, रांखानी), मकै (खाद्यान्न) ४ वटा (रिघा, बुर्तिबाङ, हिल र देविस्थान, ताजा तरकारी १ पकेट (बानपा पावर हाउस) छनोट गरिएको छ । यसैगरी, आलुको ३ पकेट क्षेत्र (तारा, बोबाङ र तमान), अलैची ३ वटा (अर्गल, दमेक र दुदिलाभाटी), धान १ वटा नारायणस्थान र मौरीको दुई वटा पकेट (जैदी र दगातुम्डाँडा) बनाइने कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजना नेपालका ३७ जिल्लामा कार्यक्रम शुरु भएको छ । २० बर्षे कृषि विकास रणनीति अनुसार यसको पुरकको रुपमा उक्त कार्यक्रम आएको कार्यालयले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *