बुर्तिवाङ २०७६ माघ १ । ढोरपाटन नगरपालिकाका नगर प्रमुख देव कुमार नेपालीले बडीगाड गाउँपालिका वडा नं. ९ मा रहेको मालारानी युवा क्लवव्दारा आयोजित माघे सक्रान्ति विशेष मेलाको आज औपचारिक रुपमा उद्घाटन गरेका छन् । क्लवव्दारा प्रतियोगितात्मक कार्यक्रमहरु गत पुस २६ गतेबाट सुरु गरिए पनि मेलाको औपचारिक उद्घाटन भने आज माघे सक्रान्तिका दिन गरिएको हो ।
उद्घाटन कार्यक्रमलाई संबोधन गर्दै प्रमुख अतिथी नगर प्रमुख नेपालीले मालारानी पर्यटन विकासको सम्भावनायुक्त सुन्दर र रमणीय स्थान भएको बताए । मालारानीमा होमस्टे निर्माण, आवतजावतका लागी सहज यातायातको ब्यबस्था लगायत भौतिक पुर्वाधार विकासका साथै सामाजिक रुपमा बिकास गर्न सके पर्यटकहरुको आकर्षक गन्तव्यका रुपमा स्थापित गर्न सकिने भन्दै यसतर्फ सरोकारवाला सबैको ध्यान जान आवश्यक रहेको नगरप्रमुख नेपालीले बताए । बडीगाडको मालारानीलाई बुर्तिबाङसंग जोड्नका लागि सडक सञ्जालको विस्तारको प्रयास भईरहेको जानकारी दिँदै प्रमुख अतिथी नेपालीले बडीगाडको विकासका लागि विभिन्न निकायमा पहलका साथै आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
यस्तै कार्यक्रममा बडीगाड गाउँपालिका वडा नं. ९ का वडा अध्यक्ष कृष्ण बहादुर केसी, ढोरपाटन नगरपालिका वडा नं. १ का वडा अध्यक्ष चित्र बहादुर भण्डारी, नेपाल कम्युनिस्ट पार्टी नेकपा बागलुङका जिल्ला सदस्य टंक प्रसाद पौडेल, नेपाल राष्ट्रीय शिक्षक संगठन बागलुङका जिल्ला सचिव कृष्ण भट्टराई, ढोरपाटन नगरपालिका नगर कार्यपालिका कार्यालयका शाखा अधिकृत चण्डीराज पौडेल लगायत स्थानीय समाजसेवी, बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो ।
क्लब अध्यक्ष युवराज मल्लको अध्यक्षता रहेको उद्घाटन कार्यक्रममा कार्यक्रम संयोजक रमेश मल्लको स्वागत मन्तव्य रहेको थियो भने सञ्चालन मिडियाकर्मी दिनेश शर्माले गरेका थिए ।
क्लवले विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि माघे सक्रान्तिको अवसर पारेर विविध खेलकुद, साँस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरेको थियो ।
एकता मित्रता र परिवर्तनका लागि खेलकुद भन्ने मुल नारा सहित क्लवले पुरुष भलिबल प्रतियोगिता, ग्रुप डान्स प्रतियोगिता, एकल डान्स प्रतियोगिता, घैटोफोर प्रतियोगिता लगायतका विभिन्न प्रतियोगितात्मक कार्यक्रमको आयोजना गरेको थियो ।