सशस्त्र प्रहरी बलको लागी जग्गा व्यवस्थापन गर्न बानपा उदासीन : गल्कोट या बुर्तिवाङ लैजान प्रयास सुरु !

बागलुङ २०७६ पुस २९ । प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले सदरमुकाम स्थित जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल नेपाल गुल्म हेडक्वाटरकोे निरीक्षण गरेका छन् । निरीक्षणका अवसरमा उनले दुबै कार्यालयहरुको बिबिध पक्षको जानकारी लिएका थिए । प्रजिअ क्षेत्री निरीक्षणको क्रममा जिल्ला प्रहरी कार्यालय पुग्दा प्रहरी उपरीक्षक नवराज भट्ट तथा सशस्त्र प्रहरी बल नेपाल गुल्म पुग्दा गुल्मपति (प्रनाउ) बासुदेव लोहनीले स्वागत गरेका थिए ।

कार्यालयहरुको निरीक्षण पश्चात बोल्दै प्रजिअ क्षेत्रीले जिल्लाको शान्ति सुरक्षाको स्थिति मजबुत बनाउन प्रहरी कडाईका साथ लाग्नु पर्ने निर्देशन दिए । प्रजिअ क्षेत्रीले जिल्ला प्रहरी कार्यालयबाट लागु औषध दुव्र्यसन, बिक्रीवितरण नियन्त्रणमा भैरहेको प्रयासको प्रशंसा गर्दै यसलाई निरन्तरता दिनु पर्ने आवश्यकता रहेको बताए । सशस्त्र प्रहरी बल नेपाल गुल्म हेडक्वाटरको कार्यालय भवन व्यवस्थापनलाई लिएर छलफल भएको बुझिएको छ ।

गत २०७६ साल भदौ २ गते बागलुङ सदरमुकाममा स्थापना भएको सशस्त्र प्रहरी बल नेपाल गुल्म हेडक्वाटरको आफ्नै कार्यालय भवन नहुँदा साबिक भूसंरक्षण कार्यालयको खाली भवनबाट अस्थायी रुपमा कार्यालय सन्चालन गर्दै आएको छ । बागलुङ नगरपालिकाले गुल्मको लागी आवश्यक जग्गाको व्यवस्थापन प्रति तदारुकता नदेखाएपछी गल्कोट तथा ढोरपाटन नगरपालिकाले आआफ्नो नगरपालिकामा जग्गा उपलव्ध गराउने बताउदै गुल्मलाई आफ्नै नगरपालिकामा लैजाने प्रयास गरिहरहेका छन् । कार्यालय स्थापना भएको पाँच महिना पुग्दा पनि जग्गा व्यवस्थापन गर्ने विषयमा बागलुङ नगरपालिकाले चासो नदेखाउनु लज्जास्पद भएको नगरबासीको टिप्पणी रहेको छ ।

स्मरणीयछ, सशस्त्र प्रहरी बल नेपाल गुल्म हेडक्वाटरमा १ सय ४१ जनाको दरबन्दी रहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !