बागलुङ २०७६ पुस २९ । जिल्ला प्रशासन कार्यालय बागलुङमा सोमबार भएको एक बैठकले सडक अतिक्रमण गरी बनाईएका संरचनाहरु हटाउने विषयमा अहम निर्णय गरेको छ ।
प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीको अध्यक्षतामा सम्पन्न बैठकले सरोकारवाला निकायहरु, स्थानीय तह, राजनीतिक दल, नागरिक समाज सन्चारकर्मी समेतको व्यापक सहकार्य, समन्वय तथा सहभागितामा कानून समेतको प्रकृया अपनाई सडकको राईट अफ वे मा बनेका अनाधिकृत संरचनाहरु तथा सडक किनारमा राखिएका निर्माण सामाग्रीहरु तत्काल हटाउने व्यवस्था मिलाई चुस्त दुरुस्त यातायात ट्राफिक व्यवस्थापन गरी शहर र सडकको सौन्दर्यता कायम गर्न सक्रियताका साथ लाग्न सात सूत्रिय निर्णय गरेको हो ।
बैठकले गरेका सात निर्णयहरुमा सडक अतिक्रमण हटाउन सरोकारवाला निकायहरुवीच नियमिति बैठक बस्ने, सचेतनाको लागी विभिन्न माध्यमबाट सूचना प्रवाह गर्ने, अतिक्रमण गर्नेहरुलाई कानूनी दायरामा ल्याउने, अनाधिकृत पार्किङ गरी सवारी आवागमनमा बाधा पार्नेलाई कार्बाही गर्ने, सडक अतिक्रमण वा सडक किनारमा निर्माण सामाग्री तत्काल हटाउने कार्यमा व्यापक सहभागित जुटाउने र तत्काल हटाउने र हटाउन लगाउने तथा मध्यपहाडी लोकमार्ग, बागलुङ सडक डिभिजन कार्यालय र स्थानीयतहले निर्माण गरेका सडकहरुमा आआफ्नो क्षेत्रमा भएका सडक अतिक्रमणको विवरण संकलन गरी पेश गर्ने र सम्वन्धित स्थानीय तह र सरोकारवाला निकायहरुको समन्वयमा अतिक्रमित संरचना हटाउने व्यवास्था मिलाउने रहेको जिल्ला प्रशासन कार्यालय बागलुङका प्रशासकीय अधिकृत धिरेन्द्र पन्तले जानकारी दिएका छन् ।
सदरमुकाम बागलुङ बजारका सडक किनार लगायत जिल्लाका अन्य सडक किनारमा अतिक्रमण गरी अनाधिकृत तवरले बनाईएको संरचनाहरुले सडक यातायातमा अवरोध सिर्जन गर्नुका साथै सवारी दुर्घटना निम्त्याउने काम भैरहेको अवस्थामा गरिएको यस निर्णयको सकारात्मक प्रभाव पर्ने विश्वास गरिएका छ ।
सरकारी वा सार्वजनिक जगाहरु हडप्ने प्रबृत्ति बढेको विषयलाई लिएर नागरिक समाजले जिल्लाका विभिन्न भागहरुमा निर्माण भएका उद्यान (पार्क), बसपार्क लगायतका सार्वजनिक जग्गा अतिक्रमण गरी अनाधिकृत तवरले कब्जा जमाउनेहरुलाई पनि कानूनी दायरामा ल्याउन सरोकारवाला निकायको गम्भीर ध्यानाकर्षण गराएको छ ।
यो लिंकपनि पढौँ:
बसपार्क अतिक्रमण गरी निर्माण गरिएका संरचना ३५ दिन भित्र नहटाए बल प्रयोग गरिने !