पृथ्वी जयन्ती भव्यरुपमा मनाउने वातावरण राज्यले सृजना गर्नु पर्छ -उप प्रमुख खड्का

कोपीला कंंडेल, बागलुङ, २०७६ पुस २७ । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको २९८ औ जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवस बागलुङ सदरमुकाम लगायत देशैभर बिबिध कार्यक्रमका साथ मनाइएको छ ।

२९८ औ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस नागरिक मूल समारोह समितिको आयोजनामा बागलुङ बजारमा दिवस मनाईएको हो । पृथ्वी जयन्ती समारोहको उद्घाटन गर्दै प्रमुख अतिथी एवं बागलुङ नगरपालिकाका उप प्रमुख सुरेन्द्र खड्काले नेपाल एकीकरणमा पृथ्वीनारायण शाहले गौरवमय इतिहास रचेकोे बताए ।

नेपालको राजनितिक ईतिहासमा पृथ्वी नारायण शाहको योगदानलाई भुल्नु जन्मदिने आमालाई नचिन्नु सरह भएको चर्चा गर्दै उप–प्रमुख खड्काले पृथ्वी जयन्तीको बिदा कटौती गरेर सरकारले ठुलो गल्ती गरेको बताए । उनंले पृथ्वी जयन्तीलाई भव्यरुपमा मनाउने वातावरण राज्यले सृजना गर्नुपर्नेमा जोड दिए ।

सो अवसरमा नागरिक समाजका संयोजक अधिवक्ता काजी गाउले श्रेष्ठले नेपाल एकिकरण र नेपाली राजनितिमा पृथ्वी नारायण शाहले खेलेको भुमिका बारे प्रकाश पार्दै छरिएर रहेका वाइसे चौबिसे राज्यलाई एकीकृत गरि सिंगो नेपाल बनाउने काम गरेका पृथ्वी नारायण शाहको योगदानलाई सदैव कदर गर्नुपर्ने धारणा ब्यक्त गरे । कार्यक्रम २९८ औ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मुल समारोह समिति बागलुङका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठको अध्यक्षता, सदस्य रमेशकुमार राजभण्डारीको स्वागत मन्तव्य र सदस्य सचिव सुदर्शन पन्तको संचालनमा सम्पन्न भएको थियोे ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !