लघुकथा : ओडार !

ए, सुनिस्, बहिर निस्की त !

तिमीनै भित्र आउ बुढा, कोदाको रोटी पाकेको छ भाँगोको चटनी पिस्दै छु, ताततातै खाउला ।

कति मायाँ गर्छेस तैँले । बाहिर निस्केर हेर्न मेरो अनुहार … !

कति हेर्ने हो र त्यो अनुहार, दिनदिनै हेरेकै त छ नि ।

यस्तो नराम्रो रोग लागिसकेको रहेछ मलाई तैँले केहि भनिनस् । मायाँ गर्ने कुरामा पो मायाँ गर्ने … अनुहार भरी यस्तो चाला उठिसकेछ … !

केहि बेर पहिले सम्म त चिल्लो राम्रो थियो त, भरखर के भो तिम्रो अनुहारमा र , भित्रै आउ यहिँ हेरौँला ।

गैराघरेले भनेर पो थाहा भयो, मेरो मुखभरी कोर आएको रहेछ ।

ए, बा ! के भन्छौँ यस्तो, बेस्सरी घिचेर आयौ कि के हो ?

नकरा, चाहिने कुरामा मायाँ गर्ने । गुन्द्री काम्लो, औँखरा, सिल्टीको थाल सानो ताउली निकाल्दे मलाई, ओडारमा गएर बस्छु… ।

के भो तिम्लाई, यस्ता गतनपतका कुरा गर्छौ । के भने गैराघरेले र ?

कहिले देखी हो तँलाई यस्तो भएको माने ? भनेर सोधे । मलाई के भएको छ र भनेँ । उनले तेरी जहानले भन्दिने र ? मायाँले होला नभनेको भनेर भित्र गएर हातमा ऐना लिएर आए । ल, हेर त भन्दै ऐना दिए । ऐना हेरेर पो मेरो अनुहार भरी कोर आको थाहा भो ।कोर आएपछी घरमा बस्न हुन्न परिवार देखी अलग्ग ओडारमा बस्नु पर्छ… भन्छन् गैराघरेले । खोई, ले एकसरो भाँडाकुँडा र कपडा म ओडारमा बस्न जान्छु ।

ओडारमा बसेर दरबार बनाउनेहरुको कुरा तेरो माईतीतिर निकै सुनिन्छ । ओडारमा बसेपछी हामी पनि दरबारमा बस्ने हुन्छौँ कि ? बरु बुझ्त, कुन ओडारमा होईछ बसेको ? कहाँ रै’छ त्यो ओडार ?

के बेतालका कुरा गर्छौ भन्दै बाटुली बाहिर निस्केर मानेलाई हकार्न थाली । माने र बाटुलीको चर्काचर्कीले छरछिमेकी जम्मा भए । छिमेकी रामेले भने, ओई माने सुन, त्यो ऐना नै त्यस्तो हो, जस्ले हेरेपनि मुखभरी खटिरा देखिन्छ । गैराघरेको ऐना र ओडारमा बस्नेले दरबार बनायो भन्नु दुबै छट्टु कुरा हुन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !