सञ्चारकर्मी सरु सुनारको जीवनः मलेसियाको मजदुरी देखि अन्तर्राष्ट्रिय अवार्ड सम्म

यस वर्षको अन्तर्राष्ट्रिय ‘एनपीस अवार्ड २०१९ सामाजिक अभियन्ता तथा संचारकर्मी सरु सुनारले जितेकी छिन्। एक दशकभन्दा लामो समयदेखि सामाजिक न्याय र समानताका लागि क्रियाशील सुनारले एनपीस अवार्डको ‘अनटोल्ड स्टोरी’ ( नभनिएको कथा ) अवार्ड जितेको यूएनडीपी, एनपीस नेटवर्कले जनाएको छ।

पत्रकारिता मार्फत जातीय विभेद विरुद्ध र लैंगिक समानताको पक्षमा निरन्तर आवाज उठाएको भन्दै एनपिस नेट्वर्कले उनलाई ‘अनटोल्ड स्टोरी’ विधामा मनोनीत गरेको थियो।
बिशेष गरेर कथित जातका आधारमा मान्छेले मान्छेलाई गरिने विभेद, थिचोमिचो, अन्याय र अत्याचार विरुद्ध उनले एकल र संयुक्त रूपमा अभियान चलाउदै आएकी छन्। अहिले सफलताको शिखर चुमेकी सरु सुनारको बाल्काल र बैबाहिक जिवन भोगाई भने निकै कारुणीक छ । यस अवसरमा सहकर्मी प्रेम सुनारले उनै सञ्चारकर्मी सरु सुनार संग गरेको कुराकाकी –

तपाईको संक्षिप्त परिचय र सामाजिक सक्रियाता बारे बताई दिनुस न ?

मेरो घर स्याङ्जाको चापाकोट नगरपालिका वडा नम्वर २ सुन्टौलीटार बैंडिमा पर्दछ । मेरो बुबा भागिरथ र आमा कोपिला विककी कान्छि सन्तान हुँ म । म भन्दा अघि ३ दाजुहरू हुनुहुन्छ । गाउँमा हुने चरम जातिय विभेदले नै मलाई सामाजिक क्षेत्रमा सक्रिय हुने उत्प्रेरणा जगाएको हो । श्री गंगालाल माध्यमिक विद्यालय स्याङ्जा चापाकोटमा कक्षा पाँचमा पढ्दै थिएँ । संगै पढ्ने मिल्ने साथी कला पंगेनीको बुबा बित्नु भो । कला र म लगायत पाँच जना साथीहरू एउटै बेन्चमा बस्थ्यौं । किरियामा रहुञ्जेल दलितलाई छुन हुन्न रे । अनि कलाले मलाई संगै बस्ने बेन्चबाट अलग गरेर १३ दिनसम्म अर्को बेन्चमा बस्न लगाइन् ।
कक्षा ८ मा पढ्दा मेरो कक्षाकै साथीजानकी पंगेनीले टाउकोमा रुमाल राखिन् । ‘म कमिनीजस्तो देखिएँ’ भनेर मलाई हेर्दै इन्सल्ट गरिन् । मैले असाध्यै अपमानित महसुस गरे । हिनताबोध भो । विद्यालयका प्रधानाध्यापकसँग गुनासो राखेपछि कक्षा कोठामै ४५ मिनेट बेन्चमाथि उभ्याएर माफी मगाएँ ।

स्कुलमा धारा थिएन । कार्यालय सहयोगीले ल्याएको पानी १ बजे हाफ टाइममा मात्रै पिउन दिन्थे । अफिसमै गाग्रीबाट सारेर सबैले खान्थे । तर म लगायत स्कुलमा पढ्ने दलित विद्यार्थीहरूलाई शिक्षकले नै अलग्गै जगबाट माथिबाट हालिदिन्थे । हामीले दुई जातले अंजुली थापेर खानुपर्दथ्यो । पानी पोखेर लगाएको सर्ट भिज्थ्यो । भिजेको सर्टबाट भित्री कपडा पनि चिसो हुन्थे । अनि केटाहरूका लागि मजाकको पात्र बनाउथे । त्यो भनेको यौन दुर्व्यवहार थियो ।

एकपटक साह्रै तिर्खा लागेर अफिसमा कोही शिक्षक नभएको बेला आफै पानी सारेर खाएँ । कार्यालय सहयोगी बाहुन पाण्डे जातका थिए । उनले देखे । त सानो जातको भएर पनि यति हिम्मत गर्ने भनेर निकै गाली गरे । र मैले छोएको सबै पानी फालेर गाग्री घोप्ट्याउन लगाए । र आइन्दा गाग्री छोएको देखे भने स्कुलबाट हटाउने चेतावनी दिए । तर शिक्षकहरूले यति कुरा सुनेर पनि केही प्रतिक्रिया दिएनन् । अथवा मैले गल्ती गरेकै हो भन्ने बुझे । किनकी विद्यालयका सबै शिक्षक बाहुन थिए ।

अन्य दलितहरुले साथ दिएनन ?

मेरो जन्म गाउँमा बाहुन र जानजातीको बाहुल्यता छ । धारा, पधेंरा, मन्दिर सबै ठाउँमा दलितलाई निषेध गरिएको थियो । पधेंरामा गैर दलित हुँदासम्म दलितलाई जान दिइदैनथ्यो । पानी भर्नको लागि परै बसेर घण्टौंसम्म कुर्न पर्दथ्यो । गैर दलितले पानी भर्दै गर्दा हामी गयो भने जातीय गाली गजौच गरेर अपमानित गर्थे । धम्काउँथे ।

एकदिन पधेंरामा मैले भरिरहेको बेलामा वडा सदस्यभुजेल थरकी महिलाले आफ्नो गाग्री छोइयो भनेर गाली बेइज्जती गरिन् । ‘तँ अछुतले मेरो गाग्री छोइदिस्’ भनेर सुनपानी छर्केर गाग्री चोख्याइन् । र घोप्ट्याई दे भनेर मलाई आफ्नो गाग्री दिइन् । मैले सहन सकिन । सिलोटको गाग्री थियो । मैले पधेरोंको सिमेन्टमा पछारेर कुच्याइदिएँ । भनाभन भो । धारामा अरु दलित युवाहरू पनि थिए । उनीहरूले पनि ती महिलालाई निकै थर्काए । उनी लुसुक्क परेर गइन् । त्यसपछि भने हामी धारामा भयो कि उनीहरू आफै नजिक नआउने भए । निहुँ खोज्न कम भो ।

अन्य स्मरािणय कार्य छन कि ?

हजुर, २०५९ सालतिर हो । स्याङ्जाको किचनास गाविसमा कहिले पनि दलितको लागि बजेट आउदैनथ्यो । मैले गाविस सचिव कमल मानन्धरलाई दलितको नाममा बजेट छुट्याउनु भनी आग्रह गरें । त्यो गाविसको वडा नम्बर ३ पुष्प गाउँमा खानेपानी नै थिएन । अहिले पनि त्यो समस्या यथावत छ ।

मैले खानेपानीका लागि बजेट छुट्याउनुस् भन्दा कार्यालयभित्रै सचिवले धम्काए । कार्यालयभित्रै आएर फायल पल्टाउने, माग गर्ने भनेर उल्टै धम्काए । मेरो पनि पारा तात्यो । सिधै सर्टको कठालो समाते । तेरो कोठाको चाबी दिन्छस् कि तैले मलाई दुर्व्यवहार गरिस् भनौं भनेर मैले पनि छोडिन । अनि खुरुक्क कोठाको चाबी दियो । उसलाई बाहिर निकालेर चाबी लगाएँ । त्यो घटनाले एक हप्ता लुकेर बस्नुपर्‍यो। गैर दलितहरूले दलितले अधिकार माग्ने भन्दै धम्काए । गाविसमा तालाबन्दी गर्नेलाई सामूहिक बलात्कार गरौं भन्दै मलाई खोज्न थाले । कतै बलात्कृत पो हुन्छु कि भन्ने डरले निकै सतायो । राती घरमा ढुंगामुडा प्रहार गरे । म भने घरकै माथिल्लो तल्लामा लुकेर बसें । राती मात्रै दिसापिसाब गर्न बाहिर निस्किन्थे ।

यो घटनाले स्याङ्जा र कास्की जिल्ला तात्यो । संचार माध्यमको प्रमुख समाचार भयो । अन्त्यमा एक हप्तापछि जिल्ला विकास समितिले मलाई मेलमिलापको लागि भन्दै पत्र पठायो । मलाई सिंगो दलित समुदायको साथ भयो । दुई पक्ष बसेर गाविसको संयन्त्र समितिमा दुई जना दलितको प्रतिनिधित्व हुनेगरी र जिल्लाबाट आउने बजेटलाई दलित समुदायको लागि पनि छुट्याउने निर्णय भयो । अनि मलाई पनि संयन्त्र समितिमा राखियो । अनि सुरुमै दुई लाख ५० हजार बजेट छुट्याई पानीको अभाव र शौचालय नहुँदा दलितका बालबालिकाले स्वच्छ पानीको अभावमा बर्षेनी झेल्नुपरेको झाडापखाला, आउँ लगायत संक्रमण रोगबाट मुक्ति दिलाउन हरेक घरमा करिब ९५ घरमा शौचालय निर्माण गरिदिएँ ।

बाल्यपन कसरी बित्यो ?

म १६ वर्षकी थिएँ । आमा २०५९ सालमा आमाको मृत्यु भो । तीनै जना दाजुहरू घरमा हुनुहुन्नथ्यो । रोजगारको सिलसिलामा देशबाहिर थिए । मुटुको बिरामी आमाको मृत्यु भएपछि घरमा बुबा र म मात्रै रह्यौं ।
बुबा आमाको शव छोराले काँध हाल्नुपर्छ भन्ने मान्यता । दाजुहरू नभएपछि काका ठूलाबुबाका छोराहरूले काँध हाल्ने कुरा भए । मलाई त्यो कुरा सह्य भएन । म पनि आमाकै पेटबाट जन्मिएको सन्तान । दाइहरूको जस्तै आमाप्रतिको कर्तव्य मेरो पनि । मेरो आमालाई म हुँदाहुँदै अरुले काँध हाल्न पाउन्न । म आफै हाल्छु भने । अरुले मानिरहेका थिएनन् । मैले नै काँध हाले । घाट गएँ र आमालाई दागबत्ती दिएँ ।
मैले शव बोकेर दागबत्ती दिएको कुरा त्यतिबेला निकै हल्ला भो । एकाध व्यक्तिबाहेक धेरैले मेरो प्रशंसा गरे रे । त्यो आमालाई काँध हालेर छोरीले दागबत्ती दिने म नै जिल्लाको पहिलो भएँ रे । त्यसपछि छोरी पनि आमाबुबाको मलामी जाने र दागबत्ती दिने चलन शुरु भो । जसका छोरा छैनन् उनीहरूका छोरीहरू मात्रै नभई सिंगो समाजकै लागि म उदाहरण बने । त्यो घटनाले मलाई थप केही उदाहरणीय काम गर्न प्रेरणा मिल्यो ।

किशोरी अबस्था मै तपाईले हलो पनि जोत्नु हुन्थ्यो रे’ नि ?

हजुर मैले हलो जोत्नु बाध्यता पनि थियो र समाजलाई चुनौती दिनु पनि थियो । दाजुहरू सबै विदेश भएपछि घरमा हलो जोत्ने मान्छे बुबाबाहेक हरू भएनन् ।हली छुट्टै कोही थिएन । अनि संगै खेतमा काम गर्दा बुबा थाकेको बेला र नभएको बेला मकै रोप्दा हलो जोत्ने र धान छर्दा खोक पनि लाउथे । त्यो थाहा पाएर हजुरबुबा लगायत गाउँलेहरूबाट मैले मात्रै नभई बुबाले समेत निकै आलोचित हुनुपर्यो । छोरीले हलो जोतेपछि अन्नको स जाने र अलल्छिन् लाग्छ भन्ने अन्धविश्वास थियो । तर मेरो बुबाले कसैका कुरा सुन्नुभएन । अन्धविश्वास बिरुद्ध मलाई अगाडि बढ्न उहाँले सधैं हौस्याउनु भो । बुबाको दाहिने हात नै थिएँ म ।

बुबा सुनको काम गर्नुहुन्थ्यो । मैले पनि बुबाको सीप सिकें । त्यसैले मलाई पनि सुन चाँदीका विभिन्न गहना बनाउन समेत आउँछ । बनाउन थाले भने अहिले पनि म गहना बनाउन सक्छु । महिलाले लाउने फुलीका बिक्रा, सिक्री बनाउनका लागि बुबाको सहयोगी बनेर काम गर्थे ।
बुबाको चाहाना छोरीले धेरै गर्न सक्छन् । उनीहरूलाई आमा बुबाले साथ दियो भने केही फरक काम पनि गर्न सक्छन् भन्ने बुझाईले गर्दा मलाई निडर बनेर काम गर्ने प्रेरणा मिल्यो ।
स्कुले जिवनमा तपाईले भविश्य कुन क्षेत्रमा थियो ?
हुन त बुबाले मलाई डाक्टर बनाउने र सगरमाथा चढाउने सोच्नुभएको थियो । तर डाक्टर बन्नु र सगरमाथा चढ्नुभन्दा ठूलो काम जातीय र लैंगिक विभेद बिरुद्ध काम गर्नु हो भन्ने लाग्यो । अनि आफ्नै विद्यालय, गाउँ, धारा पधेंरा, बाटोघाटो जतासुकै भोग्नुपरेका जातीय र लैंगिक विभेदका घटनाले मलाई विद्यालय क्याम्पसको कोरो शिक्षा भन्दा सामाजिक चेतनाको दीयो बाल्ने काम महत्वपूर्ण लाग्न थाल्यो ।

पढाईभन्दा धेरै रुची छुवाछुत गर्ने र लैंगिक विभेद गर्नेलाई कार्वाही गराउनमै ठिक्क हुन थाल्यो । म किन दलित भएर जन्मिएँ भन्ने हिन भावना बढ्दै गएपछि शिक्षालाई अगाडि बढाउन सकिन । २०५७ सालमा एसएलसी दिएँ । २ विषयमा फेल भएँ । अनि फेरि परीक्षा दिनै मन लागेन । आफ्नै कक्षाका साथीहरूबाट भोगेको जातीय विभेद र यौन दुर्व्यवहारको घटनाले मैले १० कक्षामा त एक दिन पनि क्लास लिइन । भर्ना मात्रै भएकी थिएँ । कसरी पास हुनु ? ती साथीहरूको त मुखै हेर्न मन लाग्दैनथ्यो ।
अहिले भने म पढाइलाई निरन्तरता दिइरहेकी छु ।

एसएलसी पास गरेर कानून विषय पढिरहेकी छु । वकिल बनेर गरिब र बिपन्नको पक्षमा वकालत गर्ने ठूलो धोको छ ।

स्कुल पढ्दा मलाई लाग्थ्यो, म विद्रोह गर्नकै लागि जन्मिएकी हुँ । समाज परिवर्तनका लागि भनेर माओवादीले थालेको जनयुद्धले पनि मलाई आर्कषित गर्यो । माओवादी भएपछि शोषक, सामन्त, बलात्कारी, बहुविवाह गर्ने, छुवाछुत गर्नेलाई कार्वाही गर्न सकिन्छ भन्ने लाग्यो । अनि २०६१ मा मैले माओवादी पार्टी प्रवेश गरे । अनि गाउँमा बहुविवाह गर्ने, जातीय विभेद गर्नेको उजुरी गरिदिएँ । म माओवादीको अनेम संघ स्याङ्जा जिल्ला सदस्य हुँदा चार पाँच जनालाई कार्वाही गरियो । जेठी श्रीमतीलाई पिटेर दुई दाँत भाँच्ने एउटा श्रीमानलाई त रुखमा बाँधेर कालोमोसो दलेरै कार्वाही गरियो ।

जिन्दगीले फेरि अर्को मोड लियो पारिवारिक जिबनमा एकाएक दुर्घटना भयो आमा बित्नु भयो ।

जिवनका आरोह अवरोहहरु केहि छन कि ?

एकदम कहालि लाग्दो आरोह अवरोहरु छन । श्रीमानले अर्को बिवाहा गरे पछि मेरो जिबनले नितान्त फरक मोड लियो । माइतमा आमा मृत्यु र श्रीमानको कुटाइ, पिटाइ र अन्त्यमा अर्को बिवाहा गरे पछि सदाको लागि श्रीमानसितको दामपत्य जिबन टुङ्गियो । बच्चा सगै आफ्नो जिबनको सबै जिम्मेवारी काधमा आइपरे पछि एकल महिला, बेसहारा महिला भएर यो समाजमा बाच्नु र फेस गर्नु कति गारो रहेछ भन्ने महिले भोग्ने र समाजको पुरुषबादी सोच र संरचनालाइ बुझ्ने मौका पाए ।

धेरै आरोप र गलत सोचाइका मानिसहरुसंग फेस गर्दै जिबनमा एउटा अठोट लिए के नारीहरु बाच्न पुरुष नै चाहिन्छ ? के नारी आफ्नो खुट्टामा उभिएर आफु पुरुष सरह कमाउन सक्दिनन् ? सधै गल्ती पुरुषले गर्नी सजाय महिलाले भोग्नु ? गल्ती गर्ने पुरुष सधैं समाजमा शिर उठाउने नारी बिनागल्ती शिर झुकाएर मुख लुकाउने ? म भित्र यस्तै प्रतिशोधको भावनाले सताउन थाल्यो र आफ्नो जीवन खोज्न फेरि भौतारिन थाले मसंग कुनै बिकल्प नै थिएन न त मेरो कोहि सहारा नै

बैदेशिक रोजगारमा पनि जानु भयो क्यारे ?

हो , म मेरी छोरीको भविश्य खोज्दै उनै नाबालिका छोरीलाई छोडेर म मलेसिया गएँ । त्यहाँ चार वर्ष बसें । त्यहाँ बस्दा दलित एकता संजाल नेपाल मलेसिया स्थापना गरें । मलेसियामा दलालबाट फसेका, मेसिनबाट हातखुट्टा काटिएर अलपत्र परेका, नेपाल फर्किन नसकेका, झुठा मुद्दामा जेल परेका लगायत दुःखमा परेका नेपाली दाजुभाईको उद्धारका लागि नेपाली राजदुतावाससँग मिलेर काम गरें । जटिल समस्यामा परेका २० जनाको त उद्धार नै गरें । जसमा राजदुत डा।निरञ्जनमान सिंह बस्नेतले निकै ठूलो सहयोग गर्नु भो ।

२०७२ साल बैशाखमा नेपाल फर्किए । भूकम्प प्रभावितको राहत र पुनस्र्थापनाका लागि सिन्धुपाल्चोक, दोलखा, धादिङ, गोर्खा लगायत १५ जिल्लामा काम गरें । जसबाट दलित समुदायको भौगोलिक र आर्थिक अवस्थाको पहिचान गर्न सफल भएँ । नजिकबाट दलितका दुःख बुझ्ने मौका मिल्यो भूकम्पले ।

दुःखी र पीडितको लागि संचार माध्यम नै ठूलो कडी रहेछ । जातीय विभेदका मुद्दामा प्रहरीले साथ नदिएको कुराबाट प्रभाबित भएर म बाध्यताले पत्रकार बन्ने निधो गरे । न्यूज २४ मा एक वर्ष जातीय विभेद सम्बन्धी ‘सामाजिक सरोकार कार्यक्रम’ चलाए । जसबाट अन्तरजातीय विवाह गर्दा ज्यान गुमाएका अजित मिजारको मुद्दालाई बाहिर ल्याउन सफल भइयो । त्यस्तै कैलालीका जिल्ला शिक्षा अधिकारीले दलित समुदायका विद्यालय निरीक्षक विर बहादुर नेपालीलाई गरेको जातीय विभेदलाई पर्दाफाँस गरियो । पछि विर बहादुरले सर्वोच्च अदालतबाट न्याय पाए ।

टीभीबाट छोडेपछि रेडियो मिर्मिरेमा दुई वर्ष जातीय विभेद सम्बन्धी सामाजिक सरोकार कार्यक्रम चलाए । जहाँ बलात्कार, जातीय छुवाछुत, लैंगिक हिंसाका मुद्दा सयौं घटनाको पर्दा फाँस गरियो । सयौंले न्याय पनि पाए । जस्तै स्वयम्भूकी ९ वर्षीया दलित बालिकालाई बलात्कार गरि कोठमा झुण्ड्याइदिने बलात्कारीलाई सर्वश्वसहित जन्मकैदको फैसला भो । मेरै पहलमा बालिकाको शव उठाउनेदेखि आमाको कोठा भाडा तिरिदिनेसम्म काम भो ।

२०७५ फागुन ५ गते दलित भन्ने थाहा नपाएर दलित पत्रकारलाई कोठा नदिने घरबेटीलाई ९ दिन हिरासतमा राखेर कार्वाही गराउन सफल भईयो । यो मुद्दामा आईजीपी सर्वेन्द्र खनालले पनि निकै सहयोग गर्नुभो ।

दैलेखमा धारामा पानी छोएको निहुँमा लछिमा बिकलाई कल्पना न्यौपानेले हसियाले काटेर टाउको आठवटा टाका लगाएको थियोे ४ महिना सम्म फरार न्यौपानेलाई आइजिबी सर्बेन्द्र खनालको सहयोगमा दैलेख म पुगेर नै पक्राउ गर्न सफल भयौं ।

अहिले म दलित एकता संजाल नेपाल अन्तर्राष्ट्रिय समन्वय समितिको संयोजक, नेपाल सांस्कृतिक कलाकर्मी संघको उपमहासचिव, नारी आवाज फाण्डेशनको अध्यक्ष, सैघाली खबर मिडिया ग्रुपको संचालक समिति सदस्य थाहा अनलाइनको सह( सम्पादक भएर काम गरिरहेको छु ।

२०७५ सालमा मात्रै बलात्कार, जातीय विभेद र बोक्सी आरोपमा यातना दिने १८ जनालाई त कानूनी कार्वाही गराउन सफल भएँ ।
यस्तै मेरै पहलमा भूकम्पबाट भत्किएको नुवाकोटको बुधसिंह अन्नपूर्ण प्रावि जहाँ दलितमात्रै पढ्ने स्कुल निर्माण भो । यो अभियानमा विभिन्न देशमा बस्ने नेपालीहरूको ठूलो सहयोग रह्यो ।
पोखराको हेम्जामा ७२ वर्षीया वृद्धा र जन्मजात अपांगता भएकी छोरीको लागि घर बनाइदियौं ।
दलित समुदायमा जनचेतना र कानूनी परामर्श, जातीय हिंसाबाट पीडितलाई कानूनी न्यायका लागि काम गरिरहेकी छु ।
मिडिया र सामाजिक संजाल मार्फत रकम अभावमा उपचार गर्न नसकेका बिरामी, आर्थिक अवस्था निकै कमजोर हुँदा दुःख पाएका मानिस, हिंसा पीडित, जातीय विभेदमा परेकाहरूको न्याय र उपचारका लागि क्रियाशील छु । यस्ता अभियानमा धेरैले साथ दिने गरेका छन् । साथ दिनेहरू पैसा कम, मन ठूलो भएकाहरू हुने गरेका छन् । सम्पन्न भन्दा ठिकठिकै आर्थिक हैसियत भएकाहरूले बढी सहयोग गरेको देख्दा त लाग्छ, ‘मन भएन भने पैंसा भएर पनि के गर्नु ?
अबको सोच ?
मेरो जीवन नै दुःख र पीडामा परेका मान्छेका लागि समर्पित छ । बाचुञ्जेल जसको कोही छैन, उसैका लागि काम गर्ने इच्छा छ । ठूलै मान्छे हुने सपना छैन । असल छु, असल रहिरहने कोसिस गर्नेछु । धेरै ठूला महत्वकांक्षा नहुँदा मनमा अशान्ति पनि हुँदोरहेनछ । सुखी भन्दा खुसी छु, यसैमा आनन्द छ । जातीय छुवाछुत र लैंगिक विभेदरहित संसार देख्ने चाहाना छ । त्यो सम्भव पनि छ । मैले जहाँ जहाँ विद्रोह र बिरोध गरें, त्यहाँ परिवर्तन भएको आफैले देखेकी छु । त्यसैले परिवर्तन सम्भव छ र मानवता अझैं ज्युँदै छ भन्ने मेरो बुझाई हो ।

कठिन ती दिनहरु सम्झीनु पर्दा ?

मेरो जिबनको कथा एउटा ठुलै किताब बन्छ होला तर बिगतको भोगाइ र दुखाइ र पीडा अहिले मेरो लागि शक्ति भएको छ । सायद मेरो जिबनमा यति उतारचढाव नभएको भए आज म यहासम्म पुग्ने थिइन् ।

कुनै दिन गाउँमा ३० रुपैया दैनिकी पारिस्रमिकमा ज्याला मजदुरी गर्थे , मलेसियामा रोजगारीको लागि १२ घन्टा कम्पनिमा अन्य पुरुष सरह पशिना बगाउथे आज आएर महिले अन्तरास्ट्रिय अवार्ड समेत जिते।
खासगरि गरिन्छ ।

यूएनडीपीले शान्ति स्थापना र लैंगिक समानता लागि काम गर्ने एसिया अन्तर्गत नेपाल, फिलिपिन्स, अफगानिस्तान, श्रीलंका, पाकिस्तान, म्यानमार र इन्डोनेसियाका अभियन्ता र संस्थालाई हरेक वर्ष एनपिस अवार्ड प्रदान गर्दै आइरहेको एनपिस अवार्ड एक दशक भन्दा बढि भयो ।
खासगरी अनटोल्ड स्टोरी अन्तर्गत हरेक बर्ष नेपालबाट पनि एकजना महिलाले यो अवार्ड पाउने गरेका छन् ।
तर बिडम्बना अहिलेसम्म नेपालबाट नेपालमा रहेको जातीय बिभेद र छुवाछूतको विषय लिएर कुनै दलित महिलाले यो अवार्ड जितेको रेकर्ड रहेनछ ।
२०१९ को नेपालको तर्फबाट अन्तरास्ट्रिय यो अवार्ड जित्ने म पहिलो महिला बन्न सफल भए छु ।

नोमिनेसनमा नेपालबाट म लगाएत उमा थापामगर र रजनी कोइराला परेका थिए तर दुई जनालाई पछि पारेर म भोटबाट जित्न सफल भए ।यो मेरो जिबनको लागि ठुलो अवार्ड हो ।

महिले गरेको विभेद विरुद्ध र पीडितहरुको लागि ज्यानको आसा गुमाएर लाग्दाको मुल्यांकन पनि हो ।

र यसियामा पनि अन्य देशका क्षमतावान महिलाहरुको लेबलमा अब नेपालको दलित महिला पनि पुगे र छन् भन्ने उदाहरण हो ।
सिङ्गो समुदाय र सिङ्गो देशको प्रतिनिधित्व गरि यो अवार्ड जित्दा अझै थप हौसला र प्रेरणा मिलेको छ ।

म कहिले सोच्दिन थे हिजो आफ्नो जिबन सडकमा आएर एक छाक खान मजदुरी गर्ने म आज हजारौं पीडितको लागि लडेकी छु सयौलाइ न्याय दिएकी छु ।आज एउटा उदारणिय नारी बन्न सफल भएकी छु कि भन्ने लाग्द छ ।

प्रस्तुति : प्रेम सुनार
बुटवल

Attachments area

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !