प्रशंगवस : महोत्सवको नाम, बदनाम नगरौँ !

बागलुङ २०७६ पुस ६ । महोत्सव, वार्षिकोत्सव, धान्यपर्व लगायतका विशेष कार्यक्रमहरुको आयोजना गर्ने तर यस्ता धान्यपर्व वा महोत्सव आदि कार्यक्रमहरुको आयव्यय बारे सार्वजनिक चासो रहेपनि आयोजकले यसलाई गौणरुपमा लिने गर्दा समाजमा त्यस्को नकारात्मक प्रभाव परेको अनुभव गरिएको छ । महोत्सव वा धान्यपर्वहरुमा भएको आम्दानी र खर्च खुलस्त सार्वजनिक गर्ने वा गर्न लगाउनु पर्ने आवाज उठ्दै आएपनि नत सरकार, न स्थानीय निकाय न स्थानीय प्रशासनले नै यस सम्वन्धमा खासै चासो लिने गरेको छ । वर्षै पिच्छे धान्यपर्व, बर्षै पिच्छे महोत्सव गर्दै जाने त्यस्को यथार्थ हरहिसाव बाहिर ल्याउन हेलचक्राँई गर्दा आयोजक प्रति गम्भीर आशंकाहरु उव्जन थालेका छन् । मेला, महोत्सव वा धान्यपर्वमा भएको आम्दानी र खर्चको लेखाजोखा कसले गर्ने ? आयोजकहरुबाट प्रस्तुत गरिने आयव्ययमा कहाँ को कस्बाट कति आम्दानी भयो र कहाँ के मा कति खर्च भयो कस्लाई कति रकम दिईयो ? भन्ने कस्ले छानविन गर्ने ? आदित्यादि प्रश्नहरु अनुत्तरित नै रहने गर्छन ।

गल्कोट उद्योग वाणिज्य संघको आयोजनामा भएको गल्कोट महोत्सव २०७५ मा एकजना सिने कलाकारलाई महोत्सवमा आउन रु १ लाख ५० हजार दक्षिणा दिईएको निकै चर्चामा रह्यो । त्यस्तै विभिन्न ख्याति प्राप्त राष्ट्रिय एवं स्थानीय कलाकारहरुलाई के कति पारिश्रमिक दिईयो ? त्यस्को खुलस्त विवरण सार्वजनिक गर्न आयोजक हिच्किचाउ छन् । पर्यटन, उद्योग, कृषि आदि विभिन्न नारा दिईएर महोत्सव आयोजना गरिएपनि खासगरी गीत/संगीत प्रस्तुतिकै बाहुल्यता रहने गरेको यथार्थता कसैबाट छिपेको छैन ।

झण्डै डेढ दशक पहिले आयोजना गरिएको प्रथम गल्कोट घुम्टे महोत्सवको प्रशंगलाई लिउँ, त्यस्को आयव्यय अहिले सम्म सार्वजनिक गरिएको छैन र भरखरमात्र दोश्रो गल्कोट घुम्टे महोत्सव सम्पन्न भएको छ । महोत्सवलाई लिएर समीक्षा बैठक बस्ने भनिएपनि निश्चित तिथीमा सो बैठक बस्न नसकेकोमा एक सदस्यले चित्त दुखाएकी छन् ।

कुनैपनि महोत्सव वा धान्यपर्व आदि आयोजना गर्दा यति करोड संकलन वा यति करोडको व्यापार भएको समाचार बाहिर आउछ । स्थानीय उत्पादन बिक्री गरेर करोडौँको व्यापार भएको हो कि ? वा अन्य बन्दव्यापारबाट करोडौँका कारोबार भएको हो ? हँचुवाको भरमा यतिउति भन्ने आयोजकको चलन (प्रतिष्पर्धा) नै भएको देखिन्छ ।

अर्कोतिर पर्यटन पवद्र्धन महोत्सवको मुख्य पाटो भनेर प्रचार प्रसार गरिन्छ । यथार्थमा महोत्सवमा सहभागी हुनेहरु कति जनाले कुन कुन पर्यटकीय स्थलको अवलोकन गरे भन्ने कुरा गौण रहन्छ । उहि नाँच गान र सांगीतिक प्रस्तुती नै सर्वाधिक रोजाईको पाटो बन्ने गरेको बास्तविकता कसैबाट छिपेको छैन । महोत्सव यति हजारले अवलोकन गरे भन्ने कुरापनि बास्तविकता भन्दा निकै टाढाको आँकडा आयोजकले बताउने गरेको पाईएको छ ।

गाउँ गाउँमा मोटरबाटो पुगेको छ, गाउँगाउँमा व्यापारिक दुकानहरु प्रशस्तै खुलेका छन् । पछिल्लो समय सदरमुकाम बागलुङ बजार लगायत अन्य बजार वा व्यापारिक केन्द्रहरुमा व्यापार व्यवसायमा मन्दी छाएको व्यापारीहरु बताईरहेका छन् । यस्तो अवस्थामा महोत्सवमा यति उति करोडको आर्थिक कारोबार भयो भनी आयोजकले गुड्डी हाँकी रहँदा कसरी विश्वास गर्ने ?

देखिएको छ, महोत्सवमा आउने व्यापारी उद्योगीहरुले महोत्सव अवधिभर गरेको व्यापारले स्टलको भाडा तिर्न समेत नसकेको पीडा पोख्ने गरेको । अनि महोत्सवमा कसरी भयो करोडौँको आर्थिक कारोबार ?

महोत्सव गरौँ, धान्यपर्व गरौँ, पर्यटनको विकास गरौँ, कृषिजन्य उत्पादनको प्रदर्शन गरौँ, हेलिकप्टरमा उडौँ, पाराग्लाईडिङ् भरौँ, भीर मौरीको मह चाखौँ, डोका नाम्ला, डालाडाली, ठेकाठेकी देखाऔँ, लुप्त प्राय संस्कृतिलाई उजागर गरौँ तर यो बास्तविकतालाई नबिसौँ कि महोत्सवमा आउने दर्शकहरुको पहिलो (९० प्रतिशत) रोजाई सांगीतिक प्रस्तुती नै हो । होईन भने एक कलाकारलाई महोत्सवमा हजारौ रुपयाँ दक्षिणा दिएर किन ल्याउन पथ्र्यो र । सांगीतिक प्रस्तुतीकै लागी महोत्सवको नाम बदनाम नगरौँ ।

अहिले आएर महोत्सव वा धान्यपर्वको नाममा उठेको धनराशीको सदुपयोग वा दुरुपयोग बारे लेखाजोखा गर्ने निकायको आवश्यकता महसूस हुन थालेको छ । महोत्सव वा धान्यपर्वको आम्दानीको ठुलो भाग के मा खर्च हुन्छ ? आयव्यय सहि सलामत सार्वजनिक भएको छ वा छैन, कस्ले नियमन गर्ने ? अहिले सम्म भएका महोत्सव वा अन्य पर्वहरुको उपलव्धिबारे चिन्तन मनन गरौँ र यसलाई बढी सार्थक बनाउन लागौँ । अस्तु,

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !