रत्नलक्ष्मी माबिको हिरक महोत्सव : शिक्षाको विकास त्रिकोणात्मक सम्बन्धबाट हुन्छ – उपमेयर काउचा

कमल पौडेल, गल्कोट (रिघा) २०७६ मंसिर २७ । गल्कोट नगरपालिकाका उपमेयर रेनुका काउचाले शिक्षाको विकास त्रिकोणात्मक सम्बन्धबाट हुने बताएकी छन् । रत्नलक्ष्मी माध्यमिक विद्यालय गल्कोट नगरपालिका ११, रिघाको हिरक महोत्सवमा सम्बोधन गर्दै काउचाले शिक्षक, विद्यार्थी तथा अभिभावकको संयुक्त प्रयासबाट मात्रै शैक्षिक गुणस्तर वृद्धिहुने बताईन् ।

उपमेयर काउचाले पहिलेका अभिभावक शिक्षित नभएपनि वच्चा पढाउन तल्लीन रहेको अहिले अभिभावक आफै पढेलेखेको भएकोले थप जिम्मेवार हुनुपर्ने बताईन् । आफैले पढेको विद्यालयमा प्रमुख अतिथि बनेर पुगेकी उपमेयर काउचाले विद्यालयको भौतिक तथा शैक्षिक स्तरवृद्धिको लागी सवै एकजुट हुन आह्वान गरिन ।

त्यस्तै विद्यालयले बैदेशिक रोजगारीको सिलसिलामा रहेर हाल महोत्सवमा आएका पूर्व विद्यार्थी तथा सहयोगीहरु संग राखेको शैक्षिक अन्तरक्रियामा उपमेयर काउचाले सवै पूर्व विद्यार्थीहरु विद्यालयको प्रगतिको लागी एकतावद्ध हुनेवेला आएको भन्दै हिँजो के भयो छोडेर आजैवाट नयाँ योजनाका साथ विद्यालय विकासमा लाग्न अनुरोध गरिन ।

सो अन्तरक्रियामा डा. भिम बहादुर पुन, सोम श्रीस, मेजर जीवन पुन, सानोरिघा आ.वि.का प्रधानाध्यापक नरेन्द्र पुन लगाएतले शैक्षिक गुणस्तर वृद्धिको लागि सुझाव सहित धारणा व्यक्त गरेका थिए । सो कार्यक्रममा प्रधानाध्यापक तुल बहादुर श्रीसले विद्यालयको भावि कार्ययोजना प्रस्तुत गरेका थिए । सोहि अवसरमा गोर्खा व्रिटिस वेयलफेयरको तर्फवाट विद्यालयका शिक्षक नारायण पौडेललाई उत्कृष्ठ शिक्षकको रुपमा सम्मान समेत गरिएको थियो।

अन्तरक्रिया कार्यक्रम विद्यालय व्यावस्थापन समितिका अध्यक्ष तारा बहादुर पुनको अध्यक्षता तथा शिक्षक नारायण पौडेलको सहजिकरणमा सम्पन्न भएको थियो।

उता महोत्सवको अवसरमा खुल्ला फुटवल प्रतियोगीता, विद्यालय स्तरीय छात्र तथा छात्रा भलिवल प्रतियोगीताको प्रथम चरणका कार्यक्रमहरु सम्पन्न भएका छन्। हिरक महोत्सवको अवसरमा सहयोग गर्ने चन्दादातालाई पञ्चेवाजा, पञ्चकन्या सहित सम्मान गरिएको छ। त्यस्तै लोक गायक तथा मोडल प्रकाश सपुत, हाँस्य कलाकार निर आले लगाएतले आआफ्नो प्रस्तुति पस्केका थिए । तेश्रो दिनको कार्यक्रममा आज संघिय साँसद देवेन्द्र पौडेल, कलाकारहरु देवी घर्ति लगाएतको सहभागिता रहने विद्यालयले जनाएको छ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !