ढोरपाटन-म्याग्दी जोड्ने दोगादी देखी तल्लो भाल्ने सम्मको १० किलोमिटर सडक कालोपत्रे गरिदै !

सुमन सुनार, बुर्तिबाङ २०७६ मंसीर २६ । ढोरपाटन नगरपालिका वडा नं. ६ को दोगादी, गादीखोला, चामिद्धवार, छ्यान्तुङ, हुँदै म्याग्दी जोड्ने सडकको दोगादी देखी तल्लो भाल्ने सम्मको १० किलोमिटर खण्ड कालोपत्रे हुने भएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालय, गण्डकी प्रदेशको २५ करोड २६ लाख ८० हजार १ सय ८२ रुपैयाँ बजेटमा सडक स्तरोन्नती संगै कालोपत्रे गर्न लागिएको हो ।

गण्डकी प्रदेशले सञ्चालन गरेको “एक निर्वाचन क्षेत्र, एक सडक आयोजना” अन्तर्गत बागलुङ क्षेत्र नं. २ “ख” बाट निर्वाचित स्वर्गिय सांसद टेक बहादुर घर्ति मगरको विशेष शिफारिसमा सो सडक कालोपत्रे थालिएको जनाइएको छ । ठेक्का प्रक्रिया मार्फत, श्रेष्ठ, गल्भा, क्याराभन जेभी, गोपीकृष्ण नगर – ७ काठमाण्डौले सडक कालोपत्रेको जिम्मा लिएको छ । कालोपत्रेको काम २ वर्ष भित्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको निर्माण कम्पनीका सहायक ईन्जीनियर रबिन्द्र बहादुर सिजापतीले जानकारी दिए । निर्माणमा कुनै अबरोध नभए तोकिएको समय भन्दा छिटै काम सक्ने लक्ष लिएको उनको भनाई छ ।

ढोरपाटनलाई म्याग्दीसंग जोड्ने उक्त सडक हाल सम्म ढोरपाटन नगरपालिका वडा नं. ६ गादीखोला देखि माथिल्लो भाल्ने भन्ने स्थान सम्म साढे १२ किलोमिटर मात्रै निर्माण गरिएको र बाँकी निर्माणको क्रममा रहेको वडा अध्यक्ष जीवन पुनले जानकारी दिए । वडा अध्यक्ष पुनका अनुसार, करिब ९ वर्ष अघि देखि सो सडक निर्माण थालिएको थियो भने गाउँ परिषद्, जिल्ला विकास समिति, क्षेत्रिय सडक डिभिजन, सांसद विकास कोष र स्थानियको समेत लगानीमा १ करोड ९० लाख रुपैँया भन्दा बढि रकम सो सडक निर्माणमा खर्च भइसकेको छ । सडकको ट्रयाक खुले पनि बर्षातमा हिलाम्मे र हिउँदमा धुलाम्मे हुनुका साथै विभिन्न घाटमा पक्की पुल नहुँदा आवतजावतमा निकै समस्या खेप्दै आएका स्थानिय बासिन्दा सडक कालोपत्रे हुने भएपछि हर्षित भएका छन् ।

सो सडक खण्ड अन्तर्गत पर्ने दोगादी घाट, गादीखोला घाटमा पक्की पुल निर्माणको तयारी समेत भईरहेको ढोरपाटन नगरपालिकाका नगर प्रमुख देव कुमार नेपालीले बताए । पक्की पुल निर्माणका लागि डिपिआर पनि भईसकेको बताउँदै नगर प्रमुख नेपालीले छिटो भन्दा छिटो टेण्डर गरी निर्माण कार्य सञ्चालनका लागि प्रदेश सरकारसंग पहल गरिरहेको बताए ।

सो सडक कालोपत्रे भएपछि वडा नं. ६ को दोगादी, मोराङ, गादीखोला, खानी, चामिद्धवार लगायतका स्थानका स्थानिय प्रत्यक्ष लाभांवित हुने नेपालीले बताए । सडक कालोपत्रेका लागि स्वर्गिय सांसद टेक बहादुर घर्तिको विशेष पहल रहेको भन्दै नगर प्रमुख नेपालीले सांसद घर्तिको सपनालाई साकार पार्नका लागि सबैको भरपुर साथ र सहयोग आवश्यक रहेको बताए । साथै स्वर्गिय सांसद घर्तिको संझनामा उक्त सडक खण्ड अन्तर्गत कुनै सुगम स्थानमा शालिक समेत निर्माण गरिने नगर प्रमुख नेपालीको भनाई थियो ।

बुधवार एक कार्यक्रमका बिच नगर प्रमुख नेपाली र स्वर्गिय सांसद घर्तिकी धर्मपत्नी सुनमायाँ घर्तिद्धारा संयूक्त रुपमा शिलन्यास गरी सडक कालोपत्रेको काम सुरु गरिएको छ । सडक निर्माण सरोकार समितिका अध्यक्ष उमेश कुमार बुढा मगरको अध्यक्षता रहेको शिलान्यास कार्यक्रममा वडा नं. १ वडा अध्यक्ष चित्र बहादुर भण्डारी, वडा नं. ६ का वडा अध्यक्ष जीवन पुन, ढोरपाटन नगर कार्यपालिका सदस्य गोकुल शेरचन लगायत स्थानिय समाजसेवी बुद्धिजिवीहरुको विशेष उपस्थीती रहेको थियो ।
बोम बहादुर बुढाको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन भने दुर्गा बहादुर भण्डारीले गरेका थिए ।

सो सडक खण्डको स्तरोन्नतीका लागि यसै आर्थिक वर्षमा भौतिक प्ूर्वाधार विकास मन्त्रालय, गण्डकी प्रदेशबाट थप रु. १ करोड ५० लाख बजेट विनियोजन भएको वडा अध्यक्ष पुनको भनाई छ । उक्त बजेटले माथिल्लो भाल्ने देखि करिब ५ किलोमिटर माथि सम्म ट्रयाक खोल्न सकिन्छ भन्ने अपेक्षा गरिएको पुनले बतए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !