नगर प्रमुख नेपालीको सहयोगमा देवीस्थानका अग्नि पीडित कुँवरको घर पुनःनिर्माण !

सुमन सुनार, बुर्तिबाङ २०७६ मंसीर २३ । आगलागिका कारण घरबास बिहीन बनेका निसीखोला गाउँपालिका वडा नं. १ देविस्थानका छविलाल कुँवरको परिवार आफ्नै घरमा बस्न पाउने भएका छन् । ढोरपाटन नगरपालिकाका नगर प्रमुख देव कुमार नेपालीको आर्थिक तथा भौतिक सहयोगमा घर पुनःनिर्माण गरिदिएपछि कुँवर परिवार करीब ४० दिन पछि आफ्नै घरमा बस्न पाउने भएका छन् ।

गत कार्तिक १२ गते भाईटीकाका दिन, रातको समयमा कुँवरको घरमा आगलागी हुँदा घर जलेर नष्ट भएको थियो । आगलागी भएको थाहा पाए लगत्तै ढोरपाटन नगरपालिकाका नगर प्रमुख नेपाली घटना स्थलमा पुगेका थिए । सोही अवसरमा नगर प्रमुख नेपालीले आगलागी पीडित कुँवरको घर निर्माण गरिदिने प्रतिवद्धता अनुसार अग्नि पीडित कुँवरको घर निर्माणका लागि नगद रु. १ लाख, ५० बोरा सिमेन्ट, आवश्यक जस्ता पाता सहित अन्य सहयोग गरेका थिए । नगर प्रमुख नेपालीको सहयोगमा अग्नी पीडित कुँवरले ४ कोठे घर निर्माण गरेका हुन् । करीब ४० दिनमा उक्त घर निर्माण सम्पन्न भएको अग्नि पीडित कुँवरले बताए ।

सो घर निर्माण सम्पन्न भएपछि आईतबार ढोरपाटन नगरपालिका नगर प्रमुख नेपालीले घरको स्थलगत अनुगमन गरेका छन् । नेपालीले आफुले सोँचे अनुसारको घर निर्माण भएको भन्दै खुशी व्यक्त गरे । उनले यस्ता खालका विपत्ती जो कसैलाई पनि पर्न सक्ने भन्दै विभिन्न कारणले विपत्तीमा परेका आफ्ना समुदायका नागरिकहरुको पुनःस्थापनाका लागि सबैले आ–आफ्नो स्थानबाट सहयोग र हातेमालो गर्न आवश्यक रहेको बताए ।

अग्नि पीडित कुँवरले घरबास विहीन बनेको अवस्थामा घर निर्माणका लागि निकै ठुलो सहयोग गरेको भन्दै नगर प्रमुख नेपालीलाई धन्यवाद ज्ञापन गर्दै भने, हाम्रोे विपत्तमा, आफ्नै जस्तो सम्झेर सहयोग गर्नुभयो, तर हामीले आफ्नो तर्फबाट धन्यवाद बाहेक अरु केहि दिन सकेनौँ ।
घर निर्माण सम्पन्न भएपनि केही व्यवस्थापनको काम बाँकी रहेकाले केही दिनमा घरमा सर्ने तयारी भईरहेको कुँवरको भनाई छ ।
गत कार्तिकमा भाईटिकाका दिन राती अचानक मैनबत्ती सल्कीएर कुँवरको घरमा आगलागी भएको थियो । आगलागीका कारण घर जलेर नष्ट भएपछि कुँवर परिवार आफन्तकोमा आश्रय लिएर बस्दै आएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !