बागलुङ भिङगिठेको सडक दुर्घटनालाई लिएर गुल्मीमा दुर्घटना न्यूनीकरण सम्वन्धी अन्तरकृया !

प्रेम सुनार, गुल्मी २०७६ मंसिर २३ । सवारी दुर्घटना भयावह बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय गुल्मीले न्यूनीकरणका लागि सरोकारवालालाई डाकेर सबै पक्ष जिम्मेवार रहन अपिल गरेको छ । केहि दिन अघि कुल पुजामा गुल्मीका १६ जनाको ज्यान जाने गरि छिमेकी जिल्ला बागलुङमा भएको जिप दुर्घटना लगत्तै जिल्ला प्रशासन कार्यालयले अन्तरकृया कार्यक्रम गरि गुल्मीका सरोकारवाहरुलाई न्युनीकरणका लागि प्रतिवद्धता पत्रमा हस्ताक्षर समेत गराएको छ ।

जिल्लामा हुने सवारी दुर्घटनाको स्थिति र न्यूनिकरणका उपायका सम्बन्धमा सदरमुकाम तम्घासमा गरिएको अन्तरकृयामा जिल्लास्थित सम्पूर्ण राजनीतिक दल, विभिन्न संघ संस्था, पत्रकार, यातायात व्यवसायी लगायतका सरोकारवालाहरुले दुघटना न्यूनिकरणमा प्रतिवद्धता जनाएका हुन् ।

दुर्घटना न्यूनिकरणको लागि विभिन्न निर्णयहरु समेत गरिएको छ । जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरीको सहयोगमा गाउँ, समुदाय र विद्यालय स्तरमा ट्राफिक चेतनामुलक कार्यक्रम संचालन गर्ने निर्णय गरिएको छ ।

ट्राफिक नियमको पूर्ण पालना गर्दै छतमा यात्रु नराख्ने, सवारी चलाएको समयमा मोबाइल फोनको प्रयोग नगर्ने, ट्रक लगायतका ढुवानीका सवारीमा यात्रु नराख्ने, सवारी साधनलाई आवश्यक मर्मत गरेर मात्र चलाउने निर्णय गरिएको छ । त्यस्तै रुट परमिट नलिएका कुनैपनि प्रकारका सवारी साधनहरुको संचालनमा पूर्ण रोक तथा घुम्ति बाटोहरुमा सवारी साधन पार्कीङ नगराउने, जिल्लाका सडकहरुमा राखिएका जथाभावी निर्माण सामाग्री र छाडा चौपायाहरुलाई नियन्त्रण गर्ने लगायतका निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत लक्षमण पाण्डेले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय समितिका प्रमुख लक्षमण पराजुलीले सानो–सानो लाहावरबाहीले पनि दुर्घटना हुने गरेको भन्दै चालक र व्यवसायीलाई तालिम आवश्यक रहेको बताए । रेसुङ्गा नगरपालिकाका प्रमुख डिल्लिराज भुसालले दुर्घटना न्यूनिकरणको आ–आफ्नो ठाउँबाट सबैले प्रयास गर्नुपर्ने धारणा राखे ।

पैसाले किनेको सवारी चालक अनुमति पत्रले कहिल्लै पनि राम्रो नगर्ने भन्दै उनले चालक र यातायात व्यवसायीले अनुशासनपूर्वक काम गर्नुपर्नेमा जोड दिए । नेपाली काङ्ग्रेसका सभापति भुवन प्रसाद श्रेष्ठले सवारी चालकहरुलाई अनिवार्य रुपमा पोशाकको व्यवस्था गर्नुपर्ने बताए । नेकपाका पार्टी सचिव वीरबहादुर कार्कीले ट्राफिक प्रहरीको चेक जाँच औपचारिकतामा मात्रै सिमित हुन नहुने सुझाव दिए ।

जिल्ला प्रहरी प्रम्ुख प्रहरी उपरीक्षक राजेन्द्र सिंह खड्काले सवारी दुर्घटनाले धेरैको मन दुखी पारेको र दुर्घटना बढ्दो हु्ँदै आएकोले न्युनिकरणका लागि समुदायको सहभागिता आबश्यक रहेको बताए । कार्यक्रमका अध्यक्ष प्रम्ुख जिल्ला अधिकारी कोशहरि निरौलाले दुर्घटना न्युनिकरणमा प्रहरीको मात्र मुख नताकी सबै पक्ष जिम्मेवार भएर लाग्नु पर्नेमा जोड दिए ।

जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रनानि प्रविण पोखरेलले आर्थिक बर्ष २०७३÷०७४ मा २१ वटा सवारी दुर्घटना हुँदा ११ जना मानिस मृत्य्ु भएको र ४२ जना घाईते भएको बताए । त्यस्तै दोश्रो आर्थिक बर्षमा १४ वटा सवारी साधान दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको र ५० जना घाईते भएको , तेश्रो आर्थिक बर्षमा २९ वटा सवारी दुर्घटनामा १९ जनाको मृत्य्ु र ४६ जना घाईते भएका छन ।त्यस्तै यस आर्थिक बर्षको पछिल्लो चार महिनामा १० वटा सवारी साधान दुर्घटना हुँदा ६ जनाको मृत्यु १४ जना घाईते भएका छन । गुल्मीबाट गएर बाग्ल्ुङ्गमा दुर्घटना भएको जिपका मृतकको सख्या जोडने हो भने पछिल्लो चार महिनामा ३० जनाको मृत्यु् भएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !