रत्नलक्ष्मी माबिको स्तरबृद्धिकोलागी डेढ करोड वोल रकम प्राप्त !
हिरक महोत्सवको तयारी अन्तिम चरणमा, महोत्सवको उद्घाटन प्रदेश मन्त्री गुरुङले गर्ने !

कमल पौडेल, गल्कोट २०७६ मंसिर २३ । रत्नलक्ष्मी माध्यमिक विद्यालय गल्कोट नगरपालिका ११ रिघाको हिरक महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । महोत्सव सम्पन्न गर्न तथा विद्यालयको शैक्षिक स्तरवृद्धिको लागि हाल सम्म सञ्चालित आर्थिक अभियानवाट १ करोड ५१ लाख वोल रकम प्राप्त भएको आर्थिक समितिका संयोजक धन बहादुर श्रीसले जानकारी दिए । यहि मंसिर २५ गते देखि २९ गते सम्म सञ्चालन गर्ने हिरक महोत्सवको लागि घरदैलो कार्यक्रम सञ्चालन गरिरहेको विद्यालयले आईतबार मुल समारोह सञ्चालन समितीको वैठक सम्पन्न गरेको छ ।

बैठकले हाल सम्मको कार्यप्रगतिको समिक्षा, घरदैलो तथा प्रचार प्रसारलाई थप तिव्रता दिने, कार्यक्रम अवधिभर गरिने कामको कार्यविभाजन सहित खटनपटन चुस्त बनाउने लगाएतका निर्णय गरेको प्रचार संयोजक शिक्षक नारायण पौडेलले जानकारी दिए ।

बैठकमा गल्कोट नगरपालिकाका उपप्रमुख रेनुका काउचा, विद्यालयका पूर्व प्रधानाध्यापक दामोदर शर्मा, पूर्व गाविस उपाध्यक्ष गंगा भुजेल लगाएतले सुझाव सहित कार्ययोजना तय गरेका थिए । बैठक विद्यालय व्यावस्थापन समितिका अध्यक्ष तारा बहादुर पुनको अध्यक्षता तथा प्रधानाध्यापक तुल बहादुर श्रीसको सहजिकरणमा सम्पन्न भएको थियो।

महोत्सवको अवसरमा खुल्ला फुटवल प्रतियोगिता सहित विद्यालय स्तरीय छात्र, छात्रा भलिवल, म्याराथुन दौड लगाएत विविध वौद्धिक कार्यक्रमहरुको आयोजना गरिएको छ । महोत्सवको उद्घाटन गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्रि किरण गुरुङले गर्ने कार्यक्रम रहेको छ ।

महोत्सव अवधिमा ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरु देवि घर्ति, जुना श्रीस, कुलेन्द्र विश्वकर्मा, प्रकाश सपुत लगाएतको सहभागिता रहने विद्यालयले जनाएको छ। ऐतिहासिक रुपमा सम्पन्न गर्न लागेको सो कार्यक्रममा पूर्व प्र.अ., शिक्षक, विद्यार्थी, सहयोग दाता, विभिन्न समितिका पूर्व पदाधिकारी लगाएतलाई सम्मान गर्ने गरि कार्यक्रम तय गरिएको प्रचार संयोजक नारायण पौडेलले जानकारी दिए ।

सहकर्मी मित्रलाल खरेलका अनुसार, रत्नलक्ष्मी माबि विक्रम सम्वत २०१६ सालको माघ १९ गते बुधवार श्रीपन्चमीको दिन स्थानीय बासिन्दाको सक्रियतामा रिघा प्राईमरी स्कूलको नाममा स्थापना भएको थियो । २०१७ सालमा तत्कालीन शिक्षा निरीक्षकको कार्यालय, गुल्मीबाट वार्षिकरुपमा अनुदान रकम रु २१०० । पाउनेगरी प्राईमरी स्कूलको स्थायी स्वीकृति प्राप्त भएको थियो । २०२७ सालमा यसको नाम रत्नराज्यल्क्ष्मी प्राईमरी बिद्यालयमा परिणत भएको थियो । २०३२ साल मंसिर ३० गते विद्यालयको स्तरबृद्धि गरी निम्न माध्यमिकक तह कक्षा ६ र ७ सन्चालन गर्ने स्वीकृति प्राप्त भएको थियो ।

समयक्रमका सँगै उच्च शिक्षाको माग बढेपछी २०४५ सालमा माविस्तरमा बृद्धि गर्ने निर्णय सँगै कक्षा ८, ९ र १० कक्षा सन्चालन भयो र यसले २०५२ सालमा माबिको स्वीकृति पायो भने स्थानीय आवश्यकतालाई मध्यनजर गर्दै २०६६ साल साउन महिना देखी कक्षा ११ र १२ सन्चालन गर्ने निर्णय बमोजिम शिक्षा र मानविकी अन्तरगत विभिन्न विषयको पठनपाठन सुरु भएको हो । हाल शिक्षाशास्त्र, मानवीकी र व्यवस्थापन विषय अध्यापन भैरहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !