रेशम खेतीमा गुल्मीमा स्थानीय तहहरुको चासो !

अनिश शर्मा गैरे, गुल्मी २०७६ मंसिर २२ । गुल्मीका स्थानीय तहहरुले रेशम खेती तर्फ चासो देखाएका छन् । गुल्मीको मुसिकोट नगरपालिका, छत्रकोट गाँउपालिका, रुरु गाँउँपालिका सहितका स्थानीय तहहरुले रेशम खेतीको बिषयमा अध्ययन तथा परामर्श सुरु गरेका हुन् ।

मुसिकोट नगरापलिका, रुरु गाँउपालिका, छत्रकोट गाँउपालिका, गुल्मीदरवार गाँउपालिका, रेसुङ्गा नगरपालिका लगायतका क्षेत्रमा किम्बु खेती पनि राम्रो हुने भएको कारण रेशम खेतीको सम्भावना रहेको छ ।

यी क्षेत्रहरुमा जग्गा पनि बाँझो रहेको कारण खाली जग्गाहरुमा किम्बु लगाउनाले जग्गाको सदुपयोग सँगै रेशम खेतीबाट स्थानीय तहको आर्थिक वृद्धि पनि गर्न सकिन्छ ।
नेपाल कम्युनिष्ट पार्टीका नेता तथा पुर्व कृृषि मन्त्री हरि पराजुली, प्रदेश नम्बर ५ का बिशेषाधिकार समितिका संयोजक कमलराज श्रेष्ठ सहितको टोलीले पनि गुल्मीमा रेशम खेतीको बिषयमा स्थानीय सरकारहरु सँग छलफल तथा परामर्श पनि प्रदान गरेका छन् ।

रेशम खेतीको बिज्ञ समेत रहेका पुर्व मन्त्री पराजुलीले गुल्मीमा प्रशस्त मात्रामा खाली जग्गाहरु रहेका र अधिकांश क्षेत्रमा किम्बु खेती गर्न सकिने भएको कारण रेशम खेतीको राम्रो सम्भावना रहेको बताए ।

मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले रेशम खेती गरी नगरपालिकाको आर्थिक बृद्धि गर्ने गरी योजना बनाएको र त्यसको अध्ययन सुरु गरेको जानकारी दिए । उनका अुनसार नगरपालिका भित्रमा करिब ६ हेक्टर क्षेत्रफलमा रेशम खेती गर्न सकिने बताए ।

छत्रकोट गाँउपालिका अध्यक्ष मधुकृष्ण पन्तले गाँउपालिकाले एक संयन्त्र नै बनाएर रेशम खेतीको बिषयमा काम सुरु गरेको बताए ।

‘गाँउपालिकाका खाली भएका जग्गाहरुमा किम्बु खेती गर्न कृषकलाइ उत्साहित बनाएर रेशम खेती गर्ने योजना छ’ उनले भने ‘एक संयन्त्र बनाएर त्यसैबाट रेशम खेतीको पहल सुरु गर्दै छौ’

उनले यस प्रकारको खेती सम्बन्धी काम गर्न एक समिति नै गठन गरि अघि बढीएको जानकारी दिए ।

गुल्मी सहित अर्घाखाँची तथा पाल्पा गरी तीन जिल्लाको ५ हजार हेक्टर भन्दा बढी क्षेत्रफलमा रेशम खेतीको राम्रो सम्भावना रहेको बताइन्छ ।

नेपालमा रेशम खेतीको विकास कार्य २०३२ सालदेखि कृषि विभाग अन्तरगत व्यवसायिक किट विज्ञान आयोजनाको रुपमा थालनी गरिएको हो । श्री ५ महाराजधिराज सरकारबाट २०४२ सालमा मध्यमाञ्चल विकास क्षेत्रको अनौपचारिक भ्रमण निर्देशन भए बमोजिम हाल अधिराज्यका ४२ जिल्लाहरुमा रेशम खेती कार्यक्रम सञ्चालन भई काभ्रेपलान्चोक, स्याङ्जा, पाल्पा र इलाम जिल्लाहरुमा कृषक स्तरमा समेत यो उत्पादन भइरहेको छ ।

तराई क्षेत्रमा यसको खेतीका लागि करिब १००–७५० मिटर र पहाड ७५० मिटर देखि १५०० मिटरमा अवस्थित भुभाग हरुमा उपयुक्त मानिएको छ । रेशम खेतीको लागि चाहिने मिल्दो वातावरण तथा उपयुक्त भुभागहरु हुँदा हुँदै पनि हाम्रो देशमा यसको खेती र व्यवसाय फस्टाउन सकिरहेको छैन । यदि हाम्रो देशमा रहेका जग्गा जमिन जहाँ अरु खेती गर्न सकिदैन वा राम्रोसँग उब्जनी हुँदैन त्यस्तो ठाउँमा रेशम किराको आहारको रुपमा प्रयोग हुने किम्बुका विरुवाहरु लगाई रेशम खेती गर्न सकिन्छ ।
खेर गइरहेका जमिनबाट बहुमुल्य रेशमको धागो उत्पादन गर्नुको साथै अर्कोतर्फ धागो निकाली सकिएका कोयाभित्र रहेको प्युपाहरु घरपालुवा जनावरहरुलाइ खुवाएर पौष्टिक आहारको पुर्ति पनि गर्न सकिन्छ ।

अहिलेको सन्दर्भमा हेर्ने हो भने दिनानुदिन हजारौं संख्यामा युवा पिढीहरु विदेश तर्फ पलायन भइरहेको अवस्थामा यो खेतीबाट मनग्य आम्दानी गर्न सकिन्छ । यस प्रति स्थानीय सरकारले अध्ययन मात्र होइन उत्पादन र व्यवस्थापनमा पनि जोड दिनुपर्दछ । र जनताहरुलाइ यस प्रति उत्साह जगाउनु पर्दछ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !