रिडी – रुद्रवेणी – वामीटक्सार जोडने चालिस वर्ष बुढोे लाइफलाइन सडक लापरवाहीले थला !

अनिश शर्मा गैरे, गुल्मी २०७६ मंसिर १९ । गुल्मी जिल्लाकै लाइफलाइन मानिने देशकै व्यस्त मध्येको ग्रामिण सडक रिडी – रुद्रवेणी – वामीटक्सार सडक खनिएको ४० बर्ष पुग्नै लाग्दा समेत हेला हुन छोडेको छैन । धेरै पटकका निर्वाचित जनप्रतिनिधिका प्रतिबद्धताहरु खेर गएका छन् । सरकारको सुस्तता र ठेकेदार कम्पनीको लापरवाहीका कारण सडकको मुहार त फेरीन सकेको छैन नै, सडक प्रभावित जनताहरुको जीवनस्तर पनि सहज हुन सकेको छैन ।

रिडी देखी वामीटक्सार सम्मको सडकको कुल क्षेत्रफल जम्मा जम्मी ४६ किलोमिटर हो । जसमध्ये अधिकांश सडक ग्राभेल भइसकेको छ । भने १५ किलोमिटर कालोपत्रे पनि भइसकेको छ ।

तर ग्राभेल गरेको सडक भत्किएर पुरानै अवस्थामा फर्किएको छ । गाडी गुड्दा हुने धुलोले वरीपरी कोही कसैलाइ देख्न र चिन्न नसकिने अवस्था सिर्जना हुन्छ ।

यो सडक र रीडि – तम्घास सडक एकै बर्ष २०३८ मा खनिएका हुन् । सदरमुकाम तम्घास जोड्ने सडक पुर्ण रुपमा कालोपत्रे भएको बर्षै भइसक्यो । तर यो सडक भने हेला हुन छोडेको छैन ।

यस क्षेत्रका सांसदहरुले हरेक चुनावमा प्रतिबद्धता ब्यक्त गर्दछन् कि सडक हामी निर्वाचित भएको दुइ बर्षमा कालोपत्रे भइसक्छ भनेर । चुनाव सम्पन्न भएको दुइ बर्ष पुगीसकेको अवस्थामा अझै पनि दुइ बर्षमा पिच हुन्छ भनेर भन्न छोडिएको छैन । यो परम्परा धेरै पहिलेबाट चलिआएको हो । यस अघि निर्वाचित जनप्रतिनिधिहरुले चलाएको चलनलाइ अहिलेका नेता सांसदहरुले पनि पच्छाउन छोडेका छैनन् ।

ठेक्कै धेरै, काम थोरै ४६ किलोमिटर सडक निर्माण गर्नको निम्ती ५ भन्दा बढी ब्यक्तिहरुले ठेक्का सम्झौता गरेका छन् । रुद्रवेणी लुम्दीखोला सम्मको सडक कालोपत्रे गर्ने सम्मको काम सन्तोष भुषाललाइ जिम्मा दिइएको थियो । २०७६ असार मसान्त सम्म सम्पन्न भइसक्नुपर्ने काम हालसम्म पनि पुर्ण हुन सकेको छैन् । हाल ठेकेदारले कटिङ्ग, ग्राभेल र जाली लगाउने मात्र काम सम्पन्न गरेको मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाले जानकारी दिए ।

सैगरी लुम्दीखोला देखी नादेवा खोला सम्मको १७ सय मिटर सडक ग्राभेल गर्ने कामको जिम्मा बहादुर लामाले लिए । उनले पनि त्यो काम पछि भरत पोखरेललाइ सुम्पिए । करिब २ करोड बराबरको ठेक्का सम्झौता भएको सो सडक निर्माणको जिम्मा पाएका पोखरेलले प्रतिवेदन तथा कागजपत्र पुरा नगरेको कारण भुक्तानी पनि हुन पाएको थिएन् । त्यसपछि उनी बिचमा सम्पर्क विहीन भएको सत्यवति गाँउपालिका अध्यक्ष पाराश्वर ढकालले जानकारी दिए । रकम पनि पुरा भुक्तानी नभएको र काम पनि पुरा नभएको उनको भनाइ छ । सो क्षेत्रको सडक निर्माणको निम्ती मदन भण्डारी राजमार्ग बाट सडक विभागमा प्रक्रिया पुग्यो । त्यहाबाट पनि लेखा हुँदै सचिब सम्म पुगेर अहिले काम सुरु हुने आशा पलाएको गाँउपालिका अध्यक्ष ढकालले बताए । नादेया देखी शाहघाट हुँदै चोरकाटे सम्मको सडकको काम गर्ने जिम्मा इलाइट कम्पनीका सुरेन्द्र लम्सालले लिएका थिए । दुइ प्याकेजमा गरी करिब २५ करोडको ठेक्का पाएका लम्सालले सो क्षेत्रमा करिब १० किमी सडक पिच सम्पन्न गरेका छन् तर खैरेनी क्षेत्रमा बाइपास बनाउने काम एक दशक देखी विवादमा छ । त्यो क्षेत्रमा कसले काम गर्ने भन्ने बिषयनै अन्यौल रहेको कारण काम हुन सकेको छैन ।

सडकको सबैभन्दा ठुलो समस्या उल्लीखोलामा छ । ठुलो क्षेत्रमा कालो माटो र बालुवा भएको कारण त्यस क्षेत्रमा निकै समस्या भइरहेको छ । प्रकृतिले नै साथ नदिएको कारण त्यस क्षेत्रमा थप काम हुन नसकेको सरोकारवाला बताउँछन् ।

त्यसयता चोरकाटे देखी चिउरेनी भिर सम्म गजुरमुखी कम्पनीले पिच गर्ने गरी जिम्मा लिएको हो । त्यहा भने हाल काम भइरहेको छ । तर चिउरेनी भिरमा भने काम भएको छैन । निकै कठिन भीर भएको कारण त्यहा काम हुन नसकेको हो । त्यसपछि मुसिकोट नगरपालिकाको तल्लाफाँट सम्मको सात किमी सडकको काम गर्ने जिम्मा पनि गजुरमुखीले लिएको हो । त्यस क्षेत्रमा पनि पुर्ण काम हुन सकेको छैन । तल्लाफाँट देखी वामीटक्सार हुँदै दरमखोला सम्मको १६ किमी सडकको ग्राभेलको जिम्मा ऋषि अधिकारी र भागवत गीरीले लिएका हुन् । उनीहरुले २० किमी काम गर्नै ठेक्का पाएका छन् । तर सडक भने १६ किमी मात्रै छ । जसले गर्दा पनि समस्या भइरहेको छ । सम्पुर्ण सडक ग्राभेल भइसकेको दुइ बर्ष हुन लागेको छ । तर त्यसपछिको काम गर्न ठेकेदारले भुक्तानी पाएको छैन । गत बर्ष कार्तिकमै ठेकेदारले काम सम्पन्न गरी प्रतिवेदन बुझाउनु पर्नेमा बुझाएन् । पछि प्रदेश वा संघीय सरकार कसले सडकको जिम्मा लिने भन्ने बिषयको टुँगो नलागेको कारण पनि भुक्तानीमा समस्या भयो । जसले गर्दा काम ठप्प छ ।

४६ किमी सडकमा कतै पिच भएको छ । कतै ग्राभेल त कतै कच्ची अवस्थामै सडक छ । भएको पिच र ग्राभेल पनि धेरै ठाँउमा बिग्रिएका छन् । कसैले आधा काम गरेका छोडेका छन् । कसैले काम गरेर प्रतिवेदन बुझाउन सकेका छैनन् । जसका कारण सरकारले भुक्तानी दिएको छैन । त्यसैले सडकको थप स्तरोन्नतीको लागि टेन्डर खुल्न पनि सकेको छैन ।

जनप्रतिनिधिहरु जुटे ।

यसैबिच सो सडकको काम सम्पन्न गर्न दवाव दिने उद्धेश्यका साथ तीन स्थानीय सरकारले प्रदेश सरकार समक्ष पुगेका छन् । मुसिकोट नगरपालिका, चन्द्रकोट गाँउपालिका र सत्यवति गाँउपालिकाका प्रमुखहरु आइतवार प्रदेश अन्तर्गतका विभिन्न निकायहरुमा पुगेका हुन् । ‘रीडिदेखी वामीटक्सार दरमखोला सम्मको सम्पुर्ण सडक क्लिएर गर्न माग गर्याे, अझ केही निकायमा पुग्छौ’ सत्यवति गाँउपालिकाले अध्यक्ष पारीश्वर ढकालले भने ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !