बुर्तिबाङमा शनिबार वाम गठबन्धनको बृहत सभा, प्रचण्ड, केसी र पौडेलले सम्बोधन गर्ने !

हेम विश्वकर्मा बुर्तिबाङ २०७६ मंसिर ६ । वाम गठबन्धन बनाएर उपनिर्वाचनमा सहभागिता जनाएका नेकपा र राष्ट्रिय जनमोर्चाले ढोरपाटन नगरपालिका १ बुर्तिबाङमा मंसिर ७ गने शनिबार बृहत आमसभाको आयोजना गरेका छन् ।

आमसभालाई सम्बोधन गर्न नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका साथै राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसी र नेकपा महासचिव विष्णु पौडेल समेत बुर्तिबाङ आउने संयुक्त गठबन्धन निर्वाचन परिचालन कमिटि बुर्तिबाङले जनाएको छ ।

पश्चिम बागलुङको बुर्तिबाङ बजारमा आयोजना गरिएको विशाल आम सभामा नेपाल कम्युनिस्ट पार्टी नेकपा र राष्ट्रिय जनमोर्चा निकट नेता कार्यकर्ता र शुभेच्छुकहरूको सहभागिता रहने वाम गठबन्धनले जनाएको छ । बागलुङ क्षेत्र नं २ को प्रदेश (ख) मा पश्चिम बागलुङको ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिका समेटिएका छन् ।

राजनैतिक दलहरू आ–आफना चुनावी एजेण्डा र घोषणा पत्रसहित प्रचारात्मक कार्यक्रममा ब्यस्त देखिन्छन् । केन्द्रिय नेताहरुको आगमनले बागलुङ क्षेत्र नं २ को प्रदेश ख मा उल्लासमय माहोल बनेको वाम गठनबन्धनको दाबी छ ।

बागलुङ क्षेत्र नं २ प्रदेश (ख) का सांसद टेकबहादुर घर्तीको गत वर्ष उपचारको क्रममा निधन भएपछि रिक्त पदपूर्तिका लागि मंसिर १४ गते उपनिर्वाचन हुन लागेको हो । कार्यक्रममा रक्तिम साँस्कृतिक अभियानका जीवन शर्मा लगाएतका कालाकारहरुको प्रस्तुति समेत रहने बताइएको छ ।

यस क्षेत्रमा नेकपा र राष्ट्रिय जनमोर्चाले वाम गठबन्धन निर्माण गरी खिमविक्रम शाहीलाई साझा उम्मेदवार बनाएका छन् भने कांग्रेसका तर्फबाट जीत बहादुर शेरचनलाई र समाजवादी पार्टी नेपालले अशोक कुमार विश्वकर्मालाई उम्मेदवार बनाएको छ । अहिले विभिन्न राजनैतिक दलका केन्द्रिय देखि स्थानिय नेताहरु आफ्ना उम्मेदवारलाई मत माग्न गाउँ टोलमा पुगेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !