प्रशंगवस : दमकलले जोगायो बागलुङ बजार …

बागलुङ २०७६ मंसिर ६ । मंसिर ५ गते राति १० बज्नु भन्दा एकदुई मिनेट अघी बागलुङ बजार महेन्द्र पथमा रहेको मेघा एण्ड सन्स ( हार्डवयर) पसल कोठा भित्र आगो बलेको सडकमा खेलीरहेका दुईजना बालकहरुले देखे । ती बालकहरुले आगो लागेको हल्ला गरेपछी आसपासका बासिन्दाहरु भेला भएर प्रहरी, नगरपालिका दमकल, नेपाली सेनालाई खबर गरे । त्यति बेला सम्म पसलको माथी सुतिरहेका घरधनी शालिक पौडेललाई पनि आगलागी भएको थाहा भैसकेको थियो ।

आगो निभाउदै दमकल : तस्वीर- सुवास पन्त ।
आगलागीको सनसनीपूर्ण खबर क्षेणभरमै बजार भरी फैलियो । नगरप्रमुख जनकराज पौडेल सहित अपार जनसमुह भेला भयो । भुईँको पसल कोठाबाट आगोको ज्वाला बाहिर निस्किरहेको थियो । आडमा रहेका घरहरुमा आगो फैलिने ठुलो सन्त्रास स्थानीय बजारबासीमा थियो । प्रहरी नायव उपरीक्षक झविन्द्र भट्टराईको कमाण्डमा प्रहरीको टोली आयो । सबै आगो निभाउने काममा जुटे । रातिको ठीक सवा दश बजे जिल्ला प्रहरी कार्यालय परिसरमा रहेको दमकल आईपुग्यो । नेपाली सेनाको टोली पनि आईपुग्यो ।

दमकलले आगो निभाउदै गर्दा त्यहाँ प्रशंग उठेको थियो, सदरमुकाममा भएको यहि एउटा दमकलमा भएको पानीले आगो निभेन र फेरी कालीगण्डकी पुगेर पानी भरेर ल्याउनु पर्ने भयो भनेत झन ठुलो आपत पर्ने भो नि ।

दमकलका चालक तेजबहादुर नेपालीको प्रयासबाट आगो १५।२० मिनेटमै नियन्त्रणमा आयो । बागलुङ बजारवासीले राहतको लामो सास फेरे । बागलुङ बजार अकल्पनीय दुर्घटनाबाट बच्यो ।

गाग्री र बाल्टीको पानीले अग्निसमन हुने असम्भव थियो । एकापसमा टिपिक्क टाँसिएर बनेको बागलुङ बजार खरानी हुनबाट जोगियो, अर्को खुशीको कुरा कुनै मानवीय क्षेती हुन पाएन । उपस्थित सबैले एकापसमा कुरा गर्दै थिए, दमकलले जोगायो बागलुङ बजार ।

आगलागीको कारण बिद्युत सट भएर हो भन्ने प्रारम्भिक अनुमान स्थानीयले गरेका छन् । प्रहरीपनि यसै कुरामा सहमत देखिन्छ । वाएरिंग गरेको बिजुलीको तार पसल कोठा देखी माथिल्ला कोठाहरु सम्म जलेको पाईयो भनेर भरखर प्रहरी नायब उपरीक्षक झविन्द्र भट्टराईले ईबागलुङलाई बताए ।
आगलागीबाट के कति नोक्सान भयो भन्ने जायजा प्रहरीले लिईरहेको बताएको छ । पसलमा राखिएका सबै सामान डढेर काम नलाग्ने अवस्थामा देखिन्छन् ।

बागलुङ बजारको तीब्ररुपमा भैरहेको बिस्तार सँगै बढ्दो जनघनत्वलाई हेर्दा र हिँजो रातिको आगलागी घटनाले कम्तीमा दुई अत्याधुनिक अग्निसमन यन्त्र (दमकल) सदरमुकाममा रहनु अति आवश्यक देखियो । यस तर्फ बागलुङ नगरपालिका, बागलुङ उद्योग बाणिज्य संघ एवं प्रशासनले तत्कालै गम्भिरता पूर्वक सोँच्नु समय सान्दर्भिक हुनेछ ।

*द्रष्टव्य यो समाचार आज बिहान ८ बजे तयार गरिएको भएतापनि नेपाल टेलिकम बागलुङको नेटमा आएको समस्याका कारण अहिले भरखर साँझ ७.४० बजे नेट सुचारु भएपछी अपडेट गरिएको हो ।

तस्वीर सौजन्य-अशोक राजभण्डारी ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !