उत्तरगंगा माविमा नवनिर्मित दुई भवनको उद्घाटन : निर्वाचन आचार संहिताको ठाडो उल्लंघन !

बुर्तिवाङ २०७६ मंसिर ५ । बुर्तिवाङ स्थित उत्तरगंगा माध्यमिक विद्यालय परिसरमा नवनिर्मित चार कोठे नयाँ भवनको आज ढोरपाटन नगरपालिकका नगरप्रमुख देवकुमार नेपालीले उद्घाटन गरेका छन् । सो चार कोठे भवन राष्ट्रिय पुननिर्माण प्राधिकरणको करीव ७० लाख रुपयाँको लागतमा निर्माण सम्पन्न भएको हो ।

यसै गरी आजै नगरप्रमुख नेपालीले उत्तरगंगा माध्यमिक विद्यालय परिसरमै रु ९० लाखको लागतमा निर्मित आठ कोठे विज्ञान भवनको पनि उद्घाटन गरेका छन् ।
रु ३० लाखको लागतमा केहि वर्ष पहिले डिपीसी निर्माण गरी करीव एक दशक अलपत्र रहेको सो विज्ञान भवन थप ६० लाख रुपयाँको लागतमा हालै निर्माण सम्पन्न भएको हो ।

उपनिर्वाचन घोषणा भै सकेको अवस्थामा भवन उद्घाटन गर्नु निर्वाचन आचार संहिताको उल्लंघन भएको भन्दै विद्यालयमा रहेका प्रजातान्त्रिक पक्षधर शिक्षकहरुले कार्यक्रम वहिष्कार गरेको श्रोतको दावी छ ।

निर्वाचन आचार संहिताको परिच्छेद ३ दफा ७ मा नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, सार्वजनिक संस्थाले निर्वाचन आचार संहिता लागु भएको समयमा कुनैपनि नयाँ कार्यक्रम तथा योजनाको शिलान्यास गर्न, उन्घाटन गर्न गराउन नपाईने उल्लेख छ ।

आज विहान उत्तरगंगा माविमा नयाँ भर्ना भएका कक्षा ११ का बिद्यार्थीहरुलाई १२ कक्षाका विद्यार्थीहरुव्दारा स्वागत गर्न आयोजित कार्यक्रममा पुगेका नगरप्रमुख नेपालीले यी नवनिर्मित भवनहरुको उद्घाटन गरेका हुन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !