क्लिप चिन्ह अँकित सामाग्री सहित अर्याल दाजुभाई गाउँगाउँमा !
बागलुङ जिल्लाको पश्चिम भागलाई अर्को जिल्ला बनाउन क्लिप चिन्हमा मतदान गर्न आव्हान !

छबिलाल पाण्डे, बुर्तिवाङ २०७६ मंसिर ५ । उपनिर्वाचनको मिति आउन अब ९ दिन मात्र बाँकी छ । बागलुङ २ (ख)को प्रदेश सभा सदस्यका उमेदवारहरुले चुनावी प्रचार प्रसारलाई तीब्रता दिएका छन् । राजनीतिक दलहरुका ८ र २ जना स्वतन्त्र गरी १० जना उमेदवारहरु चुनावी मैदानमा छन । यस मध्य एक जना स्वतन्त्र उमेदवारले मनोनयन फिर्ता नलिएपनि बाम गठबन्धनका उमेदवारलाई समर्थन गरेको विज्ञप्ती प्रकाशित गरेर आफु चुनावी प्रतिष्पर्धाबाट बाहिरिएको घोषणा गरेका छन् । अहिले उनका समर्थकहरु उनको निर्वाचन चिन्ह क्लिपमा मतदान गर्न व्यापक प्रचार प्रसारका साथ मतदाताहरु समक्ष अपील गरिरहेका छन् । यसैकारण दुबै दाजुभाईलाई केहि दिन पहिले नेकपा बागलुङ जिल्ला कमिटीले पार्टीबाट निलम्बन र निष्काशनको कार्बाही गरेको छ ।

आफ्ना शुभचिन्तक, समर्थक, सहयोगीहरुको दलबल सहित चुनाव प्रचार प्रसारमा व्यस्त रहेका नेपाली काँगे्रस र बामगठबन्धनका उमेदवारहरुको पछीपछी स्वतन्त्र (नेकपाबाट बागी) उमेदवार शेरमान घर्तीमगरका समर्थकहरुको प्रचार प्रसारले बामगठबन्धन वा काँग्रेस कसलाई असर पर्छ भन्ने जोडघटाउमा निसीभूजी क्षेत्रको ध्यान केन्द्रित भएको छ ।

बागलुङ जिल्लाको पश्चिम भागलाई अर्को जिल्ला बनाउनु पर्ने माग गर्दै क्लिप चिन्हमा मतदान गर्न आव्हान गर्दै यतिबेला बामपन्थी नेताहरु तुलसी अर्याल र ददिराम अर्याल समर्थक शुभचिन्तकहरु लिएर मतदाताहरुको घरघरमा पुगेका छन् । यसैक्रममा आज अर्याल बन्धुहरु दलबल सहिते क्लिप चिन्ह लेखिएको टिसर्ट, टोपी, कप, झोला, पर्चा पम्पलेट प्रचार सामागी्र सहित ढोरपाटन नगरपालिकाको बोवाङ, शेरमान घर्तीको गृहगाउँ पुगेका छन् ।

शेरमान घर्तीमगरले नेकपाबाट बिद्रोह गरेर स्वतन्त्र उमेदवारी दर्ता गर्दा उनको प्रस्तावकमा ददिराम अर्याल र समर्थकमा निमबहादुर बिक रहेका थिए । छुट्टै जिल्लाको लागी दबाब सिर्जना गर्ने जुन उद्देश्यबाट घर्तीमगरको मनोनयन दर्ता गरिएको हो, पछी उनले चुनावी मैदानबाट हटेको घोषणा गर्नु धोखा भएको भन्दै अर्याल बन्धुहरु क्लिपको प्रचार प्रसारमा लागेको बुझिएको छ । विभिन्न सन्चार माध्यमहरुमा कुनैपनि हालतमा उमेदवारी नझिक्ने बताउदै आएका घर्तीमगरले बुर्तिवाङबाट हेलिकप्टर चढेर बागलुङ सदरमुकाम पुगेलगत्तै के प्रलोभनमा परेर बामगठबन्धनका उमेदवारको समर्थन गर्दै बाकस घोप्ट्याए त्यस्को लेखाजोखा निसीभूजी क्षेत्रमा भैरहेको छ ।

स्वयं उमेदवार चुनावी दौडबाट भागेर अर्कै प्रतिव्दन्दीको गिलास बोकेर प्रचारमा हिँड्ने, उनका समर्थकहरु भने उनैको क्लिप चुनाव चिन्ह लिएर मतदाताहरुको घरघरमा पुगेर मत माग्नुलाई निसीभुजीमा चुनावको नयाँ बान्कीको रुपमा लिईएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !