विशेषज्ञ सेवा-सुविधा दिने लक्ष्य सहित निलगिरी र बेनी हस्पिटलबीच एकीकरण!

म्याग्दी, २०७३ पुस २४ । ग्रामिण क्षेत्रका जनतालाई विशेषज्ञ सेवा सहित एक सय शैयाको अस्पतालबाट सेवा सु्विधा दिने लक्ष्यका साथ बागलुङ र म्याग्दीका दुई निजी तथा सहकारी अस्पताल एकीकरण भएका छन् ।

धौलागिरि सञ्जिवनी स्वास्थ्य सहकारी संस्था लिमिटेड बागलुङमार्फत सञ्चालित निलगिरि अस्पताल र बेनीको न्युरोडमा सञ्चालित बेनी हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिबीच एकीकरण गरिएको हो । निलगिरी अस्पतालका अध्यक्ष राम शर्मा र बेनी हस्पिटलका अध्यक्ष शिवकुमार श्रेष्ठले सम्झौता पत्रमा संयुक्तरुपमा हस्ताक्षर गरेपछि दुवै अस्पताल एकीकरण भएको घोषणा गरिएको थियो ।

२४ शैयाको निलगिरि र २५ शैयाको बेनी हस्पीटलबीच एकीकरण पश्चात दुवै अस्पतालको स्वामित्व धौलागिरि सञ्जिवनी स्वास्थ्य सहकारी संंस्था लिमिटेडमा रहने र दुवै जिल्लामा अस्पताल सञ्चालन हुने गत पुस २२ गते वेनीमा घोषणा गरिएको थियो ।

निलगिरि अस्पतालबाट सञ्चालन हुदै आएका विशेषज्ञ सेवाहरु स्त्री तथा प्रसुती रोग र हाडजोर्नी लगायतका सेवाहरुलाई अबदेखि बेनी बजारबाट समेत सञ्चालन गरिने जानकारी दिइएको छ । दुई अस्पतालको एकीकरणपछि थप विशेषज्ञ सेवा विस्तार गरिने निलगिरि अस्पतालका मेडिकल निर्देशक डा.गोविन्द गौतमले ईबागलुङलाई बताए ।

१ सय शैया क्षमताको सुविधा ासम्पन्न अस्पताल निर्माण गरी यस क्षेत्रवासीलाई गुणस्तरीय स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षा दिने दिर्घकालीन योजनाका साथ दुई अस्पताल एकीकरण गरी अघि बढेको धौलागिरि सञ्जीवनी स्वास्थ्य सहकारी संस्थाका सचिव एवं राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले जानकारी दिए ।

म्याग्दी बागलुङ, मुस्ताङ र पर्वत जिल्ला कार्यक्षेत्र भएको धौलागिरि सञ्जिवनी स्वास्थ्य सहकारी संस्थाले यी जिल्लाका अन्य व्यापारिक क्षेत्रहरुमा समेत शाखा विस्तार गरी स्वास्थ्य सेवा सञ्चालन गर्ने लक्ष्य लिएको छ । ५ वर्षे कार्ययोजना बनाई यो क्षेत्रकै व्यवस्थित र प्रभावकारी स्वास्थ्य संस्थाका रुपमा अगाडि बढाउन लागिएको जिसीले जानकारी दिए । उनले सहकारी मार्फत स्वास्थ्य सेवा दिन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्नका लागि २ सय भन्दा बढी शेयर सदस्यहरु जुटेको र एक वर्ष भित्र ५ सय जना शेयर सदस्य पु¥याउने लक्ष्य रहेको पनि बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *