बागलुङमा सप्ताहव्यापी कर दिवस शुरु : कानून विपरीत कर उठाउन पााईदैन – मुख्य न्यायाधीश कार्की

कोपिला कँडेल, बागलुङ २०७६ मंसिर १ । नेपालमा मूल्य अभिवृद्धि कर लागू भएको दिनका अवसरमा बागलुङमा कर दिवस सप्ताहव्यापी कार्यक्रमका साथ मनाउन सुरु गरिएको छ । विगत ८ वर्षदेखि हरेक वर्ष आजको दिनलाई कर दिवसका रुपमा मनाइँदै आएको छ । ‘स्वच्छ कर प्रशासन, विकास र सुशासन’ भन्ने नारामा यस वर्षको कर दिवस मनाउन लागिएको हो ।

आन्तरिक राजश्व कार्यालय बागलुङको आयोजनामा भएको कार्यक्रममा उच्च अदालत पोखरा बागलुङ इजलालसका मुख्य न्यायाधीश मोहनबहादुर कार्कीले कानुन विपरित कर उठाउन नपाईने बताए । कपिपय ठाउँमा मनपरी कर उठाउने प्रबृत्ति बढ्दै गएको चर्चा गर्दै मुख्य न्यायाधीश कार्कीले कानुन बनाएर कर संकलन गर्नुपर्नेमा जोड दिए । उनले विभिन्न पेशा व्यवसाय गरी राज्यले कर तिर्ने करदाताहरुले पनि करको सदुपयोग तथा दुरुपयोग भएका बारेमा जानकारी लिनुपर्ने बताए ।

प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले देशको विकास र समृद्धिका लागि सबै करको दायरामा आउनुपर्ने वताए । उनले पछिल्लो समय कर प्रणालि केही झन्झटिलो भएको भन्दै प्रभावकारी कर प्रणालि लागु हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा कर कार्यालय बागलुङका प्रमुख कर अधिकृत हेमराज सुवेदीले गत बर्ष कार्यालयले लक्ष्य भन्दा बढी १ सय ३३ प्रतिशत कर संकलन गरेको बताए । पछिल्लो समय धौलागिरीलाई कार्यक्षेत्र बनाएर काम गर्न थालेपछि प्रभावकारी ढंङ्गबाट कर संकलन भईरहेको भन्दै करको दायरामा आउन सबैैलाई आग्रह गरे । उहांले राज्यलाई कर नतिरिकन संकलन गरिएको सम्पत्ति अवैधानिक हुनेमा जोड दिए । उनले आगामी दिनमा पनि थप प्रभावकारी कार्यक्रम सञ्चालन गर्दै करदातालाई सचेतना प्रदान गर्ने बताए ।
कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य निर्माणकुमार श्रेष्ठ बासु, बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारी, पर्वतका अध्यक्ष केदारनाथ शर्मा, म्याग्दीका अध्यक्ष उत्तमकुमार कर्मचार्य लगायतले बोलेका थिए ।

कार्यक्रम प्रमुख कर अधिकृत सुवेदीको अध्यक्षता, कर अधिकृत बुद्धिप्रसाद आचार्यको स्वागत र सुन्दर श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।

साथै कार्यालयले आईतबार देखि एक सप्ताहसम्म कर सम्बन्धी विविध कार्यक्रम गर्ने जनाएको छ । नेपालमा २०५४ साल मंसिर १ देखि मूल्य अभिवृद्धि कर कार्यान्वयनमा ल्याइएको हो । २०६९ कात्तिक २ गतेको मन्त्रिपरिषद्को बैठकले हरेक वर्षको मंसिर १ गतेलाई कर दिवस मनाउने निर्णय गरेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !