पौँदेलीहरुले बिहानको शुभसाईतमा न्वागी खाए, ग्वालिचौरको खार बजारमा प्रशिद्ध न्वागी मेला शुरु !

कुसुम थिङ, बागलुङ २०७६ मंसिर १ । बागलुङ र गुल्मी जिल्ला बीच भएर बग्ने रुद्रावती नदी (बडीगाड खोला)को किनारमा रहेको बागलुङ जिल्लाको बडीगाड गाउपालिकाको साबिक ग्वालिचौर र गुल्मी जिल्लाको पौँदी अमराईका पौँदेलीहरुको नयाँ जर्डन धानको न्वागी खाने विशेष पर्व सुरु भएको छ । पौँदेलीहरुले आज विहान साढे नौ बजेको शुभ साईतमा धार्मिक विधिविधान अनुसार विष्णु भगवानलाई चढाएपछी न्वागी ग्रहण गरेर न्वागी पर्वको शुभारम्भ गरेका हुन् । न्वागी खाने पौँदेलीहरुको शदियौँ देखी चलिआएको धार्मिक एवं साँस्कृतिक परम्परा हो । यसको धार्मिक, साँस्कृतिक एवं आर्थिक महत्व छ । न्वागीलाई पौँदेलीहरुको पहिचानको रुपमा लिन्छन ।

जर्डन धानको चामललाई, दही, केरा, सिलाम, चिनी, मह आदिको समिश्रणबाट तयार पारिएको न्वागीलाई पौदीबासीहरुले विधिवत रुपमा शुभसाइत जुराएर आ– आफ्ना नातागोता, इष्टमित्र र आफन्तजनहरु बोलाएर न्वागी खाने खुवाउने प्रचलन रहेको छ । पौँदीमा खेत नहुने अर्थात जस्को घर नयाँ धान भित्रन्न उनिहरुलाई पनि न्वागी पर्वमा सरीक गराई न्वागी खुवाउने गरिन्छ । यसलाई साँस्कृतिक भाईचाराको चाडको रुपमा पनि लिईन्छ । पौँदेलीहरुले न्वागी पर्वलाई सानो दशैँको रुपमा मनाउने गर्छन् । यो पर्व पछिल्ला वर्षहरुमा महोत्सवको रुपमा ३ दिन देखी एकसाता भन्दा बढी दिनसम्म मनाईदै आएको छ ।

गुल्मी छत्रकोटमा पण्डित, पुरोहित पुजारी, भद्रभलाद्मी भेला भएर गरेको निर्णयानुसार मुठ्ठी लिने (धान काट्ने) र न्वागी खाने दिन, समय र कुन दिशा फर्किएर खाने भन्ने तय गरिन्छ । नयाँ जर्डन धान केहि दिन पहिले काटेर भित्राईएको भएपनि न्वागी नखाएसम्म त्यस नयाँ धानको चामल नखाने, बेचबिखन नगर्ने, ऐँचोपैँचो दिने/लिने गरिन्न ।

बागलुङ जिल्लाको साबिक ग्वालिचौर र गुल्मी जिल्लाको साबिक नेटा, अमराईबासीहरु मात्रले न्वागीलाई विशेष रुपमा मनाउछन् । बडीगाड गाउपालिकाकै साबिक दगातुन्डाँडा गाउपालिकामा नयाँ धानको न्वागी केहि दिन पहिले नै खाई सकिएको छ ।

न्वागी पर्व (मेला)मा कृषकहरुले उत्पादन गरेका नगदे, हिउँदे, बाली, बेमौसमी तरकारी लगायतका बालीहरुको प्रदर्शनी आयोजना गरिदै आएको छ । भलिबल लगायत विभिन्न खेलकूद प्रतियोगिता, स्थानीय नौमती बाजा, सोरठी भैलो लगायत लोक कलाकारहरुको सांगीतिक प्रस्तुती हुने गर्दछ ।

तस्वीर सौजन्य:शिव घिमिरे, खारबजार ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !