दारी ग्याङका युवाहरुले पर्यटकीय क्षेत्र पञ्चकोटको प्रचार प्रसारकालागि सहयोग गर्ने !

बागलुङ २०७६ कात्तिक ३० । दारी ग्याङ बागलुङका युवाहरुले जिल्लाको पर्यटकीय क्षेत्र पञ्चकोटको प्रचार प्रसारका लागि सहयोग गर्ने भएका छन् । नेपालका बिभिन्न क्षेत्रमा रहेर सामाजिक क्षेत्रमा काम गर्दै आइरहेका दारी ग्याङका युवाहरु बागलुङमा पनि संगठित भएपछि विभिन्न सामाजिक काममा सक्रिय हुन थालेका छन् ।

शनिबार पञ्चकोटमा पुगेका युवाहरुले स्वामी कमलनयनाचार्य संगको छलफल पछि पञ्चकोटलाई प्रचार प्रसार गर्नका लागि आवश्यक पर्ने सबै काम आगामी दिनमा गर्ने प्रतिबद्धता जनाएका छन् ।

पर्यटन बर्ष २०२० लाई सहयोग पु¥याउनका लागि पनि प्रचारप्रसारलाई प्राथमिकता दिएको दारी ग्याङ बागलुङका राजु शर्माले बताए । युवाहरुव्दरा गठित यस संगठनले जिल्लामा पर्यटकको संख्या भित्राउनका लागि जनचेतनामुलक कार्यक्रमको आयोजना गर्ने, सामाजिक क्षेत्रमा काम गर्ने र अरुलाई पनि प्रोत्साहन गर्नका निम्ति विभिन्न कार्यक्रम गर्दै आएको छ ।

पर्यटकीय स्थलको संरक्षण र प्रचार प्रसार गर्ने, प्राकृतिक विपतमा परेकालाई भौतिक, आर्थिक सहयोग गर्दै जाने, रक्तदान गर्ने एवं सचेतना प्रदान गर्ने उनीहरुको उद्देश्य रहेको छ । दुई वर्षअघि बागलुङ नगरपालिका भित्रका ताराजालकोट, राङराङकोट, माझकोट, कारिकोट र संसारकोटमा पूर्वाधार निर्माण सँगै पञ्चकोटको बृहत्तर विकासका लागि गुरुयोजना बनाइएको थियो । पञ्चकोटमा संसारकै १ सय ८ फिट अग्लो कलश निर्माण गर्ने योजना छ । १ हजार ५ सय मिटर उचाइको भूभागमा निर्माण गर्न प्रस्तावित अग्लो कलश बागलुङ, पर्वत र म्याग्दीका अधिकांश भूभागबाट देख्न सकिने छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !