बागलुङ बजारमा जडान गरिएका सबै सीसीटीभी काम नलाग्ने !
सीसीटीभी केमराको अपरिहार्यतालाई महसूस गरी जडान गर्ने पहलमा छु – एसपी भट्ट

बागलुङ २०७६ कात्तिक २८ । सदरमुकाम बागलुङ बजारमा झण्डै ६ वर्ष पहिले बागलुङ उद्योग वाणिज्य संघको सहयोगमा जडान गरिएका दुई दर्जन सीसीटीभी केमरा काम नलाग्ने अवस्थामा छन् । सीसीटीभी मरमतका लागी बाउवासंघले कुनै चासो नदेखाएको र बागलुङ नगरपालिका समेत सीसीटीभीको आवश्यकता प्रति संवेदनशील नदेखिएकोमा सदरमुकामवासी चिन्तित देखिन्छन् ।

बाउवासंघ पछिल्लो अधिवेशनमा उठने उमेदवारहरुले बागलुङ बजारमा सीसीटीभीको मरमत एवं थप बिस्तार गर्ने आफ्नो प्रतिवद्धता पत्रमा उल्लेख गरेपनि नयाँ कार्य समिति निर्वाचित भएको डेढ वर्ष बितिसक्दा सम्म सीसीटीभी मर्मत र बिस्तारका लागी कुनै पहल नगरेको नगरबासीको गुनासो रहेको छ ।

तीब्ररुपमा बढ्दै गरेको जनघनत्व एवं व्यापार व्यवसाय, सडक दुर्घटना चोरी लगायत कुटपीट, झैझगडा, जघण्य अपराध लगायतका असामाजिक गतिबिधी नियन्त्रण एवं अनुगमनमा प्रहरीलाई निकै सहयोगी मानिए सीसीटीभी बजारका अन्य भागहरुमा समेत थप्दै जानु पर्नेमा भएकापनि काम नलाग्ने हालतमा चोकचोकमा झुण्डिएकाले यसलाई चालु गर्न सरोकारवाला निकायले चासो राख्नुपर्ने नगरबासीको माग रहेको छ ।

बागलुङ सदरमुकाममा जडान गरिएका दुई दर्जन सीसीटीभीहरु मध्य २०७५ साल बैशाख महिना सम्म जम्मा ८ वटा सीसीटीभी चालु अवस्थामा रहेपनि अहिले आएर एउटा सीसीटीभी पनि कन्डिसनमा छैन । प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी झविन्द्र भट्टराईले अहिलले आएर एउटा सम्म सीसीटीभी काम गर्ने हालतमा नभएको जानकारी दिए ।

यसै सन्दर्भमा हामीले जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक नवराज भट्ट संग जिज्ञासा राख्दा आफु बागलुङ आएदेखी नै सीसीटीभीको अपरिहार्यतालाई मध्य नजरगरी यसको जडानका बारेमा प्रयास गरिरहेको जानकारी दिँदै बागलुङ नगरपालिकासंग कुरा भएको बताए ।

प्रहरी उपरीक्षक भट्टले आफ्नो पहलमा कालिका भगवती मन्दिर र प्रवेश व्दार तथा मालढुंगामा सीसीटीभी क्यामरा जडान भएको जानकारी दिए ।

यसैवीच बागलुङ जिल्लाको दोश्रो व्यापारिक केन्द्र बुर्तिवाङ बजारमा पनि सीसीटीभी जडान गर्न लागिएको ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपालीले ईबागलुङलाई बताए । यता गल्कोट नगरपालिकाको हटिया बजारमा पनि यहि मंसिर महिनाको १ गते देखी गलकोट उधोग वाणिज्य संध गल्कोट र गलकोट नगरपालीका वाड नं ३ को समन्वयमा सीसीटीभी जडान गरिने गल्कोट उद्योग वाणिज्य संघका अध्यक्ष वीरेन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !