जैमिनीको कुस्मीसेरा बजार अनुगमन, म्याद गुज्रिएका खाद्यबस्तु बरामद पछि नष्ट !

कुस्मीसेरा २०७६ कात्तिक २६ । जैमिनी नगरपालिको नेतृत्व, जिल्ला प्रशासन कार्यालय बागलुङको समन्वय, स्थानीय उपभोक्ता प्रतिनिधी, उद्योग वाणिज्य संघको प्रतिनिधी स्थानीय पत्रकार सहितको बजार अनुगमन टोलीले सोमबार कुस्मीसेरा बजार अनुगमन गरेको छ ।

अनुगमनका क्रममा विभिन्न पसलहरुमा बिक्रीका लागी राखिएका म्याद समाप्त भएका पेय पदार्थ बिस्कुट लगायतका खाद्य बस्तुहरु नियन्त्रण लिएर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकसत ईश्वरी प्रसाद शर्मा, जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी धिरेन्द्र पन्त प्रहरी प्रतिनिधी प्रह नवराज रिमाल, प्रत्रकार लगायतको रोहबरमा नष्ट गरिएको थियो ।

बजार अनुगमन टोलीमा जैमिनी नगरपालिकाका उपसचिव खेम आचार्य (संयोजक), जिल्ला प्रशासन कार्यालय बागलुङका नासु तेजराज गौतम, उपभोक्ता प्रतिनिधी तिलक बहादुर थापा, पत्रकार सुजन प्रेमी प्रहरी हवल्दार नवराज रिमाल समेत रहेका थिए ।

सो अवसरमा हाम्रा प्रतिनिधीसंग कुरा गर्दै जिल्ला प्रशासन कार्यालय बागलुङका सूचना अधिकारी पन्तले प्रदेश बजार अनुगमन समिति तथा स्थानीयतहमा गठित बजार अनुगमन समितिवीच समन्वय स्थापितगरी बजार अनुगमनलाई निरन्तरता दिईने बताए ।

टोलीले बजार अनुगमन गरिरहँदा स्थानीयले सवारी भाडा सम्वन्धमा पनि अनुगमन गरिनु पर्ने प्रशंग उठाएका थिए । सवारीहरुले जथाभावी भाडा असुल्नुका साथै नीजी सवारी साधनहरुले यात्रुहरु र सरसामान ओसार्ने गरेको बताए । स्थानीयहरुले तत्काल सवारी भाडा समायोजन गर्न सरोकारवाला निकायहरुमा जैमिनी नगरपालिकाले पहल नगरेकोमा चित्त दुखाएका थिए ।

यसैबीच कात्तिक २५ गते नै जैमिनी नगरपालिका कुस्मीसेरामा उपभोक्ता हित संरक्षण समिति संयोजक एवं नगर उपप्रमुख लिला रानाको अध्यक्षता तथा नगरप्रमुख ईन्द्रराज पौडेलका विशेष उपस्थितीमा बसेकोे बैठकले बजार अनुगमन निर्देशिका २०७५ को बुँदा नं ८ बमोजिम जैमिनी नगरपालिकाका उपसचिव खेम आचार्यको संयोजकत्वमा बजार अनुगमन टोली गठन गरेको छ । अनुगमन टोलीका अन्य सदस्यहरुमा जिल्ला प्रशासन कार्यालय बागलुङका नासु तेजराज गौतम, स्वास्थ्य, कृषि, पशु शाखा प्रमुख, प्रहरी चौकी कुस्मीसेराका प्रमुख, उपभोक्ता हितबाट तिलक बहादुर थापा, उद्योग वाणिज्य सघबाट विष्णुप्रसाद आचार्य र शुभेक्षा एफएमका सुजन प्रेमी सुवेदी रहेका छन् । बैठकले जैमिनी नगरपालिका अन्तरगतका बजारहरुको पनि अनुगमन गर्न टोलीलाई निर्देशन दिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !