दलितको अपमान गर्नेलाई दलितको होटल (घर)मा पस्न रोक लगाउँदा सामान्य विवाद भएको हो – छेला नेपाली

बुर्तिवाङ २०७६ कात्तिक २६ । ढोरपाटन नगरपालिकाका नगर प्रमुख देव कुमार नेपालीकी धर्मपत्नी छेला नेपालीले नेकपाका जिल्ला सदस्य चन्द्र अर्याललाई आफुले हातपात गरेको भनी विभिन्न सञ्चार माध्यममा आएका समाचारमा सत्यता नभएको बताएकी छन् ।

दरबार होटेलको प्रवेश व्दारमा नेपालीले अर्याललाई अभद्र व्यवहार सहित हातपात गरेको भन्ने शिर्षकमा विभिन्न अन्लाईनहरुमा समाचार आएपछि उक्त समाचारको खण्डन गर्दै नेपालीले, नेता अर्यालले आफ्नो श्रीमान (नगर प्रमुख देव कुमार नेपाली) लाई जातिय रुपमा गाली बेईजती गरेपछि आफुले त्यस्को जवाफ दिने क्रममा सामान्य विवाद मात्रै भएको बताईन् । एक सामाजिक व्यक्तिले अपशव्द प्रयोग गरी जातिय रुपमा होच्याउन खोज्नु सिंगो दलित समुदाय माथिको अपमान भएको भन्दै श्रीमती नेपालीले नेता अर्याललाई, यस्तो गर्न मिल्छ ? भनेर प्रश्न गर्ने क्रममा विवाद मात्र भएको उनको भनाई छ ।

विवादका क्रममा आफुले, ‘दलितमाथी अपमानजनक व्यवहार गर्नेहरुलाई दलितको घर भित्र पस्न पनि छुट नभएको भनि दरबार होटेलमा जान रोक लगाएको’ नेपालीले बताईन । सामाजिक क्रियाकलापमा सक्रिय व्यक्तिले जातिय विभेद विरुद्ध लाग्नुको सट्टा नेता अर्यालव्दारा उल्टै विभेदलाई बढावा दिने काम भएको नेपालीको आरोप छ ।

गत २१ गते उपनिर्वाचनको उम्मेदबार मनोनयन दर्ता गरी जिल्ला सदरमुकाम बागलुङ देखि बुर्तिबाङ फर्कने क्रममा नेता अर्यालले जिल्लाको घोडाबाँधे भन्ने स्थानमा नेकपा जिल्ला सदस्य तथा नगर प्रमुखको राजनैतिक सल्लाहकार समेत रहेका केशर छन्त्यालसंग राजनैतिक विषयमा विवाद गर्दैै नेता अर्यालले, “त दमाई, बाजा बजाउनेको पछि लागेर मेरो राजनीति सिध्याउन खोजिस्, अव तेरो राजनीति सिध्याउन म पनि लाग्छु” । भनेको प्रत्यक्षदर्शी नेकपाका सक्रिय कार्यकर्ता राष्ट्रिय पुनको भनाई उल्लेख छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !