शव्द/चित्र : बसन्त घर्तीमगर
तमान (बुर्तिवाङ) २०७६ कात्तिक २५ । बागलुङ जिल्लाको ग्रामिण क्षेत्र (गाउँघर)का परम्परागत सँस्कार, सँस्कृति, भेषभुषा, बोलिबचन (भाषा), रहन सहन, आनिबानि, खानपिन लगायत प्रचलनहरुमा तीब्ररुपले परिवर्तन आएको छ । ग्रामिण क्षेत्रहरुमा केहि वर्ष पहिले सम्म हेर्न देख्न सकिने स्थानीबासीको आस्था एवं परम्पराहरु, धरोहरको रुपमा संरक्षण गर्नुपर्ने सँस्कार सँस्कतिहरुमा बिकृतिले प्रवेश गरेको छ । गाउँघरमा चलनचल्तीमा रहेका सँस्कारहरु छिटोछिटो लोप हुँदै गएका छन् । गाउँघरका सँस्कार सँस्कृति परम्पराआदि हेर्न असम्भव प्राय: भएको छ ।
बागलुङ जिल्लाको तमानखोला गाउपालिका साबिक तमान, बोँगादोभान र खुँखानी तीन गाबिसहरु मिलेर बनेको छ । यो गाउँपालिका जिल्लाकै दुर्गम मध्यको मानिन्छ । यहाँ बसोबास गर्ने विभिन्न जातिका मानिसहरुको आआफ्नै परम्परा र प्रचलन रहेका छन् । यस्तै साबिक तमान गाविसको लाम्मेलामा एउटा प्रचलन रहेको छ जेठो छोराको पुतपुराउ । यो प्रचलन धेरै पुरानो हो र पछिल्लो समयमा यो लोपको कँगारमा पुगेको छ । पहिले पहिले तमान र लाम्मेला दुबै गाउँका स्थानीयले पुतपुराउ कार्य गर्दै आएकोमा आज भोलि लाम्मेलाका छन्त्याल जातिमा मात्र सीमित रहन पुगेको छ ।
लाम्लेलाका सामाजिक अभियन्ता देबेन्द्र छन्त्यालका अनुसार, छन्त्याल जातिको परिवारमा जेठो छोराको पुतपुराउ गरिने सँस्कार छ । छोराको छैठी, न्वारन, ब्रतवन्ध गरेजस्तै यो पुतपुराउ पनि एक संस्कार (शुभकार्य) मानिन्छ । बैबाहिक जीवनमा प्रवेश गर्नु अगावै ९/१० वर्षको उमेर भित्रै (३/५/७ बिजोर वर्ष) मा यो सँस्कार गरिन्छ । छोराको भविष्य उज्वल होस, सरस्वतीले बास गरुन, जीवनमा कुनै बाधा अड्चन नआओस भन्ने कामनाका साथ गरिने यो पुतपुराउ सँस्कारमा सोरठी नाँचका साथ टोलीका सदस्यहरु छोरालाई आशीष दिने गरिन्छ । पुतपुराउ संस्कार र सोरठी नाँचमा एउटा भेँडाको पाठो र कुखुराको भाले अनिर्वार्य चाहिन्छ । सोरठी नाँच टोलीलाई दिईने दक्षिणा स्थानीय सोरठी समाजमा नै जम्मा गरिन्छ ।
लाम्लेलाका सामाजिक अभियन्ता देबेन्द्र छन्त्याल
पुतपुराउ कार्य गरिने घरमा अघिल्लो दिनको साँझतिर सोरठी नाँचको टोली पुग्छ । सोरठी टोलीमा दुई जना मादले, दुई जना श्रृंगारु र २ जना पुरुसुंगे गरी ६ जना सदस्य रहन्छन । टोलीमा प्राय सबै छन्त्याल समुदायका व्यक्तिहरुको सहभागित रहेको हुन्छ । त्यस टोलीका मुख्य व्यक्तिलाई साँकी भनिन्छ । यिनै साँकीले सुरुमा परम्परा देखी पूर्वजहरुले मानि आएका देव देवताहरुको आराधना गर्दै प्रकृति सम्वन्धी देवी देवतालाई पुकार्छन् । यस कार्यलाई साँकी मार्ने भनिन्छ । साँकी मारेको भोलिपल्ट मुख्य दिन बिहान देखी दिनको ३।४ बजेसम्म टोली र स्थानीयले सोरठीका सोह्र हाँगाहरु गाईन्छ र पुत पुराउ गरिने बालकको नाम पुकार्दै आशिष दिने गरिन्छ ।
सोरठी गीतमा गाईने केहि टुक्काहरु यस्ता छन्,
सिरमा लाउने सिँदुर नन्देज्यूले लगे, के पहिराई खेल्न जाम … भनेर गाउँदै महिलाले सिर देखी पाउसम्म लगाउने पहिरने बस्त्रहरुको वर्णन गरिन्छ । त्यस गीतलाई फर्काएर, सिरमै लगाउने सिँदुर पहिरन रानी चन्द्रमा लोकैले हेरन राम राजै हेर राम …।
पूर्वको जैसिंगे राजा र पश्चिमकी हरिमती रानी बीचको प्रेम प्रशंगलाई सोरठी गीतमा गाईन्छ ।
तमानखोला/लाम्मेला : तस्वीर- माधव छन्त्याल ।
***
धेरै समयको अन्तरालमा केहि दिन पहिले मात्र तमान लाम्मेलामा कपुरा छन्त्यालको नाती, दिलबहादुरको जेठो छोरा पुष्कर छन्त्यालको पुत पुराउ सँस्कार सम्पन्न भयो । लोपोन्मुख अवस्थामा रहेको पुतपुराउ र सोरठी नाँच सम्वन्धमा चासो लिनेहरुका लागी यो राम्रो अवसर थियो । पुष्कर छन्त्यालको पुतपुराउ सँस्कारमा लाम्मेला निवासी ८४ वर्षिय पूर्णवीर छन्त्यालले साँकीको भूमिका निभाएका थिए ।
तमानका बुढापाकाहरु भन्छन्, हाम्रा सँंस्कार सँस्कृति, आस्था एवं चलनहरु श्रुतिस्मृतिमा थन्किदै छन् । हाम्रा धरोहरहरुको बचाउ गर्ने जिम्मा युवाहरुको काँधमा आएको छ ।
यो लिंकपनि पढौं
साताको तस्बीर : मेरो तमान गाउँ !
One Comment