एक भरुवा बन्दुक सहित ४ जना शिकारी प्रहरी नियन्त्रणमा !

बागलुङ, २०७६ कात्तिक २३ । बागलुङ काठेखोला गाउँपालिका-५ मा हिँजो शुक्रवार राति भरुवा बन्दुक लिएर शिकार गर्न हिँडेका ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी बिहुबाट खटिएको प्रहरी टोलीले बिहुँ फुर्सेमाटाका ३५ वर्षीय रमेश घर्ती सहित ४ जनालाई एउटा भरुवा बन्दुक, ३ बोत्तल बारुद र छर्रा सहित पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बागलुङले दिएको जानकारी अनुसार पक्राउ पर्ने अन्य ३ जनामा ऐ बस्ने वर्ष ४९ को तिलक विक, ऐ का वर्ष १८ को खगेन्द्र घर्ती र ऐ वडा नं ६ बस्ने वर्ष १८ को जगत घर्ती रहेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !