साताको तस्वीर : वामीटक्सारमा झिनियाँको व्यापार !

शव्द/चित्र : कौरब खत्री

गुल्मी २०७६ कात्तिक १६ । दशैँ तिहार सकियो, तर रोटीका कुरा चलिरहेको छ । नेपालीहरुको यस महान पर्वहरुमा एकापसमा बाँडेर खाईने रोटीहरुको स्वादको चर्चा चलिरहेकै छ ।

नेपालीहरुको महान चाड दशैँतिहारमा सबैका घरघरमा हालिने (पकाईने) रोटीहरुमा झिनियाँको महत्वपूर्ण स्थान छ । सेल, फिनी, चीनी, अनर्सा आदि विभिन्न प्रकारका रोटी बनाउदा झिनियाँ रोटी नभए ‘नुन नभएका तिउन’ जस्तो अल्नो महसूस गरिने हुनाले दशैतिहारमा झिनियाँ रोटीको माग निकै हुन्छ ।

नेपालीहरुले दशैँमा भन्दा तिहारमा रोटी बेसी हाल्ने प्रचलन छ । नेपालीहरुको घरघरमा पाक्ने रोटीको चर्चा गर्दा तिहारलाई रोटीको तिहार भनेपनि अतिशयोक्ति नहोला । त्यसैले दशैँतिहारमा यसको माग उच्च हुन्छ । यी चाडपर्वहरुमा झिनियाँ रोटी उत्पादनमा ठुलो संख्यामा उद्यमीहरु लाग्छन् । खासगरी महिला उद्यमीहरुको यस व्यवसायमा संलग्नता बढी देखिन्छ ।

झिनियाँ रोटीको नाम लिँदा साथ गुल्मीको वामी टक्सार र बागलुङको बागलुङ बजारको स्मरण हुन्छ । वामी टक्सार र बागलुङ बजारमा उत्पादन हुने झिनियाँ रोटी स्वादिष्ट हुने उपभोक्ताहरुको ठम्याई छ । झिनियाँ रोटी बागलुङ बजार र वामी टक्सारमात्र नभएर जिल्लाका विभिन्न बजार क्षेत्रमा उत्पादन गरिन्छ । ठुलो परिमाणमा झिलिंगा रोटी उत्पादन हुने वामी टक्सार र बागलुङ बजार भएकाले सालाना यहाँ करोड भन्दा बढीको कारोबार हुने गर्छ ।

झिनियाँ रोटीको उत्पादनमा दर्जनौ परिवार संलग्न रहेर मनग्गे आम्दानी गरिरहेका छन् । खासै त्यति दु:ख र झन्झटिलो व्यवसाय नभएकोले घरका सपरिवार नै यस व्यवसायमा लागेको देख्न सकिन्छ ।

दशै तिहारका बेला एकातिर वामीटक्सारका घरघरका करेसावारीमा सयपत्री फुलको मोहकता अर्कोतिर छाना, बार्दली, आगन, बाटो सडकका छेउछाउ मात्र नभएर खेतबारीका गरा र काँल्नाहरुमा रंगीबिरंगी झिनियाँ रोटी सुकाएको मिस्रित दृश्यले कसको मन नहर्ला ?

वामीटक्सारका झिनियाँ व्यवसायीहरु यसबाट हुने कमाईबाट सन्तुष्ट छन्, उत्साहित छन् । रातो, निलो, हरियो, पहेँलो आदि थरी थरी रङका झिनियाँ रोटीहरु उपभोक्ताहरु आँखा चिम्लिएर प्रयोग गरिरहेका छन् । कुरा यत्ति हो,रोटीमा प्रयोग भएका रङको साईड ईफेक्टबारे कसैले चिन्ता लिएको देखिदैन । विभिन्न रङहरुबाट उपभोक्ताहरुको स्वास्थ्यमा पर्ने रसायनिक प्रभाव प्रति उत्पादक, उपभोक्ता, सरोकारवाला निकायहरुले चासो राखे बेस हुने थियो कि ?

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !