बागलुङ दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १८ औं वार्षिक साधारणसभा सम्पन्न !

बागलुङ, २०७६ कात्तिक १५ । बागलुङ दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १८ औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसीले उत्पादनको क्षेत्रमा दुग्ध सहकारी संघले गरेको कामलाई थप प्रभावकारी बनाउनका लागि राज्यका निकायहरुले सहयोग गर्नु पर्ने बताए ।

उत्पादन, प्रशोधन र बजारीकरणका क्षेत्रमा संघले उत्कृष्ट काम गरेको र संघले प्रशोधन गरेका दुग्धजन्य पदार्थलाई देश तथा विदेशमा विक्री वितरण गर्ने योजनाका साथ अगाडि बढ्न उनको सुझाव थियो । जिल्लालाई दुधमा आत्मनिर्भर बनाउन तर्फ अग्रसर दुग्ध सहकारीहरुलाई राज्यले सहयोग गर्नु पर्नेमा जोड दिदै जीसीले उत्पादन बिना सुखी नेपाली समृद्ध नेपाल बन्दैन भन्ने कुरा राज्य सञ्चालकहरुले बुझ्न पर्ने बताए ।

कार्यक्रममा संघका संस्थापक अध्यक्ष तथा काठेखोला गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष युक्त प्रसाद कंडेलले धेरै दुख कष्टका साथ संघले बागलुङवासीलाई दुध तथा दुग्धजन्य पदार्थ विक्री वितरण गर्ने कार्यलाई निरन्तरता दिएको बताए ।
साधारणसभाले संघका सचिव रामबहादुर हमालले प्रस्तुत गरेको प्रगति प्रतिवेदन, कोषाध्यक्ष डिलाराम कडेलले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन र लेखा समितिका संयोजक कमलप्रसाद शर्माले प्रस्तुत गरेको लेखा समितिको प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।

साधारणसभा संघका अध्यक्ष दिपक गौतमको अध्यक्षता, उपाध्यक्ष ओमनाथ सापकोटाको स्वागत र सचिव रामबहादुर हमालको सञ्चालनमा सम्पन्न भएको थियो ।

संघले गत आर्थिक वर्षमा संघमा आवद्ध १३ वटा दुग्ध सहकारी संस्थामा शेयर सदस्यहरुबाट संकलित ६ लाख ३४ हजार ७२ लिटर दुध विक्री वितरण गरेको छ ।

संघले दुध विक्रीका साथै दुध प्रशोधन गरी दही, घ्यू, पनिर, छुर्पी, आइसक्रिम, खुवा, नौनी,, लस्सी लगायत उत्पादनहरु विक्री वितरण गर्दै आइरहेको छ ।

साधारणसभाले दीपक गौतमको अध्यक्षतामा ९ सदस्य सञ्चालक समिति र कमल प्रसाद शर्मा संयोजक रहेको ३ सदस्यीय लेखा समिति सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा ओमनाथ सापकोटा, सचिव रामबहादुर हमाल, सहसचिव गोविन्द बहादुर खड्का, कोषाध्यक्ष डिलाराम कंडेल तथा सदस्यहरुमा युक्तप्रसाद कंडेल, नारायणप्रसाद गैरे, गोविन्दप्रसाद सापकोटा र केशव प्रसाद कंडेल रहनु भएको छ । यस्तै लेखा समितिका सदस्यहरुमा गुणराज कंडेल र बालकृष्ण सापकोटा रहेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !