साताको तस्वीर : तिहारमा गाई पूजा !

शव्द/चित्र : कुसुम थिङ,

बागलुङ २०७६ कात्तिक ११ । नेपालीहरुको दोश्रो महान पर्व तिहार शुरु भएको छ । कात्तिक महिनाको कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहार देखी कात्तिक शुक्ल पक्षको व्दितिया तिथिको भाइटीकासम्म पाँच दिन (यमपन्चक) मनाईन्छ । यमपन्चकमा काग, कुकुर, लक्ष्मी गाई, गोवर्धन र भाई पूजा गरिन्छ ।

केहि वर्ष पहिले सम्म सबैका घरघरमा गाई पाल्ने हुनाले पूजाको दिन आआफ्नै गाई पूजन गरिदै आएकोमा गाई पाल्ने चलन हराउदै गएपछी गाई तिहारको दिन अरुले घरघरमा घुमाउदै ल्याएको गाईलाई पूजन गरिदै आएको छ । पछिल्लो समय गाउँघरमा गाई पालन गर्ने प्रचलन लुप्त हुँदै गएपछी गौपूजनका निम्ती गाई पाउन समस्या भएको छ । खेतीपातीका लागी जग्गा जमीन जोत्न गोरुको प्रयोग हुन छोडेपछी गाई पालन गर्ने पेसा नै धरापमा परेको हो ।

आज गाई तिहारका दिन पर्वत जिल्लाबाट एक धार्मिक संस्थाले गाइं (गौमाता)लाई गाडीमा राखेर बागलुङ बजार घुमाउन ल्याएको अवसर छोपी श्रद्धालुहरुले मिष्ठान्न परिकार खुवाएर गौपूजन गरेका छन् । त्यस संस्थाले गौमातालाई गाडीमा राखेर घुमाएको मात्र नभएर गौरक्षाका लागी आयोजना गर्न लागिएको महायज्ञमा सरिक हुन सादर निमन्त्रणा समेत गरेको छ । पूजनका लागी समेत गाई पाउन छोडिएको अवस्थामा पर्वतको एक संस्थाले गौरक्षार्थ महायज्ञ गर्न लागेको पूण्यकार्यलाई सबैले मुुग्धकण्ठले प्रशंसा समेत गरेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !