बागलुङ जिल्लाका पालिका कार्यालय नजिक केहि दिनमै प्रहरी चौकी स्थापना गरिने !

छविलाल पाण्डे, बुर्तिवाङ २०७६ कात्तिक ५ । निसीखोला गाउँपालिका कार्यालय रहेको जुग्जाखोला बजारमा प्रहरी चौकी स्थापना हुने भएको छ । गाउँपालिका कार्यालयहरु नजिक प्रहरी चौकी नभएको अवस्थामा उक्त स्थानमा कहि दिनमै प्रहरी चौकी सञ्चालन हुने जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख, प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए । प्रहरी चौकी राख्ने बिषय स्विकृत भइसकेको र जग्गा व्यवस्थापनका निम्ती निसीखोला गाउँपालिकालाई आग्रह गरिएका कारण केहि दिनमै १५ जनाको दरबन्दी रहने गरी प्रहरी कार्यालय सञ्चालनमा आउने भट्टले बताए । उनका अनुसार घरको व्यवस्थापन र जनशक्ति पूर्ति भएसँगै प्रहरी बस्ने छन् ।

गाउँपालिका तथा त्यसक्षेत्रको सुरक्षा व्यवस्थालाई मध्यनजर राख्दै प्रहरी चौकी स्थापना हुन लागेको हो । यस बिषयमा गाउँपालिकाले जग्गा व्यवस्थापन कार्य अगाडी बढिरहेका कारण तत्काललाई भाडाको घरमा बस्ने गरी प्रवन्ध गरिने र जग्गा उपलब्ध भएसँगै भवन निर्माण प्रकृया हुने गाउपालिका अध्यक्ष तारानाथ पौडेलले बताए ।

यसैवीच जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक झबिन्द्र भट्टराईले पालिकाको कार्यालय नजिक प्रहरी चौकी स्थापना गर्ने नीति अनुसार बागलुङ जिल्लाका ताराखोला गाउपालिकाको भातखाने डाँडा, बरेङ गाउपालिका कार्यालय रहेको स्थानमा पनि प्रहरी चौकी स्थापना गरिने जानकारी दिए । यसबाहेक बागलुङ नगरपालिकाको धार्मिक पर्यटकीयस्थल पन्चकोटमापनि प्रहरी चौकी स्थापना हुने उनले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !