Sorry, that menu does not exist.
 

इस्कोनले बागलुङमा पहिलोपटक सप्ताहव्यापी दामोदर कथाको आयोजना गर्दै !

बागलुङ २०७६ कात्तिक ५ । अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन बागलुङ)ले बागलुङ बजारमा पहिलोपटक सप्ताहव्यापी दामोदर कथा (भागवत कथा) को आयोजना गर्न लागेको छ ।

यही मिति २०७६ कार्तिक ५ गतेदेखि कार्तिक ११ गतेसम्म बागलुङ बजारमा रहेको राधाकृष्ण मन्दिरको सभाहलमा हरेक दिन बेलुकी ४ बजेदेखि ७ बजेसम्म दामोदर कथा आयोजना हुन लागेको हो । कार्तिक महिना भगवान श्रीकृष्णका अनुयायीहरुका लागि विशेष मानिन्छ । कार्तिक महिनाको दिपावलीका दिन भगवान कृष्णले वृन्दावनमा माख्खन चोरी गरेपश्चात माता यशोदाले कृष्णलाई रसिले (दाम्) ले पेटमा (उदर) बाँधेको हुनाले कृष्णलाई दामोदर ( दाम + उदार =दामोदर) पनि भनिन्छ । यो लिलालाई श्रीकृष्णभक्तहरुले विशेष रुपमा चर्चा गर्ने गर्दछन् । यसै लिलामा केन्द्रित रहेर भागवत कथा हुने इस्कोन बागलुङका भक्त गदाई गौराङ्ग दासले जानकारी दिएका हुन् ।

कार्यक्रममा कथासँगै विशेष दामोदराष्टकम् वाचन गरि दामोदर आरती हुने र सबै श्रोताहरुलाई निःशुल्क रुपमा भगवान दामोदरलाई दीपअर्पण गर्ने व्यवस्था पनि गरेको आयोजक संस्थाले जानकारी दिएको छ ।

यो कार्यक्रम रकम उठाउनका लागि नभएको पनि गदाइ गौराङ्ग दासले जानकारी दिए । कार्यक्रममा इस्कोनका युवा वक्ता परमेश्वर अच्युत दास लगायत अन्य विशिष्ठ भक्तहरुले कथा वाचन गर्नेछन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !