स्व अमृतप्रसाद जोशीको नवौँ स्मृति दिवस कुस्मामा सम्पन्न !
पर्वत २०७३ पुस २४ । बरिष्ठ समाजसेवी स्वर्गीय अमृत प्रसाद जोशीको नवौँ स्मृति दिवस सदरमुकाम कुस्मा बजारमा एक अन्तरसंवाद कार्यक्रमको आयोजना गरी मनाईएको छ ।
अमृत जोशी स्मृति प्रतिष्ठान पर्वतव्दारा आयोजित अन्तरसंवाद कार्यक्रममा प्रतिष्ठानका संरक्षक सांसद अर्जुनप्रसाद जोशीले पर्वत जिल्लाको विकास एवं सम्वृद्धिकालागि सदैव चिन्तित रहने स्वर्गीय पिताको सपना साझा सपना भएको उल्लेख गर्दै यसलाई मुर्तरुप दिन सबै लाग्नु पर्ने बताए ।
उनले समस्यामा परेकालाई सहयोग गर्ने, दीन खुखी,गरिव, निमुखा र अधिकारविहिनलाई संधै साथ दिने वुवाको स्वभाववाट प्रेरित भएर आफु राजजीतिमा लागेको स्पष्टपार्दै जोशीले आफ्नो पनि सपना जनताको सेवा नै भएको बताए।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शभ्भूप्रसाद मरासिनी, स्थानीय विकास अधिकारी युवराज पौडेल, नेपाली काँग्रेस पर्वतका सभापति खिमप्रसाद भुषाल, नेकपा एमालेका उपसचिव गोविन्द पहाडी, राप्रपाका बरिष्ठ उपाध्यक्ष प्रकाश पौडेल, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य शंकर गिरी, प्याव्सन पर्वतका अध्यक्ष बसन्तकुमार कर्माचार्य लगायतले स्वर्गिय जोशीको योगदान बारे चर्चा गर्दै हार्दिक श्रद्धान्जलि अर्पण गरेका थिए ।
कार्यक्रममा सामजिक कार्यमा क्रियाशिल एवम् सामुदायिक र संस्थागत विद्यालयवाट उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र विद्यालय तथा सामजिक अभियन्ता मल्लाज निवासी टेकवहादुर जिसी र तिलाहार निवासी सेती महतलाई दोसल्ला ओढाई नगद सहित प्रशंसापत्रले सम्मान गरिएको थियो ।
कार्यक्रममा अमृत प्रसाद जोशीको जीवनी शिवालय बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख कमलनाथ आचार्यले प्रस्तुत गरेका थिए भने प्रतिष्ठानका अध्यक्ष गंगाधर तिवारीको सभापतित्वमा सम्पन्न भएको थियो ।