जनगायक जीवन शर्माका छोराको उपचारका लागि ५१ हजार संकलन !

ताराप्रसाद शर्मा, बागलुङ २०७६ कात्तिक ३ । अन्न नलीमा समस्या भएपछि टिचिङ अस्पतालमा उपचाररत जनगायक जीवन शर्माका छोरा अमृत शर्मा आचार्यको उपचारका लागि बागलुङमा सहयोग संकलन गरिएको छ । शर्माको माईलो छोरा अमृत शर्मा आचार्यको दशैंको दिन घाटीमा मासु अड्किएर अप्रेसन गरेसंगै झन् जटिल समस्या आएर अस्पतालमा उपचार गराई रहेको अवस्थामा उपचारमा थोरै भएपनि सहयोग पु¥याउनका लागि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागलुङले सहयोग संकलन गरेको हो ।

बागलुङ जैमिनी नगरपालिका १० राङ्खानी निवासी आचार्यको उपचारका लागि ठुलो धनराशी आवश्यक पर्ने देखिएपछि प्रतिष्ठानले संचालन गरेको सहयोग संकलन अभियानका क्रममा ५१ हजार ४ सय ८७ रुपैया संकलन भएको अभियानका संयोजक तथा प्रतिष्ठानका प्रथम उपाध्यक्ष सरस्वती खड्का परियारले जानकारी दिईन । जनताको गीत गाएर करोडौको मन जितेका जनगायक जीवन शर्माले अस्पतालमा छट्पटाइरहेका आफ्नो छोरालाई बचाइदिन समाजिक संजाल लगाएत अन्य क्षेत्रवाट पनि अनुरोध गरेपछि आइतवार एक दिन संचालन गरेको अभियानवाट उक्त रकम संकलन भएको उनले बताईन । संकलित रकम शर्माका जेठा छोरा अर्जुन आचार्र्यको नाममा ग्लोवल आइएम इ कान्तिपथमा रहेको खाता नम्वर ०१०७०१००४६७८७ मा संकलन गरिने प्रतिष्ठानका सचिव शिव शर्माले जानकारी दिए । उपचारका लागि करिव ४० लाख भन्दा बढी खर्च हुने देखिएपछि गायक जीवन शर्माको पीडामा थोरै भएपनि मल्हम लगाउने प्रयास स्वरुप रकम संकलन गरिएको प्रतिष्ठानका अध्यक्ष गणेश पौडेलले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !