बुर्तिबाङका चोकचोकमा खेलको नाममा पैसा लुट्नेहरुको विगविगी !
ढोरपाटन नगरपालिका र बुर्तिवाङ राईजिङ युवा क्लबको आयोजनमा जारी मेला जुवामा परिणत !

बुर्तिबाङ, २०७६ असोज २९ । बुर्तिबाङमा जारी प्रथम मेयर गोल्ड कप तथा कोजाग्रत पूर्णिमा मेला—२०७६ को उद्घाटन पछीको दोस्रो दिन आजको मेला जुवामा परिणत भएको छ । ढोरपाटन नगरपालिका तथा बुर्तिबाङ राईजिङ युवा क्लको संयुक्त आयोजनामा पहिलो चोटी बुर्तिबाङ बजारमा आयोजित मेला स्थलबाट खोरखोरे खेलाउने एक समूहलाई केही नगद सहित ईलाका प्रहरी कार्यालय बुर्तिबाङले नियन्त्रणमा लिएको छ । उक्त समूहलाई आवश्यक सोधपुछ गरि नियन्त्रणमा राखिएको र आयोजकलाई समेत बोलाएर मात्र त्यस विषयमा छलफल गरी अरु कार्य अगाडि बढाइने प्रहरी प्रशासनले बताएको छ ।

आज दिनभर मेला हेर्न आउने दर्शकहरुको पैसा लुट्ने खोरखोरे र अन्य यस्तै विभिन्न प्रकारका जुवा खेलहरु मेला स्थल र चोकचोकमा देख्न सकिन्थ्यो । प्रायः भारतीय मूलका व्यक्तिहरु विभिन्न खेलको नाममा पैसा लुट्ने खेलहरु खुलेआम खेलाई रहेका थिए । नगरपालिकाकै आयोजनामा जारी मेलामा खुलेआम जुवाका खालहरु सन्चालन हुनुलाई स्थानीयले पचाउन सकेका छैनन् । सरोकारवाला निकायहरुले यस्ता गैह्रकानूनी गतिविधिलाई तत्काल नियन्त्रणमा लिएर कार्बाही नभएकोमा स्थानीयले आक्रोश व्यक्त गरे । स्थानीयको व्यापक बिरोधलाई मध्यनजर गरी प्रहरीले खोरखोरे खेलाउने एक समूहलाई मात्र नियन्त्रणमा लिएको छ । यस प्रकारका जुवा खेलहरुले मेलाको महत्व, शिष्टता र सभ्यतालाई समेत विथोल्ने स्थानीयबासीको आक्रोश छ । स्थानीय एक व्यापारीले भने,—“जुवा भनेको जुवा नै हो, रङ र गोटी फरक पर्यो भनेर त्यस्ता पैसा लुट्ने खेलहरु खेलाउन पाईँदैन । आयोजक ढोरपाटन नगरपालिका र बुर्तिबाङ राईजिङ युवा क्लबलाई जुवा खेल्न खेलाउने प्रहरी प्रशासनले छुट दिन मिल्दैन ।”

मेला संचालन हुनुभन्दा पहिला नै जाँड रक्सी, जुवातास र अन्य कुनै पनि अवान्छित क्रियाकलाप गर्न नपाउने गरी सूचना जारी गरेको प्रहरी प्रशासनले मेला अवधिका बाँकी दिनमा यस्ता कार्यहरुलाई नियन्त्रण गर्छ वा गर्दैन ? सर्वाधिक चासोको विषय बनेको छ । नगरपालिकाको आयोजनामा भएको मेला हो भनेर खुलेआम जुवा खेल खेलाउन प्रहरी/प्रशासनले छुट दिन मिल्दैन । नगरपालिका आफै समेत आयोजक भएको कार्यक्रममा यस प्रकारका गलत र अवान्छित क्रियाकलापहरुलाई नियन्त्रण गर्न आयोजक नगरपालिका र बुर्तिबाङ राईजिङ युवा क्लब दुवैको जिम्मेवारीपूर्ण भूमिका रहनु पर्छ । भारतीयमुलका व्यक्तिहरु बुर्तिवाङ आएर खुलेआम जुवाका खालहरु सन्चालन गर्नु पछी आयोजक संस्थाको संलग्नत बेगर सम्भव नहुने स्थानीयको विश्वास छ ।

जुवाको एक खाल मात्र नभएर सबै खाले जुवाखेलहरु बन्द गरिनु पर्ने जनआवाज प्रति प्रशासन एवं प्रहरीले चासो राख्नु जरुरी छ । मेलाको उदघाटन समारोहमा विशिष्ट अतिथीको रुपमा सहभागी बनेका प्रमुख जिल्ला अधिकारी एवं प्रहरी उपरीक्षक फर्किए लगत्तै मेला जुवामा परिणत हुनुले आयोजक संस्थाले प्रहरी प्रशासन समेतलाई दरकिनार गरेको निसीभूजीबासीको आरोप छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !