साताका सात तस्वीर : बागलुङ देखी रुकुम सम्म !

शव्द/चित्र : कुसुम थिङ

बागलुङ २०७६ असोज २८ । बडा दशैँको पूर्वसन्ध्यामा बागलुङ सदरमुकामबाट मध्य पहाडी लोकमार्ग भएर बुर्तिवाङ हुँदै रुकुम (पूर्व) जिल्लाको भूमे गाउपालिका सम्मको यात्रानुभव गर्ने अवसर मिल्यो । यात्रारम्भको पहिलो पडाव मध्यपहाडी लोकमार्गको बागलुङ बजार नजिकैको बोक्सेको खाल्डोको दुर्दशाले खिन्नताको अनुभूति भयो ।

बत्तिमुनि अँध्यारो भनेझैँ वर्षौँ देखी यहाँको सडकको हाल यस्तै रहेको छ । सदुमुकाम देखी काठेखोलाको अक्षेते सम्मको सडक खण्ड उबड खाबड र अलिअलि पानी पयोकि हिलाम्मे भएर सवारी साधनहरु सडकमा फस्ने हुनाले यो खण्ड सास्तीपूर्ण यात्राको परिचायक बनेको छ ।

निर्माणाधीन मध्यपहाडी लोकमार्गका ठाउँठाउँमा आधुनिक सुविधा युक्त होटेल, रिसोर्टहरु सन्चालनमा आउन थालेकाले पर्यटकहरुलाई सुविधा मिलेको छ । यसैक्रममा बडीगाड गाउपालिकाको खार बजार नजिक ठुलीबेसी एक्लेफाँटमा दुई महिना पहिले फुलबारी एग्रो रिसोर्ट्स प्रालि सन्चालनमा आएकोले आन्तरिक एवं बाह्य पर्यटकहरुलाई सुविधा प्राप्त भएको छ ।

गत २०७५ साल भदौ महिनामा बडीगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सीमानामा रहेको तुरतुरेमा आएको भीषण पहिराले बडीगाड खोला थुनिएर बनेको तुरतुरे तालको अस्तित्व एक वर्ष पनि रहेन ।

यस्तै बुर्तिवाङ बजारमा जिल्लामै सर्वाधिक अग्लो ८ तला उचाई भएको दरबार होटेल निर्माण भएको छ । यस होटेलको छतमा हेलिप्याड बनाईएकाले बुर्तिवाङमा हेलिकप्टर यसै छतमा अवतरण गर्ने र यहिँबाट उडान भर्ने गर्दर्छन् । सदरमुकाम रहेको बागलुङ नगरपालिकामा ५ तला भन्दा अग्लो भवन निर्माण गर्न अनुमति प्राप्त छैन तर ढोरपाटन नगरपालिकाको बुर्तिवाङ बजारमा ८ तला अग्लो भवन निर्माण हुनु आफैमा रहस्यमय छ । करीब ५० करोडको लागतमा निर्माण भएको बताईने सो दरबार होटेल कुनै दरबार भन्दा कम छैन ।

साविक राजकुत, देविस्थान, बोहोरागाउँ र निसी गाउविकास समितिहरु मिलाएर बनेको निसीखोला गाउँपालिकामा निर्माणाधीन अवस्थामा रहेको काठ घर (आवरण तस्वीर)आगन्तुकहरुलाई आकर्षण केन्द्र बनेको छ भने निसीखोलाकै बुढाथोक चिटिक्क परेको हेर्न लायक गाउँ मानिन्छ ।

यसै गाउँ देखी माथी निसीखोलामा निर्माण गरिएको झोलुंगे पुल पनि यसको लम्बाईका कारण हेर्न लायक छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !