जलाशययुक्त उत्तरगंगा हाईड्रोपावर परियोजना अन्त कतै निर्माण गर्ने सपना कसैले नदेखे हुन्छ : नेपाली

निसीखोला (भल्कोट) २०७६ असोज २३ । ढोरपाटन नगरपालिकाका नगर प्रमुख देव कुमार नेपालीले जलाशययुक्त उत्तरगंगा हाईड्रोपावर परियोजना (८ सय २८ मेगावाट) बागलुङ मै बन्नुपर्ने बताउदै उत्तरगंगा नदीबाट अन्त कतै परियोजना निर्माण गर्ने सपना कसैले नदेखे हुने स्पष्ट पारे । ढोरपाटन नगरपालिकाको उत्तरगंगा नदीलाई निसीखोला गाउँपालिकामा सुरुङ मार्फत खसालेर निर्माण गरिने उक्त परियोजना निर्माणका लागि आफुले सम्बन्धीत निकायमा निरन्तर पहल गरिरहेको उनले बताए ।

निसीखोला गाउँपालिका वडा नं. ६ मा रहेको दलित सन्जाल भल्कोटव्दारा विजया दशमी तथा दोस्रो बार्षिक उत्सवका अवसरमा आयोजित दशै विशेष कार्यक्रमको उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख नेपालील नेतृत्व तहमा रहने व्यक्तिहरुको व्यक्तिगत लाभहानीका कारण राष्ट्रिय गौरवको योजनाहरु थला पर्ने गरेको बताउँदै उत्तरगंगा हाईड्रोपावर परियोजनालाई पनि त्यसको सिकार बनाउन खोजिएको आरोप लगाए । परियोजना बागलुङमा निर्माण गर्नका लागि सबै एकताबद्ध भएर अगाडी बढ्नुको बिकल्प नभएको उनको भनाई थियो ।

यस्तै कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले पनि उत्तरगंगा हाईड्रोपावर परियोजना कुनै पनि हालमा ढोरपाटनमा बन्नुपर्ने धारणा राखेका थिए । परियोजना निर्माणमा निसीखोला, ढोरपाटनका जनता र नेपाल सरकारको प्रमुख जिम्मेबारी भएको बताउँदै उनिहरुले एकाध व्यक्तिको स्वार्थ र विरोधले निर्माणमा कुनै फरक नपर्ने बताएका थिए । परियोजना कुनै निश्चित व्यक्तिको ठेक्का नभएको भन्दै हाईड्रो विरोधी गतिविधी कसैले नगर्न आग्रह गरेका थिए ।

उक्त संजालव्दारा विजया दशमी तथा आफ्नो दोस्रो बार्षिक उत्सवका अवसरमा आयोजित दशै विशेष कार्यक्रमको उद्घाटन कार्यक्रममा नगर प्रमुख नेपालीले सञ्जालका लागि १ लाख १ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेका छन्् । सञ्जालले जातिय तथा लैंगिक भेदभाव, बाल बिवाह, बहु विवाह जस्ता सामाजिक कुरिती, कुसँस्कार विरुद्ध महत्वपूर्ण कार्यक्रमहरु गरेको भन्दै आगामी दिनमा त्यस्ता कार्यक्रमलाई निरन्तरता दिन सहयोग पुगोस भन्ने उद्देश्यले आफुले आर्थिक सहयोग गरेको नगर प्रमुख नेपालीले बताए । कार्यक्रमकै अवसरमा ढोरपाटन नगरपालिकाका नगर प्रमुख नेपालीले स्थानिय पञ्चेबाजा, आमा समुह तथा झाँकी समुहलाई नगद सहित सम्मान गरेका थिए ।

निसीखोला गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष कुविर विश्वकर्मा, नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेश सदस्य प्रेम घर्ति मगर, नेकपाका जिल्ला कमिटि सदस्य कुशल बुढा मगर, दलित सञ्जाल निसीखोला गाउँपालिका अध्यक्ष रिम बहादुर विश्वकर्मा लगायतले बोलेका थिए ।

सञ्जाल अध्यक्ष नैनासिंह घतानको अध्यक्षता रहेको कार्यक्रममा ढोरपाटन नगरपालिका वडा नं. १ का वडा अध्यक्ष चित्र बहादुर भण्डारी, नेकपाका जिल्ला कमिटि सदस्य टंक प्रसाद पौडेल, नेकपा निसीखोला गाउँ कमिटि सचिव रुद्र पौडेलको आतिथ्यता रहेको थियो ।
विमला पटेलको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन भने झम सिर्पालीले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !