पर्यटन बर्षलाई सफल पार्न जैमिनीमा नगरप्रमुखको संयोजकत्वमा उप समिती गठन !

कुस्मीसेरा २०७६ असोज ६ । पर्यटन बर्षलाई सफल पार्न जैमिनी नगरपालिकाको कुस्मीसेरामा आइतबार उप समिती गठन गरिएको छ । जिल्लास्तरी पर्यटन पवर्धन समितिका संयोजक एवं जिल्ला समन्वय समिती बागलुङका प्रमुख राजेन्द्र ढुङ्गाना र शुभेक्षा एफ एम कुस्मीसेराकी स्टेशन म्यानेजर सन्ध्या आचार्यको बिशेष उपस्थितीमा समिती गठन गरिएको हो ।

जैमिनी नगरपालिकाको केन्द्र कुस्मीसेरा बजारमा रहेको १ नम्बर वडा कार्यलयमा भएको भेलाले जैमिनी नगरपालिकाका नगर प्रमुख ईन्द्रराज पौडेलको संयोजकत्वमा ९ सदस्यीय पर्यटन उपसमिती गठन गरिएको नगरपालिकाले जनाएको छ ।

समितीको उपाध्यक्षमा जैमिनी नगरपालिकाका नगर उप–प्रमुख लिला राना, सदस्यहरुमा कार्यपालिकाका सदस्य रुद्रा कुमारी राका क्षेत्री, वडा नं ८ का वडाध्यक्ष विजय शर्मा, वडा नं ३ का वडाध्यक्ष वेद बहादुर छन्त्याल, होमस्टे व्यवसायी लाल बहादुर पुन, होटल व्यवसायी पुष्पा आचार्य, र जैमिनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरी प्रसाद शर्मा सदस्य सचिव रहेका छन् । पर्यटन बिज्ञको रिक्त रहेको पदलाई पछि पुर्ती गरिने जनाइएको छ ।

सरकारले सन् २०१९ देखी २०२२ सम्मलाई पर्यटन बर्ष घोषणा गरेको छ भने सन २०२० लाई नेपाल भ्रमणबर्षको रुपमा मनाउने तयारी गरेको छ । यसका लागी बागलुङ जिल्लामा गत भदौ १८ गते जिल्लास्तरी पर्यटन पवर्धन समिति गठन भैसकेको छ। केन्द्रिय समिती, प्रदेश समिती जिल्ला समिती हुँदै गाउँ तथा नगरपालिकामा उपसमितीहरु गठन हुँदै गएको बागलुङमा प्रशस्त पर्यटकीय सम्भावनाहरु रहेका छन् ।

जैमिनी नगरपालिकामा पर्यटकीय गन्तव्यका लागि जैमिनीधाम, हाँडीकोट, गाजाको दह, थन्थापी माई, हात्तीढुंगा, गाईथुन लगाएतलाई प्राथमिकतामा राखिएको छ ।

ड्ड

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !